राजकुलो मासिँदा ढुंगेधारा सुके

शनिबार, १२ पुष २०७६, ०७ : ३० उपेन्द्र लामिछाने

नगरकोटको मुहानपोखरीबाट अहिले पनि पानी छङछङ बगिरहेको छ। तर  त्यहीँ मुहान भएको  भक्तपुरका मल्लकालीन धारा भने सुक्खा छन्। बढ्दो सहरीकरणसँगै मल्लकालीन राजकुलो मासिँदा नगरका ढुंगेधारा सुक्खा धारा बनेका छन्। पानी नआउँदा धारा क्षेत्र मासिनुका साथै योसँगै जोडिएका संस्कृति संकटमा परेका छन्।

मुहान पोखरी  मल्लकालमा भक्तपुर नगर क्षेत्रलाई खानेपानीको जोहो गर्न बनाइएको  हो। भक्तपुरको नगरकोटदेखि झन्डै १५ किलोमिटर लामो राजकुलो निर्माण गरी  नेपाल संवत् ७९८ मा राजा जितामित्र मल्लले राजकुलो निर्माण गर्दै भक्तपुरका प्रमुख धारा सञ्चालनमा आएको  संस्कृतविद् ओम धौभडेल बताउँछन्।

‘कतिपय ठाउँमा माटोको पाइप बनाएर ल्याइएको यस्तो राजकुलोको पानी  खरीपाटीको आर्मी ब्यारेकनेर पोखरी निर्माण गरेर शुद्ध बनाइन्थ्यो,’ उनले भने, ‘त्यहाँबाट आएको पानी भक्तपुरको मूलढोका हुँदै महालक्ष्मीस्थान, कमलविनायक, भोलाछे, व्यासी, दरबार क्षेत्र, तलेजुसम्म आउँथ्यो।’

   २०३५–४० सालतिर  नगरका ८८ वटै मल्लकालीन ढुंगेधाराबाट कलकल पानी बगेको  धेरैलाई याद छ। भक्तपुर पूर्वोत्तरका जलाधार क्षेत्र नगरकोट, बाँसबारी, खरीपाटीलगायत क्षेत्रका राजकुलोमार्फत आउने पानीले त्यतिबेला सिंगो सहरको प्यास मेट्दै खेतबारी सिञ्चित हुन्थ्यो। ढुंगेधाराका जलाधार क्षेत्रमा सडक र मानवबस्ती विस्तार हुँदा ढुंंगेधारामा पानी आउन छाडेको  वातावरणविद् उकेशराज भुजु बताउँछन्।  

उपत्यकामा दैनिक सात करोड लिटर बढी  पानी दोहन हुन्छ। १ देखि २ दशमलव ५ मिटरका दरले भूमिगत पानीको सतह घट्दै गएको छ।

  ‘ढुंगेधारामा पानी आउने  जलाधार क्षेत्रको सम्बन्ध टुट्नु र पोखरीलगायत रिचार्ज हुने प्रक्रिया पनि अवरुद्ध भएकाले समस्या आएको हो,’ भुजु भन्छन्, ‘यो  अवस्था  दिन प्रतिदिन झनै बिग्रँदै गएको छ।’

नगरका एक सय ५० बढी ढुंगेधारामध्ये  अझै ८८  वटा जति धारा देखिन्छन्। यीमध्ये  नगरभित्रै मुहान रहेका  केहीमा मात्र पानी आउने गरेको छ। उतिबेला सिँचाइ र धाराको लागि राजकुलो निर्माण गरिन्थ्यो । पछिल्लो समय किसानले जमिन बेचबिखन गर्न थालेसँगै  राजकुलो मासिएको हो।

