मायावी मोबाइल

शनिबार, १२ पुष २०७६, ०८ : १५ गुणराज लुइँटेल  | @gunaraj

बिहानै उठेर अचेल तपाईं के गर्नुहुन्छ ? हामी पक्कै पनि आफ्ना पितापुर्खाले जस्तो ‘कराग्रे बसते लक्ष्मीः करमध्ये सरस्वती’ भन्दै उठ्नेबित्तिकै दुवै हत्केलाको दर्शन गर्दैनौं। हाम्रो हत्केलाको सबैभन्दा अगाडि लक्ष्मी, बीचमा सरस्वती र मूल भागमा ब्रह्माजीको बास हुन्छ भन्ने मान्यताका आधारमा दुवै हत्केलाको दर्शन गरिन्थ्यो।

अचेल उठ्नासाथ आँखाले त्यो वस्तुलाई खोज्छ, जो हरहमेसा हामीसँग हुन्छ। केही वर्षयता हाम्रो अभिन्न अंग बनेको त्यो वस्तु हो– मोबाइल। आँखा खुल्नासाथ मोबाइल दर्शनबाट दिनको सुरुआत हुन्छ। केही घन्टाको सुताइका क्रममा आएका सयौं सूचना र जानकारीका निम्ति हामी बेचैन हुन्छौं।

यो यति प्रिय छ– सिरानी नजिकै त्यसले बास गर्छ। स्वास्थ्यका हिसाबले यसरी राख्नुहुन्न भने पनि हामीलाई खासै वास्ता हुँदैन। मोबाइलले बेलाबेलामा पिलिक–पिलिक सन्देश दिइरहन्छ। हामी निद्रा बिगार्दै ती सन्देश पढिरहेका छौं। ती सन्देशसँग हाँसिरहेका छौं, दुःखी भइरहेका छौं।

बिहान उठ्ने बित्तिकै मोबाइलको दर्शन गरेपछि अरु कुरातिर ध्यान जाँदैन। मोबाइलको जादुगरी पर्दामा विराजमान एपतिर आँखा दौडाउनु परिहाल्यो। त्यसमा पनि फेसबुक हेर्नैप¥यो। छिमेकी अस्ट्रेलिया वा अमेरिकामा पुगेका छन्, तिनका फोटामा ‘लाइक’ हान्नैप-यो। कोही न कोही फेसबुकमा देखिन्छ, के भएछ हेर्नैप-यो।

एक अमेरिकी प्रौढले सन् २०१९ मा प्रत्येक दिन सरदर दुई घन्टा ५६ मिनेट ‘स्मार्टफोन’मा खर्च गरेको तथ्यांक भर्खरै सार्वजनिक भएको छ। यो २०१८ को तुलनामा नौ मिनेटले बढी हो। बिजनेस इन्साइडरका अनुसार, खास किसिमका प्रयोगकर्ताले प्रत्येक दिन दुई हजार ६ सय १७ पटक मोबाइल फोनलाई छुन्छन्।

टङ्ग्रङ्ग इमेल सन्देश आउँछ, जवाफ लेखिहाल्नुप-यो। एकै छिनमा ट्विटरको ‘नोटिफिकेसन’ आउँछ, त्यो नहेरी मन मान्दै मान्दैन। कसैले बिहानै टाउको चटटट पार्ने सन्देश राख्छ। त्यसमा फेरि तीन बित्ता उफ्रेर जवाफ दिनैप¥यो। त्यसपछि कसैले उचाल्छन्, कसैले थेचार्छन्, तिनको हिसाब–किताब पनि राख्नैप-यो।

