coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

खोटाङमा बुनेका कपडा युके सम्म

खोटाङ– हिजोआज खाँडीको कपडा बुन्ने र लगाउने चलन हराउँदै गएको छ। झन् यसको व्यवसाय गर्नु भनेको त एकादेशको कथा जस्तै बनिसकेको छ। तर, खोटाङको याम्खा–९ राटामाटाका महिलाहरु हराउँदै गएको खाँडी व्यवसायलाई व्युझाएर बिगत आठ वर्षदेखि राम्रो आम्दानी गर्दैआएका छन्। बाबुबाजेको पालादेखि चल्दै आएको खाँडी व्यवसाय हराएपछि गाउँका महिलाहरु एक जुट भएर २०६५ सालदेखि खाँडी उद्योग संरक्षण एबं व्यवसायीक उत्पादनमा लागेका हुन्।

 हाल याम्खा राटामाटाका ईन्दिरा राई, चन्द्रकुमारी राई, लक्ष्मी प्रधान, शान्ता राई, रामकुमारी राई लगायतका महिलाले घरैमा खाँडी उद्योग चलाइरहेका छन्। तालिम लिएका गाउँका १५ महिलामध्ये हाल ६/७ जना महिलाले व्यवसायीकरुपमा खाँडी व्यवसाय सञ्चालन गरिरहेको खाँडी उद्यमी ईन्दिरा राईले बताईन् । घरका काम गरेर बचेको समयलाई सदुपयोग गर्दै स्थानीय महिलाले खाँडीको कपडालाई आम्दानीको भरपर्दो श्रोत बनाएका छन्। राईका अनुशार प्रतिघर बार्षिक ७०/८० हजारको खाँडी अर्डरमा बिक्री हुने गरेको छ। खाँडी उद्यमीका अनुशार घरकै घरेलु कपासको एक सेट खाँडीको कपडाको मूल्या १२ हजार र किनिएको धागोबाट बनाइएको कपडा प्रतिसेट ६/७ हजारमा बिक्री हुन्छ। १८ हाते एक सेट कपडा तयार पार्न १० देखि १२ दिन समय लाग्छ। तर, मेहत गरे अनुशार उत्पादित खाँडीको कपडालाई बजारको समस्या भने छैन।

बुनेको खाडीका कपडा प्रायः घरैबाट खपत हुने गरेको छ। महिलाहरुलाई बजारमा लैजानकालागि भन्दा पनि अर्डर अनुशारको खाडीका कपडा बनाउन भ्याई नभ्याई हुन्छ । उत्पादित खाँडीका कपडा जिल्ला बाहेक काठमाडौं र यूकेसम्म पुग्ने गरेको छ। ‘घरेलु उद्योगजन्य सामानलाई सबैभन्दा ठूलो चिन्ता बजारको हुन्छ, तर खाँडीका कपडा बनाउने उद्यमीलाई बजारको चिन्ता हुँदैन,’ राईले भनिन्, ‘दुःख गरिसकेपछि बिक्री नहोला भन्ने चिन्ता हुँदैन, काठ्माण्डौं हुँदै बिदेशमासम्म पुग्छ।’ बिशेषगरी किरात राईको साकेला लगायतका चाडबाड, शुभकार्यका समयमा दौरासुरुवाल र छिटको गुन्यू लगाउने प्रचलन छ। स्वास्थ्यका दृष्टिकोणले समेत खाँडीका कपडा फाईदाजनक मानिन्छ। यसकारण पनि खाँडीका कपडाले राम्रो मूल्या पाउने गरेको छ। उद्यमीले खाडीको कपडा बुनेरै घर चलाउने राम्रो आम्दानी गरिरहेका छन्। गाउँमै उत्पादन भएका तथा सुनसरीको धरानबाट ल्याएका कपासबाट तयार हुने खाँडीका कपडा जिल्लाको दिक्तेल, रतन्छा, लफ्याङ लगायत राई समुदायको बस्तीमा खपत हुने गरेको छ । खाडीको कपडा बुनेर उनीहरुको मासिक ७/८ हजार कमाई हुने गरेको छ । घरेलु प्रदर्शनीमा पुरस्कार जित्नेमा पनि याम्खाकै खाँडी पर्छन्।

बाजेबज्यैका पालासम्म याम्खाका प्रतेक घरका महिलाहरुले खाँडीको  कपडा बुन्थे, तर बाजेबज्यैको अन्त्यासँगै गाउँभरीमा खाँडीका कपडा बनाउन जान्ने महिला चार जना मात्र बाँकी रहे । पुर्खादेखि चल्दैआएको खाँडी उद्योग संकटमा परेपछि पुःन व्यूँझाउन अजम्बरी आमा समुहको अगुवाईमा अभियान चलाइएको समुहकी अध्यक्ष सत्यवती राईले बताईन् । आमा समुहको अभियान पछि हाल प्रायः सबै घरका महिला चर्खा, उईँटा, राशी र जुवा चलाएर खाँडीका कपडा बुन्न समक्षम छन् । उनीहरु फुर्सदको समयमा दुई दशक अघिदेखि घरघरमा थन्किएको खाडीका कपडा बुन्ने तानमा झुम्मिने गरेका छन् । ‘लगभग खाँडीको कपडा बुन्ने मान्छे गाउँमा पाउन मुस्किल पर्न थालीसकेको थियो,’ अध्यक्ष राईले भनिन्, ‘तालिमपछि ६/७ जना महिलाले व्यवसायीकरुपमा खाँडीको उद्योग सञ्चालन गर्दै आएका छन् ।’ याम्खाका कतिपय महिलाले आफ्नै बारीमा उत्पादित कपासबाट खाँडीका कपडा तयार पार्ने गरेका छन् भने कतिपयले किनेको धागोबाट खाँडीको कपडा तयार पार्ने गरेका छन् । बजारमा किन्न पाईने धागोको कपडा घरमै उत्पादित कपासकोभन्दा सस्तो पर्छ ।

आत्मनिर्भर र व्यावसायीक बन्ने अन्य भरपर्दो बिकल्प नभएपछि ओझेलमा परेको पुर्खौली पेशालाई पुःन अपनाउन थालिएको समूहले जनाएको छ । १२ वर्षको उमेरदेखि खाडीको कपडा बुन्न थालेकी याम्खा–९ की मिश्रा श्रेष्ठले खाडी बुन्न छाडेको २५ वर्षपछि त्यही पेशालाई निरन्तरता दिन थालेको बताईन् । ‘पुर्खाको पालादेखि चल्दै आएको खाँडीको कपडा बुन्ने र लगाउने चलन हराउँदै जान थाल्यो,’ अध्यक्ष राईले भनिन्, ‘पुर्खाको पालादेखि चल्दै आएको यो पहिचानलाई संरक्षण गर्नु हाम्रो दायित्व ठान्यौं, त्यही भएर हामी यसको व्यवसायीक संरक्षणमा जुटेका हौँ। जिल्लाको हलेसी, जालपा, पाथेका लगायतका ठाउमा खाँडीको कपडा उत्पादन हुदै आएको छ ।

प्रकाशित: ४ पुस २०७३ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App