coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

'लगानीको वातावरण बने लगानी बढाउन तयार'

काठमाडौं- उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बने आफुहरु लगानी बढाउन तयार रहेको बताएका छन्। बाग्लुङ उद्योग वाणिज्य संघले 'उज्यालो बाग्लुङ, समृद्ध बाग्लुङ’ नारा सहित आयोजना गरेको लगानी सम्मेलनमा उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बनेमा आफुहरु लगानी बढाउन तयार रहेको बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले रहरले मात्रै लगानी नगर्ने बताउँदै लगानीको प्रतिफलको कुरा आउँदा नीतिगत समस्याहरु देखिने गरेको बताए। उनले बाग्लुङ्मा कृषिसँग सम्बन्धित उद्योगको सम्भावना भएकोले त्यसका लागि लगानीको वातावरण निर्माण गर्न आग्रह गरे।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको क्षेत्रमा पनि बाग्लुङ सम्भावना भएको जिल्ला रहेको बताए। उनले पञ्चकोट र भैरवस्थानमा केबलकार सञ्चालनका लागि उपयुक्त हुने बताए। त्यस्तै उपाध्यक्ष ढकालले व्यवसाय सञ्चालनका लागि लगानीको सुरक्षा र त्यसबाट आउने प्रतिफलको सुनिश्चितता भएमा लगानी स्वतः बढ्ने बताए।

सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राष्ट्रिय पूँजी निर्माणबाट मात्रै देशको समृद्धि हुने बताए। त्यसका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै लगानीको वातावरण बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले लगानी बढाउनका लागि देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताए।

सम्मेलनमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीको नयाँ स्टोर बाग्लुङमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। उनले जिल्लामा लगानीको क्षेत्रहरु धेरै रहेको भन्दै ठूला उद्यमीहरु यस क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताए। त्यस्तै उद्योगी व्यवसायीहरुले जलविद्युत, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आफुहरु तयार रहेको बताएका छन्।

प्रकाशित: ११ पुस २०७६ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App