बिहानभरिमा दिमाग लखतरान परिसक्छ। खाना खाने बेला हुन्छ। खाना खाने टेबुलमा अरु कोही नभए पनि मोबाइल छेउमा बसेर चिहाइरहेको हुन्छ। खाना प्लेटमा राखेर खाँदै गर्दा आँखा मोबाइलकै मायावी स्क्रिनमा छन्। कहिले कपिल शर्माको ‘कमेडी’ हेरेर हाँस्नुपरेको छ। कहिले कुन नेताको व्यापारीसँगको साँठगाँठको ‘ट्रोल’ हेरेर तिर्मिराउनुपरेको छ।
खानको स्वाद थाहा हुनै पाएन। खाना बनाउनेको आँखा पनि मोबाइलमै थिए, खानेका आँखा पनि त्यसमै। पहिले खाना मनोयोगका साथ बनाइन्थ्यो। ध्यानले बनाएका खानामा स्वाद थियो। त्यो खानालाई प्लेटमा पस्किसकेपछि आँखाले त्यसलाई प्रेमपूर्वक ग्रहण गथ्र्यो। जिब्रो रसाउँथ्यो। शरीरका रोमरोममा व्यञ्जनको स्वाद प्रवेश गथ्र्यो। खानामा प्रेम थियो। अब त्यो प्रेमको परिभाषा बदलिइसक्यो।

कार्यालयको काम वा दैनिक व्यवहारका बीचमा कहीँकतै ईश्वरको नाम आउँदैन। बीचबीचमा टेबुल छेउबाट चिहाइरहेको मोबाइलले तानिरहन्छ। ‘नोटिफिकेसन’ले ध्यान भंग गरिरहन्छ। एउटा काममा पनि ध्यान लाग्दैन। कुनै काम गर्न लागेको छ, मोबाइलको घन्टीले ध्यान भंग गर्छ। अगाडि कुनै मानिससँग कुरा हुँदैछ, त्यसलाई छाडेर मोबाइल समात्नुपरेको छ। अगाडि जो मानिस हुन्छ, त्यो महत्वपूर्ण हुनुपर्ने हो। तर, अचेल स्मार्टफोन एपमार्फत आउने व्यक्तिका सन्देश महŒवपूर्ण भएका छन्।

दिनभरिको काम सकेपछि घर पुगिन्छ। चारजनाको परिवार चारतिर फर्केको भेटिन्छ। ठट्टैमा मानिसहरूले यसलाई ‘घोप्टे युग’को आगमन भन्न थालेका छन्। महात्मा गान्धीका तीन बाँदरलाई राखेर अर्को एउटा थपिएको छ, जो मोबाइल चलाइरहेको छ। ‘अहिले आए यी चौथा बाँदर’ भन्दै बनाइएको ट्रोलमा लेखिएको छ, ‘न बोल्छ, न सुन्छ, न देख्छ।’
मानिसहरू पारिवारिक जमघटमा भेला भए भने पनि अन्यत्रै मोबाइल एपमार्फत सञ्चार गरिरहेका भेटिन्छन्। वाइफाई नहुने र मोबाइल नेटवर्क हराउने हो भने यीबीच अवश्यै संवाद हुन्छ। परिवारमा पनि दिनभरि के के भयो, एकअर्कालाई सुनाउनेछन्। त्यसपछि रमाइलो मान्दै रात्रिकालीन भोजन गर्नेछन्।

कसैले लेखेको रमाइलो फेसबुक स्टाटसबारे मैले कतै पढेको थिएँ, ‘आज घरमा वाइफाई थिएन। बाहिर पनि गइनँ। घरकै मानिससँग कुराकानी भयो। सबै रमाइला रहेछन्।’ धेरै घरमा यस्तो हुन छाडिसकेको छ। अर्थात् बाहिर सामाजिक सञ्जाल र एपमार्फत सञ्चार गर्दागर्दै आफू वरिपरिका मानिसबारे जानकारी कम हुन थालेको छ। त्यति मात्र होइन, अनावश्यक तनावमा पर्न थालेको देखिन्छ।

के तपाईंका छोराछोरी यतिबेला हातमा पुस्तक लिएर पढिरहेका छन् ? बाहिर कौसीमा निस्केर हेर्नुहोस्, पुसको पारिलो घाममा तपाईंका छिमेकी पत्रिका पढिरहेका छन् कि मोबाइलमा केही हेरिरहेका छन् ?