ललितपुरका अन्य ढुंगेधाराको अवस्था पनि उस्तै छ। नगरका ६१ ढुंगेधारामध्ये अधिकांश सुकेका छन्। ‘पाटनको सबैभन्दा गहिरो क्षेत्रमा रहेको कुम्भेश्वरस्थित ढुंगेधारासमेत सुक्न थालेको छ,’ वातावरणविद् भुजु भन्छन् , ‘नगरका अन्य धारामा पानीको सतह कसरी घटिरहेका छन् भन्ने यसले नै जनाउँछ।’

हरेक ढुंगेधारामा पानीको प्रतीकका रूपमा गोही, भ्यागुता, सर्प, कछुवा आदिको कलात्मक आकृति कुँदिएका छन्।  अधिकांश धाराका स्रोत लेले तथा गोदावरी क्षेत्रका जलाधार क्षेत्र थिए। राजकुलो र नगरभित्र रहेका अनगिन्ती पोखरीले पनि पानीको अभाव महसुस गराउँदैनथ्यो। ‘एकातिर राजकुलो मासिए, अर्कातिर पोखरी पुरिए,’ उनले भने, ‘यसको असर पानीको सतह घट्यो अनि ढुंगेधारा सुके।’

थरीथरीका धारा
पुराना ढुंगेधारासँगै संस्कृति र सहरको सभ्यता पनि जोडिएको  छ। यसैको नामबाट बस्ती चिनिन्छ।  नगरका प्रायः धारा पश्चिम फर्केका हुन्छन्। बिहान सूर्यलाई पानी चढाउनुपर्ने हिन्दू आस्थाअनुसार अधिकांश धारा पश्चिमतिर फर्केका हुन्। तर नगरका नौ वटा धारा भने पूर्व फर्केका छन्। यी धारामा जनैपूर्णिमाका दिन नुहाने चलन छ।   नगरको एक मात्र धारा भने उत्तरतर्फ फर्केको छ। भेलुखेलमा रहेको धौभारी धारा भने मृत्युसंस्कारको समयमा प्रयोग गरिन्छ।


  अनेक नाम
विगतमा सूर्यमढीमा मात्र तुरतुरे धारा  थिए।  तर अहिले भक्तपुरमा यस्ता धाराको संख्या भने बढेको छ।  पानीको सतह घटेसँग थुप्रै धारा तुरतुरे धारामा परिणत भएका हुन्। ‘सङ्लो पानी आउने भएकाले नीलो धारा भनिएको हुन सक्छ,’ धौभडेल थप्छन्, ‘धेरै खनेर निकालेको भएर गहिटी भनियो।’ विगतमा धारा कति व्यवस्थित थियो भने तलेजुभित्रको सुन्धारा हेरे पुग्छ। आकर्षक शैलीको यो धारामा त्यतिबेलै ‘लुगा फेर्ने ठाउँ’को व्यवस्था रहेको धौभडेलले सुनाए। ‘महिलाका लागि कपडा फेर्न यस्ता कोठा  निर्माण गरिएको थियो, ‘उनले भने, ‘यो हाम्रो समृद्ध संस्कृतिको पहिचान हो।’

पुरानो धारा
भक्तपुरको गोलमढीमा रहेको गहिटी सबैभन्दा पुरानो धारा भएको धौभडेल बताउँछन्। ‘ लिच्छविकालमा अंशुवर्मा र शिवदेव द्वितीयको पालामा (५ सय १६) मा यसको निर्माण भएको देखिन्छ,’ उनले भने, ‘सम्भवतः यो नै यस क्षेत्रको सबैभन्दा पुरानो धारा हो।’ यो धाराको मुहान भक्तपुर क्षेत्रमै भएकाले थोरै पानी आउने गरेको उनले सुनाए। ‘जमिनमै धेरै खनेर धारा निर्माण गर्ने चलन थियो,’  उनले भने, ‘यस्ता धारालाई गहिटी अर्थात् गहिरो धारा भनिन्छ।’  यस्ता धारा  जमिनमा रिचार्ज हुने पानीको अभावमा सुक्दै गएको उनको बुझाइ छ।

