coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भ्रमण वर्ष सफल पार्न पशुपतिदेखि वसन्तपुरसम्म पदयात्रा

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन राजधानीका सम्पदा सफाइ गर्ने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिबाट वसन्तपुरसम्म पदयात्रा गरिएको छ।

सफाइ अभियानकर्मीको सक्रियतामा बेटर नेपालको आयोजनामा भएको पदयात्रामा ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो। पदयात्राको शुरुआत गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले स्वतःस्फूर्त रुपमा सम्पदा सफा गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिनु उत्साहजनक काम भएको बताए।

 'पुरातात्विक, ऐतिहासिक स्थलबाट पदयात्रा सुरु हुनु पर्यटन वर्षका लागि उत्साहको विषय हो, हाम्रो जननी राष्ट्रप्रति हामीले गौरव गर्नुपर्छ, पाँच हजार वर्ष पुरानो इतिहास बोकेको नेपालले कसैको अघि घुँडा टेकेको छैन, यसैले हामी स्वतन्त्रता दिवस मनाउँदैनौँ, लोकतन्त्र दिवस र गणतन्त्र दिवस मनाउँछौँ', उनले भने।

भ्रमण वर्षको सफलताका लागि पर्यटकलाई मुस्कानले स्वागत गर्नुपर्ने, सम्पदा, नदी नालालाई सफा राख्न सके सुन्दर काठमाडौँमा लाखौँ विदेशी पर्यटक आउने नेता नेपालको विश्वास थियो। सफाइ गर्ने संस्कार बालबालिकादेखि नै सुरु गर्नुपर्ने उनको भनाइ थियो। पर्यटन वर्षका लागि सम्पदा स्वच्छ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेटर नेपालकी अध्यक्ष एवं वाग्मती सफाइ अभियानकर्मी माला खरेलले बताइन्।

कार्यक्रम संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले उपत्यकाका सम्पदा सफाइका लागि जनचेतना जगाउन आजदेखि एक महिना पदयात्रा अभियान चलाइने बताइन्। पदयात्रा प्रत्येक हप्ता शनिबार एउटा सम्पदाबाट अर्को सम्पदासम्म गरिने छ।

पशुपति–जयवागेश्वरी–गौशाला–रातोपुल–ज्ञानेश्वर–सानोगौचरण–नारायणहिटी–ठमेल–ठहिँटी–इन्द्रचोकहुँदै पदयात्रा वसन्तपुर आइपुगेको थियो। बाजागाजा एवं सांस्कृतिक झाँकीसहितको पदयात्रालाई पशुपति क्षेत्रमा काठमाडौँ महानगरपालिका वडा नं ८ का अध्यक्ष दीनेशकुमार डङ्गोलसहितका जनप्रतिनिधि, गौशालामा वडा नं. ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठसहितका जनप्रतिनिधि र रातोपुलमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की सहितका जनप्रतिनिधिले स्वागत गरेका थिए।

वसन्तपुरस्थित हनुमानढोका दरबारअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य गणेश दुलालले भ्रमण वर्षमा सम्पदा सफाइ अभियानलाई सहयोग गर्न प्रदेश सरकारका तर्फबाट पनि पहल गर्ने वचन दिए।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिकी कार्यकारी निर्देशक अरुणा नकर्मी, सफाइ अभियानकर्मीद्वय रोहित गिरी र कञ्चन रावत लगायतले सफा काठमाडौँको जनचेतना अभिवृद्धिका लागि भ्रमण वर्ष पूर्वसन्ध्यामा सम्पदा पदयात्रा गरिएको जानकारी गराएका थिए।

प्रकाशित: १२ पुस २०७६ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App