पहिले–पहिले सुत्ने बेला पनि ध्यान पुस्तक पढ्नेतिर हुन्थ्यो। निद्रादेवीको काखमा जीवन धन्य हुन्थ्यो, अब त्यस्तो हुँदैन। मोबाइलको पर्दामा हेर्दाहेर्दै पट्यार लाग्छ। यति हुँदाहुँदै पनि मोबाइलको मायावी संसारले अलमल्याइरहेको हुन्छ, निद्रा कतै भाग्छ। शरीरलाई आराम र मनलाई शान्त पार्दैन यसले। यसैयसै टाउको तातिरहेको हुन्छ।

मोबाइलले धेरै मानिसको कार्यक्षमता घटाउन थालेको छ। दिनभरिमा पटक–पटक मोबाइल खोल्ने र बन्द गर्ने काम हुन्छ। यसले व्यक्तिको समय बेपत्तैसँग समाप्त पार्छ। एक अमेरिकी प्रौढले सन् २०१९ मा प्रत्येक दिन सरदर दुई घन्टा ५६ मिनेट ‘स्मार्टफोन’मा खर्च गरेको तथ्यांक भर्खरै सार्वजनिक भएको छ। यो २०१८ को तुलनामा नौ मिनेटले बढी हो। बिजनेस इन्साइडरले २०१६ जुलाई १३ मा दिएको जानकारी अनुसार, खास किसिमका प्रयोगकर्ताले प्रत्येक दिन दुई हजार ६ सय १७ पटक मोबाइल फोनलाई छुन्छन्। खासमा ती सरदर प्रयोगकर्ता मात्र हुन् भन्ने त्यसमा खुलाइएको छ। यस हिसाबले अत्यन्तै धेरै फोन प्रयोग गर्ने उपल्ला १० प्रतिशतले दैनिक पाँच हजार चार सयपटक फोन छुन्छन्।

हामीमध्ये कतिका हातबाट मोबाइल छुट्दैन, हातको हातै हुन्छ। यो अचम्मको खेलौना आएछ, यसबाट उम्किन कोही चाहँदैन। हामीलाई समय मूल्यवान छ। आफ्नो समय, सोच र सम्बन्धको व्यवस्थापन अत्यन्त जरुरी हुन्छ। तर, छिनछिनमा हाम्रो ध्यान भंग गर्ने कुरा हामीसँग भएपछि अब जीवन झन् चुनौतीपूर्ण भएको छ। महŒवपूर्ण कामका निम्ति समय पुग्दैन। तर सेकेन्ड, मिनेट अलिअलि गर्दै मोबाइलले समय लिइरहेको छ।

हावर्ड बिजनेस रिभ्युमा प्रकाशित एउटा लेखलाई उद्धृत गर्दै थ्राइभग्लोब डटकमले लेखेको छ, ‘स्मार्टफोन प्रयोगकर्ताले एक दिनमा आफ्ना फोन एक सय ५० पटक हेर्छन्, मोबाइल फोन खोल्न र बन्द गर्न मात्र साढे दुई घन्टा खर्च हुन्छ। यसैले अचेल आफ्नो समयको सदुपयोग कसरी गर्ने भनेर सिकाउने विभिन्न सामग्री पाइन थालेको छ। आफ्नो ‘स्क्रिन समय’को व्यवस्थापनका अनेकन् उपाय अहिले आइसकेका छन्।