रुन्चे धारा
व्यासीमा रहेको आरिगं हिटीमा रुन्चे लागेका केटाकेटीलाई नुहाउने चलन थियो। आइतबार र बिहीबार त्यस्ता केटाकेटीलाई  यो धारामा ल्याएर नुहाइदिँदा निको हुने विश्वास गरिन्थ्यो।

हाकुको हिटी
भक्तपुरको औद्योगिक क्षेत्रनजिकै हाकुको हिटी अर्थात् कालो टुटी भएको धारा छ। यसबाट सङ्लो पानी आए पनि भात पकाउँदा कालो हुने भएकाले हाकुको हिटी भनिएको हो।

सुक्खा सुन्धारा
काठमाडौं, भक्तपुर  र पाटनमा सुन्धारा छन्। सुनको धाराबाट नुहाए चाखो भइने मान्यताका कारण यस्ता धारा तीनै सहरमा चर्चित भए। तर, यी धाराबाट पानी आउँदैन। ‘यी तिनै धाराको जलाधारसँगको कनेक्सन टुटेको छ,’ उकेशराज भुजु  भन्छन्, ‘सुनको धारा सुकेसँगै  सर्वसाधारणले शुद्ध पानी पिउन पाएका छैनन्।’

टुँडिखेलमा परेको पानी रिचार्ज भएर सुन्धारामा पुग्ने गरेको अध्यनले देखाएको भुजुले सुनाए। सञ्चयकोष भवन निर्माणसँगै यो कनेक्सन टुट्न पुग्दा पानी सुकेको उनले बताए।‘पत्ता लगाउन सञ्चयकोषको जगमा नुन र रंग हालेर पनि हेरिएको थियो,’ उनले भने, ‘त्यति नुुनिलोपन र रंग सुन्धारामा निस्किएको पनि थियो।’ तर यो धारा जोगाउन त्यतिबेला पहल नगरिएका कारण सुन्धारा सुक्न पुगेको उनले सुनाए।

सरकारी बेवास्ता
जमिनमा पानी ‘रिचार्ज’ गरेर ढुंगेधारा ब्युँताउन सकिने भए पनि सरकारले त्यसतर्फ चासो नदेखाएको वातावरणविद् भुुजुको  बुझाइ छ।  ‘अब ढुंगेधारा ‘सो–पिस’का रूपमा मात्र रहने भए,’ उनी भन्छन्, ‘नगरवासी ढुंगेधारा हेर्दै तिर्खाएर हिँड्नुपर्ने अवस्था छ।’

काठमाडौंको सुुन्धाराको पानी सुकेको वर्षौं भइसकेको छ। बालाजुको चर्चित २२ धारामा जेनेटरमार्फत पानी खसाउनुपरेको छ। अन्य धाराको अवस्था यस्तै छ। ‘परम्परागत पोखरी र जलाधार क्षेत्रसँग ढुंगेधाराको सम्बन्ध टुटेकाले पानी सुकेको  हो,’ उकेशराज भुजु भन्छन् , ‘यसको जगेर्नातर्फ खासै कसैले चासो देखाएका छैनन्। त्यस्तै, अव्यवस्थित बसोबास र डिप बोरिङले  ढुंगेधारामा असर पु-याएको छ।

रिचार्ज जरुरी
भूमिगत पानीको सतह कायम राख्न दीर्घकालीन रणनीति नअपनाए भयावह स्थिति आउने  उकेशराज बताउँछन्। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ‘रिचार्ज काठमाडौं’ भन्ने अभियान नै सुरु गरेको छ। बोर्डको अध्ययन प्रतिवेदनमा उपत्यकामा दैनिक सात करोड लिटरभन्दा बढी  पानी दोहन हुने अनुमान छ। वार्Èिक १ देखि २ दशमलव ५ मिटरका दरले भूमिगत पानीको सतह घट्दै गएको छ। बेलैमै रिचार्जतर्फ ध्यान नदिए स्थिति झनै भयावह हुने वातावरणविद्  भुजु बताउँछन्।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad