coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

'सबैकाे प्रशंसाले दंग छु'

फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री आलिया भट्टले आफ्नो अभिनय क्षमताबाट सबैलाई प्रभावित पारेकी छिन् । हालै रिलिज भएको फिल्म ‘उडता पंजाब’ मा उनी आफ्नो छविविपरीत गाउँकी केटीको भूमिकामा देखिइन् । फिल्ममा उनको अभिनयको समीक्षकसहित दर्शकले पनि खूब प्रशंसा गरे । फिल्मबारे एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः

फिल्म ‘उडता पंजाब’ मा तपाईंको अभिनयको खूब प्रशंसा भइरहेको छ । कस्तो लाग्दै छ ?

धेरै खुशी छु । आनन्द महसुस गरिरहेकी छु । विभिन्न विवादसँग जोडिए पनि अन्ततः फिल्म रिलिज भयो । फिल्म विवादसँग जोडिँदा रिलिज हुँदैन कि भन्ने चिन्ताले सताइरहेको थियो । फिल्म रिलिज भयो । दर्शकको प्रतिक्रिया पनि राम्रो पाएँ । जसरी मेरो भूमिकालाई बुझेर दर्शकले सराहना गरिरहेका छन्, खूब खुशी भइरहेकी छु । सबैको प्रशंसाले दंग छु ।

तपाईंका बुबा महेश भट्टका ट्वीटर पोस्ट हेर्दा उहाँले तपाईंप्रति गर्व महसुस गरिरहेको जस्तो लाग्छ ?

बुबा जब फिल्म हेरेर फर्केए, उनको प्रतिक्रिया हेर्नलायक थियो । उनलाई फिल्म धेरै मन पर्यो । उनलाई सबैको काम राम्रो लाग्यो । उनी यति धेरै खुशी भए कि फिल्म हेरेको रात सुत्न सकेनन् । बिहान ५ बजेसम्म जागै थिए ।

लागुऔषधजस्तो संवेदनशील विषय त्यसमाथि सेन्सरबोर्डको टाउको दुखाइ, फिल्मको लिक हुनु, एउटा कलाकारका रूपमा तपाईंको मनमा के चलिरहेको थियो ?

म धेरै चिन्तित थिएँ । मलाई सम्झना छ, जब फिल्म लिक भयो भनेर फोन आएको थियो, म त रुन थालेकी थिएँ । अब के पो बाँकी रह्यो भन्ने लागेको थियो । फिल्म हरेक दिन नयाँनयाँ विवादसँग जोडिँदै गएको थियो । फिल्म रिलिज होला र ? भन्ने लाग्न थालेको थियो । मलाई लाग्छ– लिक भएकाले फिल्मले २० देखि २५ प्रतिशतसम्म घाटा बेहोर्नुपर्यो । यस्तो कसैलाई पनि नहोस् । हामी सिर्जनशील क्षेत्रमा मेहनत गरेर काम गर्छौं । कुनै मूर्खले फिल्म लिक गरिदिँदा धेरै रिस उठ्छ ।

तपाईंको यस फिल्मको भूमिकाको फिल्म ‘हाइवे’ सँग तुलना गरिँदै छ । तपाईंका लागि कुन भूमिका बढी कठिन रह्यो ?

यी दुई फिल्म फरक छन् । तर, ‘उडता पंजाब’ को भूमिका गर्दा गाह्रो भयो । अहिलेसम्मका फिल्ममध्ये यो भूमिका सबैभन्दा चुनौतीपूर्ण रह्यो ।

फिल्म इन्डस्ट्रीबाट पाइएको सबैभन्दा अनौठो प्रशंसा कुन हो ?

फिल्म हेरेपछि मलाई अमिताभ बच्चनले चिठी पठाए । म उनको ठूलो प्रशंसक हुँ । उनको चिठी पाउनु मेरा लागि सबैभन्दा ठूलो ‘कम्प्लिमेन्ट’ हो । उनका उत्पे्ररित गर्ने खालका हरेक शब्द मेरा लागि महत्वपूर्ण छन् ।

फिल्ममा शाहिद, करिना र दिलजीत हुँदाहुँदै पनि तपाईं दर्शकको ध्यान तान्न सफल हुनुभयो ।
त्यसका लागि म आफूलाई ‘क्रेडिट’ दिन चाहन्नँ । चरित्रलाई बलियो बनाउने तरिकाले लेखिएको छ । निर्देशक र अरूको मद्दतले म त्यो भूमिका गर्न सफल भएँ । सबैले राम्रो काम गरेका छन् । यो टिमकै सफलता हो ।

एउटा गाउँले केटीको भूमिका गर्दा तपाईंमा केही बदलाव आयो कि ?

म आफूलाई भाग्यमानी ठान्छु– मैले यस्तो भूमिका गर्ने अवसर पाएँ । हामी जस्ता मान्छेले सोच्नै नसक्ने समयबाट उनीहरू गुज्रिँदा रहेछन् । पैसा हुँदैन उनीहरूसँग, अर्को छाक खान पाइन्छ कि पाइँदैन भन्ने थाहा हुँदैन । सबैभन्दा ठूलो कुरा त उनीहरूलाई आफ्नो नामसमेत थाहा हुँदैन । यस्ता केटी वा महिला गुमनाम हुन्छन् । उनीहरूको अस्तित्वको कसैलाई वास्तै हुँदैन । तर, ती मानिस हामीभन्दा धेरै ‘स्ट्रङ’ हुन्छन् ।

धेरैले तपाईंको क्षमताभन्दा पनि ‘स्टार किड’ को ठप्पा लगाउँछन् नि ?

मलाई लाग्छ ‘स्टार किड’ को ठप्पा अब ममाथिबाट हटाइएको छ । करिअरको सुरुवातमा त्यस्तो भएको थियो । तर, मैले आफ्नो अभिनयबाट मान्छेहरूलाई देखाइसकेँ– म अभिनेत्री बन्ने क्षमता राख्छु ।

तपाईंका ट्वीट्स हेर्दा त तपाईं आफ्नो दिदीको धेरै नजिक हुनुहुन्छ जस्तो लाग्छ नि ?  

हो, म र दिदीबीच राम्रो ‘बन्डिङ’ छ । उनी मेरो बेस्ट फ्रेन्डजस्तै छिन् । घरमा हुँदा सबैभन्दा बढी समय उनीसँगै बित्छ । केही कुरा सेयर गर्नुपर्यो भने उनलाई भन्छु । म आफ्नो निजी जीवनमा एकदमै व्यक्तिगत मान्छे हुँ । धेरैभन्दा धेरै कुरा आफूसँगै राख्छु । तर, बिदा चाहिँ दिदीसँग मनाउँछु । हालै दिदी र ममी दुवैजना मलाई नलिईकन बिदामा गए । मलाई धेरै नमज्जा लाग्यो । अब चाहिँ सबै कामबाट मुक्त भएर उनीहरूसँग बिदा मनाउन जानेछु ।

आफूसँग जोडिएका अफवाह चाहिँ कसरी सम्हाल्नुहुन्छ ?

म अफवाहमा ध्यानै दिन्नँ । अफवाहमा ध्यान दिनुको साटो काममा केन्द्रित हुन्छु । किनकि, म भविष्यमा एकदमै उम्दा कलाकार बन्न चाहन्छु ।

 

प्रकाशित: १८ असार २०७३ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App