स्मार्टफोनलाई कति ‘स्मार्ट’ भएर चलाउने ? अब थाहा पाउनुपर्ने बेला आइसकेको छ। यसले कतै हाम्रो सिर्जनशीलता, संवेदनशीलता र शालिनतालाई नमारोस्। कुनै बेला एउटै ‘ल्यान्डलाइन’ फोनले सबै काम चलेको थियो। अझ फोनसेटलाई एउटा राम्रो रुमालले छोपेर धुलोबाट जोगाउन खोजिन्थ्यो। एउटै फोन वर्षौं चल्थ्यो। तर, अहिले एउटा स्मार्टफोनभित्र पनि अनेकन् एप छन्। मानिससँग सम्पर्कका लागि फोन मात्र होइन, फेसबुक, टिवटर, भाइबर, ह्वाट्सएप, वि–च्याटजस्ता अनेकन् सामाजिक सञ्जाल चलाउन मिल्ने एप उपलब्ध छन्।

हाम्रो ध्यान पहिले १२ सेकेन्डसम्म एक ठाउँमा टिक्थ्यो भने सन् २०१९ मा घटेर ८ सेकेन्ड भएको छ। अंग्रेजीमा यसलाई ‘अटेन्सन स्पान’ भनिन्छ। हाम्रो यो घट्दो ध्यान केन्द्रित हुने समय गोल्डफिसको भन्दा कम भएको भनेर समाचार शीर्षक समेत छापिएका थिए। टाइम म्यागेजिनले २०१५ मे १४ मा आफ्नो समाचारको शीर्षक नै बनायो– ‘यु नाउ ह्याभ अ सर्टर अटेन्सन स्पान द्यान अ गोल्डफिस’, अर्थात् तपाईंको ध्यान केन्द्रित हुने समय अहिले गोल्डफिसको भन्दा छोटो भएको छ। गोल्डफिससँगको यो तुलनालाई लिएर २०१७ मार्च १० मा बिबिसीले ‘बस्टिङ द अटेन्सन स्पान मिथ’ अर्थात् ध्यान केन्द्रित हुने अवधिसम्बन्धी मिथकको पर्दाफास भनेर लेख छापिसकेको छ। मानिसको ध्यान भंग हुने कुरालाई यसले सुरुमै यसरी लेखेको छ, ‘सम्भवतः तपाईं यो लेखको अन्तिमसम्म पढ्न असमर्थ हुनुहुनेछ। हामी सबैलाई थाहै छ, हाम्रो ध्यान केन्द्रित हुने समय अत्यन्तै छोटो भएको छ। यो प्रस्टै छ, वा यो सत्य हो।’

ध्यान भंग हुने क्रमले हामीलाई पूरा जानकारी बेगर टिप्पणी गर्ने बनाइसकेको छ। कसैले कुनै जानकारी दिएको छ भने तत्काल अर्कै प्रतिक्रिया आउँछ। सामान्य विषयले समेत कोकोहोलो मच्चाउने स्थिति बन्छ। प्रसिद्ध व्यक्तिहरू विवादमा आउन कुनै बेर लाग्दैन। कहिलेकाहीँ एप चलाउँदा चलाउँदै ‘लाइक’ वा ‘इमोजी’ थिचिन पुग्यो भने थामिनसक्नुको विवाद हुन्छ।

हालै भारतीय अभिनेता अक्षयकुमार त्यस्तै विवादमा तानिए। त्यहाँको नागरिकता संशोधन विधेयकले सिर्जना गरेको आन्दोलनमा नयाँदिल्लीस्थित जामिया मिलिया इस्लामी विश्वविद्यालयका विद्यार्थीमाथि प्रहरीले गरेको दुव्र्यवहारको भिडियो ‘लाइक’ गरेपछि उनीविरुद्ध ह्यासट्याग बनाएर सामाजिक सञ्जालमा विरोध गरिएको थियो। गल्तीवश ‘लाइक’ हुन पुगेको बताउँदा पनि उनले धर पाएका थिएनन्।

