coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ऐलानी जग्गा हडप्ने पक्राउ परेनन्

नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरी

दमक – ऐलेनी जग्गा हडपेको आरोप खेपिरहेका नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरी अहिलेसम्म पक्राउ परेका छैनन्। दमक–८ बालुवाटारमा उनले ११ बिघा सरकारी जग्गा व्यक्तिको नाममा पास गरेको आरोप लागेको छ।

घटनामा सलग्न भनिएका पाँचजपक्राउ परेका छन्, जसमा सरकारी कर्मचारीदेखि जग्गा पास गर्न सघाउने बिचौलियासम्म छन्। नापी कार्यालयका सर्भेक्षक विनोद मण्डल, नापी विभागमा कार्यरत नापी अधिकृत स्टालिन भण्डारी, मालपोत कार्यालयका नायव सुब्बा कृष्ण भट्टराई र पथरी–शनिश्चरे मोरङका ओमप्रकाश पौडेल र वेदबहादुर पौडेल पक्राउ परेका हुन्। मुख्य आरोपी पुरी भने फरार छन्। सर्भेक्षक मण्डललाई मङ्सिर २० गते दमकबाट, भण्डारीलाई काठमाडौंबाट पुस ४ गते र भट्टराईलाई मङ्सिर २७ गते दमकबाट पक्राउ गरिएको थियो। त्यस्तै पथरी–शनिश्चरेका ओमप्रकाश पौडेललाई मङ्सिर १६ र वेदबहादुरलाई मङ्सिर २० गते पथरीबाट पक्राउ गरिएको थियो। घटनामा संलग्न भनिएका अरू सरकारी कर्मचारी भने फरार छन्।

जग्गा भोगचलन गरिरहेकाहरूले भने पुरीले राजनीतिक पहुँचका आधारमा प्रभावमा पारेर जग्गा कब्जा गरेको आरोप लगाएका छन्। उनीहरूले २०३६ सालदेखि भोगचलन गरेको र फिल्डबुकमा उल्लेखसमेत भइसकेको जग्गा पुरीले राजनीतिक दबाबमा पारेर किर्ते गरेको बताएका हुन्। २०४२ सालमा रतुवा नदीको बाढीका कारण आफूहरू विस्थापित भएको जग्गाधनीहरूले भनाइ छ।

नुवाकोटबाट झरेर २०३६ सालमा दमक–८ मा बस्दै आएका तसरमान श्रेष्ठलाई २०४२ सालको बाढीले विस्थापित बनायो। उनको चार कठ्ठा पाँच धुर जग्गा पनि बगर बन्यो। उनीहरू बसाइँ सरेर दमक–९ मा पुगे। रतुवा नदीमा तटबन्ध लाग्यो, जग्गा उकासियो। बस्नका लागि कटेरोसमेत बनाए। ‘कटेरो निमार्णाधीन अवस्थामा थियो,’ उनले सुनाए, ‘तर पुरीले मान्छे लगाएर कटेरोसमेत जलाइदिए। त्यसपछि उनले आफ्नो जग्गा फिर्ता पाउन भनेर अनेकौं कोसिस गरे तर सम्भव भएन।

आफूहरूले भोगचलन गरेको र फिल्डबुकमा उल्लेखसमेत भइसकेको जग्गा पुरीले राजनीतिक दबाबमा पारेर किर्ते गरेको पीडितहरू बताउँछन्।

‘मैैले त्यस बेलादेखि भोगचलन गरेको जग्गा फिल्डबुकमा समेत उल्लेख थियो। सुकुम्बासी आयोगले धनीपुर्जा दिने बेलामा पुरीले हडपे,’ उनले भने, ‘तर अहिले आएर जग्गा फिर्ता दिन नसक्ने, केही नगद दिने भनेर टारिरहेका छन्। तर त्यही नगद पनि कित दिने, कहिले दिने भन्ने अहिलेसम्म टुंगो छैन।’

