६ वैशाख २०८१ बिहीबार
राजनीति

मन्त्री नै गालीगलौजमा उत्रेपछि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

बुटवल- प्रदेश सरकारका प्रवक्ता तथा मन्त्रीले नै साम्प्रदायिक सद्भावमा खलल पुग्ने खालका शब्द प्रयोग गरी सर्वसाधारणलाई गाली गरेपछि रुपन्देहीको अमुवाका स्थानीयले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

प्रदेश नं. ५ को सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बाटो बिस्तारको विषयलाई लिएर सियारी ७ अमुवाका स्थानीयमाथि अपशब्द प्रयोग गरी गालीगलोज गरेको भन्दै शुक्रबार प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाइएको हो। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति मातृका यादवको नेतृत्वमा अमुवाका स्थानीयवासी तथा प्रदेशसभा सदस्यहरु रमा अर्याल र पुष्पा थरुनीसमेतको टोलीले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रपिरिषदको कार्यालयमै पुगेर ज्ञापन पत्र बुझाएको हो।

रुपन्देहीको निर्माणाधीन बेलबास–बेथरी सडक अबलोकनमा पुस ८ गते सियारी ७ अमुवा पुगेका मन्त्री चौधरीले बाटो बिस्तारमा अवरोध गर्न खोजेको भन्दै आफुहरुलाई तथानाम गालीगलोज गरेको स्थानीयले बताएका छन्। बाटो बिस्तारकै कारण वर्षौदेखि सोही स्थानमा बस्दै आएका कतिपय स्थानीयहरु बेघर हुन सक्ने तर्फ पनि सोचिदिन आग्रह गर्दा मन्त्री चौधरीले आफूहरुलाई भारतीय भएको आरोप लगाएको स्थानीय रामकेवल गुप्ताले बताए।

गुप्ता भन्छन् ‘मन्त्री ज्यूसँग हामीलाई घरबारविहीन गराउनु भएन भनेर अनुरोध गर्दै थिए उहाँले त निकै झर्कीएर तिमी इन्डियनहरु यहाँ आएर सार्वजनिक जग्गा कब्जा गरी दादागिरी गर्ने? भनेर थर्काउनु भयो’। अबदेखि घरमा नबस्न चेतवनी दिँदै पालिकाले घर खाली नगराए आफै उभिएर घर भत्काइदिने धम्की मन्त्री चौधरीले आफूलाई दिएको गुप्ताले बताए।

मन्त्रीले नै सर्वसाधारणमाथि हचुवाका भरमा भारतीय भएको आरोप लगाउदै अशोभनिय र धम्कीपूर्ण भाषामा गाली गर्नु निन्दनिय भएको ज्ञापन पत्रमा उल्लेख छ। साम्प्रयायिक सद्भावमा खलल पुग्ने खालका शब्द प्रयोग गरी गाली तथा व्यवहार नगर्न र जीउँधनको रक्षा गर्न गराउन ज्ञापन पत्रमा माग गरिएको छ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले घटनाको विषयमा आफूले सम्बन्धित मन्त्रीसँग जानकारी लिइसकेको बताए। केहि मिस अन्डरस्ट्याण्डिङ्गका कारण घटना घटेको भन्दै मुख्यमन्त्रीले स्थानीय तहसँगको समन्वयमा समस्याको समाधान निकाल्नु उपयुक्त हुने प्रतिक्रिया दिए।

सो सडक खण्ड अन्तर्गत अमवा बजारमा रहेको गुप्ता लगायतको घर नभत्काएको भन्दै मन्त्री चौधरी गालीगलौजमा उत्रेको बताइएको छ। सडक आयोजना तथा मन्त्रालय कसैले पनि यसअघि घर भत्काउनु भनि सूचनासमेत नदिएको अवस्थामा मन्त्रीले एक्कासी अपशब्द प्रयोग गरी गालीगलौजमा उत्रिनु पदीय दुरुपयोग भएको ज्ञापन पत्रमा जनाइएको छ।

मुख्यमन्त्री पोखरेलले भने प्रदेश सरकारले मुआब्जा दिएर सडक बिस्तार गर्ने हैसियत नभएको भन्दै स्थानीय पालिकाले जग्गाको व्यवस्थापन गरिदिए प्रदेश सरकारले घर बनाईदिन सक्ने बताए। मन्त्री चौधरीले मन्त्री पदकोसमेत मर्यादा नाघेर स्थानीयलाई धम्कीकै भाषामा गाली गरेको सियारीकै एक जना जनप्रतिनिधिले बताए।

प्रकाशित: १२ पुस २०७६ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App