हामीकहाँ पनि त्यस्तै भयो। प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट भारतीय कंग्रेस आई नेतृ सोनिया गान्धीको त्यहाँको सरकारले लिएको नागरिकता नीतिको विरोधसम्बन्धी भिडियो ‘रिट्विट’ हुन पुगेको थियो। नेपालका प्रधानमन्त्रीको नामबाट भारतीय प्रमुख विपक्षी नेताको भिडियो रिट्विट हुनु आफैंमा ठूलो समाचार बन्न पुग्यो। यसलाई त्यहाँका प्रमुख सञ्चार माध्यमले समाचारको विषय बनाए। यहाँ भने प्रधानमन्त्रीको उक्त ट्विटर ‘ह्याक’ भएको हुन सक्ने दाबी गर्दै प्रेस सल्लाहकारबाट स्पष्टोक्ति सहितको ट्विट गर्नुपरेको थियो।

सामाजिक सञ्जाल साह्रै शक्तिशाली भएका छन् यतिबेला। कुनै बेला मूलधारका सञ्चारमाध्यमले मात्र सूचना र जानकारी सार्वजनिक गर्ने गर्थे। तर, अहिले प्रत्येक व्यक्तिलाई प्रविधिले आफैं यस्ता जानकारी दिन सक्ने ठाउँमा पु¥याएको छ। कुनै दुर्घटना भइरहेको ठाउँमा पत्रकारभन्दा पहिले नागरिक पुग्न सक्छन्। तिनले यी विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्छन्।

यसरी सूचना प्रविधिको प्रगति र मोबाइलको मायावी सञ्जालले व्यक्तिलाई सशक्त तुल्याउनुसँगै परिस्थितिलाई झनै असजिलो समेत पारिरहेका छन्। यसमा मानिसले झुक्किएर कुनै त्रुटि गरिहाले पनि भयानक आलोचनाको सिकार बनाउने खतरा रहन्छ। यसबाट सीधै राष्ट्रपतिदेखि सामान्य व्यक्तिसम्म पहुँच भएपछि जेसुकै प्रतिक्रिया व्यक्त गरेर ‘ध्यानाकर्षण’ गर्ने चलन समेत सुरु भएको छ।

हाम्रा हातमा ‘स्मार्टफोन’ र अत्याधुनिक सूचना प्रविधि आए पनि त्यसलाई कसरी व्यवस्थित बनाउने भन्ने जानकारी अझै आइसकेको छैन। पश्चिमा संसारले भने यसलाई एउटा सीमासम्म मात्र प्रयोग गर्ने सोचिसकेको छ। तदनुकूल नै यसको प्रयोगलाई समेत घटाउन थालिसकेको छ।

पाँच वर्षअघि म जापान पुग्दा त्यहाँका रेस्टुराँमा ‘नो स्मोकिङ’ जस्तै चिह्न बनाएर ‘नो मोबाइल’ संकेत गर्ने चिह्न टाँसेको पाएको थिएँ। हामी भने अझै रेस्टुराँमा पुगेपछि त्यहाँका सहयोगीले मिनु लिएर आएपछि खानाको सूची बताउनुअघि नै ‘वाइफाई पासवर्ड’ माग्छौं। रेस्टुराँमा भेट भएका साथीसँग अन्तरंग कुराकानी र खानाको स्वादभन्दा बढी ‘स्मार्टफोन’को सान्निध्य देखिन्छ।

स्टिभ जब्स, जसले आजका लोकप्रिय स्मार्ट ग्याजेट निर्माण गर्ने कम्पनी एपल सञ्चालन गरे। तर, उनले आफ्ना छोराछोरीलाई त्यही बेला यसको प्रयोगका सीमा तोकिसकेका थिए। २०१४ सेप्टेम्बर १० मा न्युयोर्क टाइम्सले उनका बारेमा एउटा लेख छापेको थियो– ‘स्टिभ जब्स वाज अ लो–टेक प्यारेन्ट’ अर्थात् स्टिभ जब्स न्युन प्रविधियुक्त अभिभावक।