टेकबहादुर लिम्बुको १२ कठ्ठा जग्गा पनि त्यही बाढीले बगर बनायो। उनी घरबारविहीन बने। खोलामा बाँध बाँधिएपछि पुरानै जग्गा भएको ठाउँमा बस्न भनेर गए तर हकभोग गर्न पाएनन्। ‘त्यो जग्गा त पुरीजीले कब्जा गरिसकेको रहेछन्,’ लिम्बूका छोरा मनप्रसादले भने, ‘अहिले आएर जम्मा जग्गाको एक लाख रुपैयाँ दिन्छु भनेका छन्। तर हामी नमान्ने भएर बसेका छौं।’ अहिले दमक–८ मा भाडाको घरमा बस्दै आएको लिम्बु परिवारले जग्गा फिर्ताको माग गरेका छन्।

सन्जीव मगरकी आमा विष्णुमाया मगरको तीन कठ्ठा १९ धुर जमिन बालुवाटारमै थियो। २०३९ सालमा फिल्डबुक नक्सा हुँदा उनको जग्गा त्यति देखियो। तर उनीहरूलाई पनि अरूलाई जस्तै बाढीले लखेट्यो। खाली जग्गामा पुरीले कब्जा जमाए। ‘मैले पटकपटक दबाब दिएँ। जग्गा मिचेको छ, फिर्ता गर्नुहोस् भन्दा उनले मानेनन्,’ सन्जीवले भने, ‘चुनाव हराउने षड्यन्त्र गरेको भनेर अनेकौं दबाब दिए। अहिले उनी आफैं फरार छन्।’

मगरले पुरीविरुद्ध अख्तियारमा समेत उजुरी दिएका छन्। ‘नापीमा गयो, मालपोत जानु भन्ने मालपोत जाँदा गगन पुरीलाई भेटेर मिलाउनु होस् भन्ने जवाफ आउँछ,’ मगरले भने, ‘हामी त धेरै पीडित छौं।’

अर्का पीडित बुद्धिमान माझीको तीन कठ्ठा जग्गा थियो। तर उनलाई पुरीले १२ धुरमात्रै दिएका छन्। जम्मा ८२ परिवारले भोगचलन गरेको जग्गा पुरीले नम्बरी बनाएको आरोप उनीहरूको छ। उनीहरूको दाबीअनुसार ११ बिघा जग्गा पुरीले नापी र मालपोतका कर्मचारीलाई प्रभावमा पारेर किर्ते गरेका थिए। पुरीविरुद्ध १७ मंसिरमा सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेको थियो। उनले दमक नगरपालिका–८ स्थित सरकारी जमिन मालपोत र नापीका कर्मचारीहरूसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास प्रहरीको दाबी छ। पक्राउ परेका ओमप्रकाश पौडेललाई दुई कट्टा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउनेगरी काम अघि बढाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पुरी अहिलेसम्म फरार नै छन्। तर फेसबुकमा स्टाटस लेखेर अदालतमा हाजिर हुने बताएका छन्। पक्राउ परेका पौडेल र पुरी दुवै नेकपा एकता केन्द्र मसालका नेता थिए। दुवै एकता केन्द्रबाट नेकपामा आएका हुन्। पुरी पहिलो संविधानसभाको निर्वाचनमा इलामबाट संविधानसभाको उम्मेदवारसमेत थिए। लगत्तै माओवादीमा प्रवेश गरेका उनी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिए। दमकदेखि रविसम्म पुग्ने सडक निर्माण समितिका अध्यक्षसमेत रहेका पुरी विगतमा रतुवा नदीकै कारण विस्थापित भएर धनकुटासमेत पुगेका थिए। पुरीले २०७१ सालदेखि ऐलेनी जग्गा व्यक्तिको नाममा गर्नेगरी काम अघि बढाएका थिए। हाल उनी नेकपाका प्रदेश कमिटी सदस्य छन्।

प्रकाशित: १२ पुस २०७६ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App