coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुनासो सुन्दै मेयर गाउँगाउँमा

इलाम नगरपालिका–५ को वडा कार्यालयमा बुधबार आयोजित ‘जनतासँग मेयर’ कार्यक्रममा गुनासो सुनाउँदै सर्वसाधारण। तस्बिर : भीम/नागरिक

इलाम – ‘गाउँमा खानेपानी आयोजलन सञ्चालन गर्न लाखौं रुपैयाँ बजेट प-यो, पानी पनि आयो तर स्थानीय दलित बस्तीका धारामा किन पानी झरेन ?’ इलाम नगरपालिका–५ का होमनाथ घिमिरेले जिज्ञासा राखे, ‘उपभोक्ता समिति बनाइयो तर समितिले अरूसँग सल्लाह गरेन। बैठक नै गोप्य ढंगले गरेको सुनियो। अहिले विपन्न समुदाय खानेपानीबाट वञ्चित भएको छ।’

मेयरका अघि उनले देवीथान–दमाईंडाँडा खानेपानी आयोजनाको कुरा उठाउँदा उनको कुरामा समर्थन जनाउनेको संख्या धेरै थियो। ‘मुहानमा पानी छ, आयोजना गाउँमा पु-याउन बजेट पनि खर्च भयो तर दलित बस्ती अझै पानीविहीन छ,’ उनले थपे, ‘पानी भएर पनि वितरण समान नहुँदा यहाँको विपन्न समुदाय खानेपानी अभाव झेल्न बाध्य छ।’

स्थानीय चन्द्र घिमिरेले आफ्नै जमिनमा पानीको मुहान भए पनि आफैंले पानी खान नपाएको दुखेसो सुनाए। ‘मुहानमा छङछङ पानी छ, आफ्नै वरपर गाउँमा मेरै जमिनको पानी ल्याइयो तर मेरो घरमा पानी आएन,’ उनले भने, ‘आफ्नै पानी धारामा ल्याउन मैले अब कसलाई गुहार माग्नु ?’

सदरमुकामसँगै जोडिएको सुगम मानिने वडा नं. ५ को दुर्गम क्षेत्रका बासिन्दाको गुनासो हो यो। ‘गाउँमै सिंहदरबार’ को रटान लगाइरहेका स्थानीय तहका जनप्रतिनिधिले पनि ध्यान पु-याउन नसकेका दूरदराजका बासिन्दा अहिले पनि आधारभूत सेवाबाट वञ्चित छन्। गाउँको विकासका नाममा करोडौं रुपैयाँ खर्च भइरहेको छ, हरेक वर्ष विकास बजेटको दोब्बरभन्दा बढी रकम विकासकै नाममा चालू खर्चमा गइरहेको छ। तर नागरिकले अहिले पनि सरकारसामु खानेपानी, बाटो, बिजुली, विद्यालय, स्वास्थ्यचौकीकै माग गरिरहनुपरेको यथार्थ सदरमुकाम रहेको इलाम नगरपालिकामै देखिएको हो।

सर्वसाधारणका गुनासा शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीजस्ता न्यूनतम आधारभूत आवश्यकतामा केन्द्रित छन्। उनीहरुले स्थानीय तहले लगाएको करबारे पनि गुनासो गरेका छन्।

यही वडाका मानबहादुर लिम्बूले स्थानीय तहले ह्वात्तै कर बढाउँदा सर्वसाधारणलाई बोझ परेको बताए। ‘देशमा गणतन्त्र, संघीयता आउनु त ठूलो उपलब्धि हो तर त्यसैको नाममा सर्वसाधारणले तिर्नै नसक्नेगरी कर बढाउँदा जनप्रतिनिधि र स्थानीय सरकारबाट हामीले के राहत महसुस गर्ने’, उनले भने, ‘आम्दानी नै नहुनेखालका जग्गाको मोटो कर तिर्दा हामीलाई मार परेको छ।’

इलाम नगरपालिकाले सञ्चालन गरिरहेको ‘जनतासँग मेयर’ कार्यक्रममा सहभागी भएर सर्वसाधारणले आफ्ना गुनासा राखिरहेका छन्। वडैपिच्छे सञ्चालन भइरहेको यो कार्यक्रममा सबैभन्दा बढी गुनासा शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीजस्ता न्यूनतम आधारभूत आवश्यकतामै केन्द्रित देखिन्छन्। सदरमुकाम रहेको नगरका ६, ७, ८ र ९ नम्बर वडा साबिक नगरपालिकामै थिए। १, २, ३, ४, १०, ११ र १२ वडा स्थानीय तह पुनर्संरचनामा थपिएका साबिकका गाउँ विकास समिति हुन्। पूर्वाधारका हिसाबले दुर्गम मानिने यी वडाका बासिन्दा अझै पनि खाने–लाउने समस्यासँगै जुधिरहेका छन्।