निक विल्टनले उक्त लेखमा लेखेका थिए, ‘उसो भए तपाईंका नानीहरूले आइप्याड मनपराए होलान्– मैले विषय परिवर्तन गर्न खोज्दै जब्सलाई सोधेँ। कम्पनीको पहिलो ट्याब्लेट भर्खरै आएको थियो। जब्सले मलाई भने– उनीहरूले यसलाई प्रयोग गरेका छैनन्। हाम्रा नानीहरूले घरमा कति प्रविधि प्रयोग गर्छन् भन्ने सीमा तोकेका छौँ।’

जसले आज हाम्रो मनपर्दो खेलौना सिर्जना गरे, उनैले यसका सीमा तोकिसकेका थिए। यसको प्रयोगमा ध्यान पु-याइएन भने व्यक्तिको समय र सिर्जनशीलता दुवै नासिन्छ भन्ने अनुमान अहिले सत्य सावित भइसकेको छ। बिहान उठेर सबैभन्दा पहिले मोबाइल हेर्ने मान्छे ढिलोचाँडो डिप्रेसनको सिकार हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, पाँच वर्षमुनिका बच्चाहरुलाई मोबाइल दिनु विष दिनु सरह हो।

अचेल एउटा लामो लेख लेख्न वा पढ्न मानिसलाई समय कम भइरहेको महसुस हुन्छ। समाचार कक्षमै हामी यत्रो लामो लेख कसले पढ्ला र ? भनी प्रश्न गर्न थालिसकेका छौँ। तर, न्युयोर्करजस्ता पत्रिकाले ५० पृष्ठभन्दा लामा लेख छापिरहेका छन्। तैपनि यस्ता सामग्री पढ्ने जमात गुम्दै गएको महसुस हुन्छ।

तपाईंले यो लेख पढेर यहाँसम्म आइपुग्नु भयो भने आजबाट विचार गर्नु होला– के तपाईंकी छोराछोरी यतिबेला हातमा पुस्तक लिएर पढिरहेका छन् ? बाहिर कौसीमा निस्केर हेर्नुहोस्, पुसको पारिलो घाममा तपाईंका छिमेकी पत्रिका पढिरहेका छन् कि मोबाइलमा केही हेरिरहेका छन् ?

बेला आइसकेको छ, हामीले आफ्नो ‘स्क्रिन टाइम’बारे जानकारी राख्ने। कुनै पनि कुरा कति प्रयोग गर्ने ? सन्तुलित प्रयोग मात्र दिगो हुन्छ। बिहान निश्चित समय नभई घरको वाइफाई नखोल्ने वा स्मार्ट फोनबाट टाढा बस्ने अभ्यास हामीले गर्नुपर्ने बेला आइसकेको छ। राति सुत्नुभन्दा केही घन्टाअघि नै कम्प्युटर, मोबाइल आदिको पर्दाबाट आँखा हटाएर पुस्तक पढ्नतिर लाग्नुपर्ने बेला भइसकेको छ। यसले मात्र तपाईं ठीक ढंगले निदाउन सक्नुहुनेछ। तपाईंमा देखिएको तनाव कम हुनेछ।

पछिल्लो समयको विश्वविख्यात पुस्तक ‘सेपियन्स’का इजराइली लेखक युभाल नोह हरारी मोबाइल नै बोक्दैनन् र वर्षमा दुई महिना ध्यान गर्न जान्छन्। मोबाइल नबोक्दा र सामाजिक सञ्जाल नचलाउँदा ध्यान एकत्रित गर्न सहयोग पुगेको उनले बताएका छन्।

सामाजिक सञ्जालमा चाहिने/ नचाहिने विषयमा बुर्कुसी मार्नुभन्दा केही छिनको भए पनि शान्ति आवश्यक भइसकेको छ। मोबाइलको मायावी संसारबाट अलिकति बाहिर निस्किनैपर्ने बेला आएन र ?




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad