coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

ताङतिङ रमाइलो

एकैछिन कल्पना गर्नुस् त, गुन्द्रीमा बसेर पुसको पहारिलो घाम ताप्दै हिमालतिर आँखा डुलाउँदा कस्तो अनुभूति होला ! त्यस्तै मिठो अनुभव हुन्छ ताङतिङमा जहाँ तन र मन न्यानो बन्छ। हिमाली सौन्दर्य, गुरुङ संस्कृति र आत्मीय सत्कारले ताङतिङमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै छ।

कास्की जिल्ला, मादी गाउँपालिका–२ को ताङतिङ (१,६६५ मिटर) गुरुङ बस्ती हो। वारिपट्टि ताङतिङ छ भने पारिपट्टि सिक्लेस गाउँ। सिक्लेसको शिरमा उभिएका अन्नपूर्ण र लमजुङ हिमश्रृङ्खला ताङतिङबाट छर्लङ्ग देखिन्छन्।

गुरुङ भाषामा ताङतिङ गाउँलाई ‘तोनी नासा’ भनिन्छ। ‘तोंउ’ भनेको ‘रमाइलो’ र ‘नासा’ भनेको ‘गाउँ’। त्यसैले ताङतिङ ‘रमाइलो गाउँ’ हो। गाउँले आत्मीय छन्, मायालु छन् र मन खोलेर सत्कार गर्छन्।  

ग्रामीण जीवनशैलीको सुवास पाइन्छ त्यहाँ। शहरमा हुर्केका र हुर्किंदै गरेकालाई गाउँको जीवनशैली चखाउन ताङतिङ उपयुक्त गन्तव्य बन्न सक्छ। 

गाउँमा दुई सय घर छन्। ढुंगाको छाना, ढुंगाकै गारो र ढुंगा नै छापिएका आँगन। चिरिच्याँट्ट घरहरू। ताङतिङमा ढिकीमा खाद्यान्न कुटेको, जाँतोमा दाल र मकै पिसेको, चर्खामा धागो कातेको, घट्टमा अन्न पिसेको, मान्द्रो बुनेको र गोठमा दूध दुहेका दृश्य सामान्य हुन्। खेतीपातीमा झुमेका छन् गाउँले।

ताङतिङको सेरोफेरोमा फन्द्रडाँडा, क्रबुडाँडा, काउँपाखा, बाजे बैगु, झरना, कोइचो, पलाचीडाँडा, फोलाम्रो र नौचुडाँडा जस्ता घुमफिर गन्तव्यहरू छन्। त्यस्तै बोन गुम्बा, कोइवा धिँ र बौद्ध गुम्बा छन्। गुम्बामा ध्यान र पूजापाठ गर्न सकिन्छ। 

पर्यटन गोरेटोमा हिँड्दै गरेको ताङतिङमा खाना र बासका लागि होमस्टे एवं होटल सुविधा छ। गुरुङका १४ घरमा होमस्टे गराइन्छ भने ५ वटा होटल पनि छन्। सामान्यतः  हजार रुपैयाँमा डिनर, बेड, ब्रmेकफास्ट र लन्च पाइन्छ। पाहुनालाई उनीहरू गाउँमै उत्पादित खाद्यान्नबाट तयार भएका खानेकुरा खुवाउँछन्। 

होमस्टेको आफ्नै मर्यादा हुन्छ। आचारसंहिता हुन्छ। पाहुनाले त्यसको पालना गर्नुपर्छ। होमस्टेमा जाँदा पहिल्यै खबर गर्नुपर्छ। घाम नडुब्दै गाउँमा पुग्नुपर्छ। त्यसो भयो भने उनीहरूलाई पाहुनाको स्वागत गर्न र खाना बनाउन सजिलो हुन्छ।

गाउँका महिला र पुरुषले फूलमाला लगाएर स्वागत गर्छन्। उनीहरू होमस्टेमा बाँडेर पाहुना राख्छन्। पाहुनाको माग अनुसार राति घाटु, झ्याउरे, सोरठी र ठेटर नाच्छन्। पाहुनालाई पनि नचाउँछन्।

ताङतिङ सेरोफेरोमा सिक्लेस र याङ्जाकोट गाउँ छन्। ती पनि घुम्नलायक छन्। ताङतिङमा दुई रात बस्नेगरी यात्रा योजना बनाएमा एक दिन नजिकैका रमणीय डाँडामा हाइकिङ गर्ने समय हुन्छ। फर्कंदा गाउँबाट मह, भांग्रा, गेडागुडी र सागसब्जी कोसेली ल्याउन पाइन्छ।

पहारिलो घाममा हिमालसँग आँखा जुझाउँदै बसेको ताङतिङ तपाईको पर्खाइमा छ। अब भन्नुस्, कहिले जानुहुन्छ रमाइलो ताङतिङ ?
कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि, बसमा ६ घन्टा। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा। पोखरा–ताङतिङ २१ किमि। पोखराको काहुँखोलाबाट ताङतिङ जाने बस र जीप पाइन्छ। मोटर बाइक पनि गाउँसम्मै पुग्छ। काहुँखोलाबाट बिहान ८ र अपरान्ह ४ बजे बस छुट्छन्।

पर्यटन गाउँ
प्रकाश गुरुङ,प्रधानाध्यापक, हिमालय  मिलन मावि


पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। त्यसैले हामी ताङतिङलाई ‘पर्यटन गाउँ’का रूपमा चम्काउँदै छौं। हामी स्वदेशी तथा विदेशी पर्यटकको हृदय खोलेर स्वागत गर्छौं। गाउँको पर्यटन विकासमा आमा समूहको योगदान ठूलो छ। गाउँको प्रचार गर्न हामीले डिजिटल मार्केटिङमा जोड दिएका छौं।
सम्पर्क : ९८५६०२८८२७

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App