‘निजी र सामुदायिक विद्यालयबीच किन शैक्षिक कार्यक्रम र भौतिक अवस्थामा यति ठूलो खाडल छ,’ वडा नं. ५ कै युवक टीका पौडेलले मेयरसँग जिज्ञासा राखे, ‘शिक्षाजस्तो संवेदनशील र आधारभूत क्षेत्रमा नगरपालिकाले किन कम चासो दिएको हो ?’ मेयरका अघि समस्या सुनाएका वडा नं. ५ का ३० भन्दा बढी सर्वसाधारणले गाउँमा स्वास्थ्यसेवा सहज नभएको, लाखौं रुपैयाँ खर्चेर बनाएका सडकमा गाडी गुड्न नसकेको, विद्युत्का पोल र तार लथालिंग भइसक्दा पनि संरक्षणका लागि उचित पहल नभएको गुनासो सुनाए। ‘नगरपालिकामा हामीले पठाएका जनप्रतिनिधिले एकैपटक ह्वात्तै हामीमाथि करको बोझ त थपे तर सर्वसाधारणको कर तिर्ने क्षमताचाहिँ अध्ययन गरेनन्,’ स्थानीय बसन्ती लिम्बूले भनिन्, ‘१० लाख रुपैयाँको सम्पत्ति हुने मान्छेको ५ लाख रुपैयाँ ऋण छ भने त्यो सम्पत्ति १० लाखको हो कि ५ लाखको ?’

मेयर महेश बस्नेतले वडा नं. १ देखि ५ सम्म पुगेर स्थानीयका समस्या सुन्दै सुझाव लिएका छन्। नगरले सबै वडाका सर्वसाधारणसम्म पुगेर उनीहरूका समस्या र सुझाव सुन्ने कार्यक्रम बनाएको हो। कार्यक्रममा वडास्तरका जनप्रतिनिधि पनि सहभागी भइरहेका छन्। सर्वसाधारणले खेलमैदान, पानीको मुहान संरक्षण, बजार व्यवस्थापन, सरसफाइलगायत विषयमा पनि गुनासोका सुझाव राखिरहेको नगरले जनाएको छ।

मेयर बस्नेतले वडावडामा पुगेर सर्वसाधारणसँग छलफल गर्दा नगरका कामकारबाहीबारे सुझाव लिन पाएको बताए। ‘हामीले धेरै क्षेत्रका कामको प्रत्यक्ष अनुगमन गर्न पाएका छौं,’ उनले भने, ‘कतिपय कानुनी व्यवस्थाबारे सर्वसाधारणमा चेतना र बुझाइ कम भएको पनि पाइयो। हामीले अझै सर्वसाधारणलाई धेरै कुरा बुझाउन बाँकी नै छ।’

मेयर बस्नेतले नागरिकका आवश्यकता असीमित भए पनि सीमित साधन र स्रोतले काम गर्नुपर्दा सबैका चाहना पूरा गर्न नसकेको बताए। ‘नागरिकले त सबै काम स्थानीय सरकारले नै गर्ने हो भन्ने पनि बुझ्नुभएको छ,’ उनले भने, ‘तर स्थानीय सरकार पनि निश्चित अधिकार क्षेत्रमा रहेर काम गरिरहेको छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले गुनासो यहीं ठोक्किनु अन्यथा पनि होइन।’

नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले नगरका गतिविधिबाट नागरिकका आवश्यकता, चाहना कति पूरा हुँदैछन् भन्ने थाहा पाउन ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गरिएको बताए। ‘हुन त योजना तर्जुमादेखि कार्यान्वयनसम्ममा नागरिककै सहभागिता रहन्छ तर त्यसले मात्र सर्वसाधारणको आवश्यकता पूरा हुँदैन,’ उनले भने, ‘नगरले लागू गरेका कार्यक्रम कत्तिको प्रभावकारी छन्, नगरले सुधार गर्नुपर्ने पक्ष के छ भन्ने थाहा पाउन पनि यस्तो कार्यक्रम आवश्यक परेको हो।’ उनले सबै वडाका नागरिकसँग छलफल गरेपछि आएका सुझावअनुसार नगरले आफ्ना योजना, कार्यक्रममा सुधार गर्दै अघि बढ्ने उद्देश्य राखेको बताए।

प्रकाशित: १२ पुस २०७६ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App