८ वैशाख २०८१ शनिबार
अन्य

काठमाडौंमा नेपाल झल्काउने होटल !

काठमाडौं–जातीय विविधताको सुन्दर फूलबारी नेपालको हिमाल, पहाड र तराईमा बसोबास गर्ने नागरिकको आनीबानी, संस्कृति र जीवनशैली झल्काउने एउटा नौलो होटल काठमाडौको बालुवाटारमा निर्माण भैरहेको छ। पर्यटनकर्मी राजेन्द्र बजगाइँले बनाइरहेको ‘वर्णबास म्युजियम होटल’मा सिँगो नेपाल झल्काइने छ।  

होटलले काठमाडौंको नेवार जीवनशैली, तराईको जीवनशैली, पहाडको जीवशैली र हिमाली जीवनशैलीको स्वाद चखाउने छ। त्यसैगरी नवौं तलामा हिमाली भेकमा पुगेको अनुभूति हुनेछ। त्यही तलामा रहने ‘वर्ण व्यञ्जन रेष्टुराँ’मा स्वदेशी तथा विदेशी परिकारका साथमा टिपिकल जातीय नेपाली परिकार पनि पाक्नेछ।

नेपाली संस्कृति, आधुनिक सुविधा र आत्मीयताको त्रिबेणीका रुपमा म्युजिम होटल निर्माण हुँदैछ। आठ महिना अघि दुई रोपनी जमिनमा निर्माण सुरु गरिएको होटल डेढ वर्षभित्र पुरा हुनेछ। एक अरब रुपैयाँ लगानीमा निर्माण पुरा हुने होटलमा करिब दुई सय जनाले रोजगारी पाउने छन्।

नेपाली संस्कृति, आधुनिक सुविधा र आत्मीयताको त्रिबेणीका रुपमा ‘वर्णबास म्युजिम होटल’ निर्माण हुँदैछ।

बजगाइँका अनुसार पाँचतारे होटलमा ९ तला र ५४ कोठा हुनेछन्। होटल हातामा पाटीपौवा, ढुँगेधारा बनाइनेछ। दुई–दुई तलामा हिमाल, पहाड र तराईको छनक दिइनेछ। होटलको कोरिडोरमा ती भेकमा पाइने कला र संस्कृति सजाइनेछ। सबैभन्दा माथि स्विमिङ पुल हुनेछ।

होटलको भुइँतला र माथिल्लो तलामा काठमाडौं उपत्यकाको रहनसहन, नेवारी कला र संस्कृति झल्काइनेछ। यसमा हस्तकला, काष्ठकला र अन्य सामाग्री प्रयोग गरिनेछ। त्यसैगरी माथिल्ला दुई तलामा तराई, त्यस भन्दा माथि पहाड र त्यस भन्दा माथि हिमाली संस्कृति झल्काइनेछ। 


भौगोलिक हिसाबले छुट्टयाइएका तलाहरूमा मौलिक पहिरनमा सजिएका नेवार, थारु, गुरुङ र शेर्पा समुदायका महिला र पुरुषले आतिथ्य सत्कार गर्ने छन्। ‘हिमालमा पुगेको अनुभूति गराउन’, बजगाइँ भन्छन्, ‘हामी माइनस बीस डिग्री तापक्रमको एउटा कक्ष पनि बनाउने छौं।’

बजगाइँले विभिन्न जातजातिको नाममा कोठाको नामाकरण गर्दैछन्। ती कोठामा तीनको चिनारी दिने सामान सजाइनेछ। होटलको लबिमा कतै महाभारत र रामायणको चित्र सजाइनेछ। त्यसैगरी ढिकीमा धान कुटिरहेको, जाँतोमा दाल पिँधिरहेको, माटाको भाँडा बनाउँदै गरेको, गलैंचा बुन्दै गरेको, धागो काट्दै गरेको आदि जीवन्त दृश्य देख्न पाइनेछ।

त्यति मात्र होइन, होटलको दक्षिणपट्टि छानामा सगरमाथाको छनक मिल्नेछ। त्यस्तै ‘साउथकोल’ कक्षमा हिमाल चढ्दा प्रयोग भएका डोरी लगायत सामाग्री सजाइनेछ। यस किसिमको होटल नेपालमै नौलो हुनेछ। ‘हामी वार्षिक क्यालेन्डर बनाएर होटलमा चाडपर्व मनाउने छौंं’, बजगाइँले आत्मविश्वासका साथ महत्वाकांक्षी योजना सुनाए, ‘हामी भक्तपुरको बिस्केट जात्रा, लो–मन्थाङको तिजि मेला, पाटनको भोटो जात्रा यहीँ देखाउने छौं।’

विदेशीलाई यस होटलमा आएर बिहे गर्न प्रेरित गर्ने योजना बनाएको छ। ‘हाम्रो होटललाई वेडिङ डेष्टिनेशनका रुपमा प्रवद्र्धन गर्नेछौं’, उनले भने। दुई दशक भन्दा लामो समयदेखि पर्यटनकर्ममा सक्रिय बजगाइँले मुलुकका लागि एउटा सुन्दर उपहार समपर्ण गर्ने सिलसिलामा ‘वर्णबास म्युजियम होटल’को अबधारणा अघि बढाएका हुन्।

प्रकाशित: १२ पुस २०७६ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App