ब्रिसबेन- वर्षाका कारण ढिलो गरी सुरु भएको पहिलो दिवा–रात्री टेस्टको चौथो दिन शनिबार पाकिस्तानका भेट्रान ब्याट्सम्यान युनिस खानले रणनीतिक प्रदर्शन गरेपछि अस्ट्रेलियाले खेल जित्न पाँचौ दिन कुर्नु पर्ने भएको छ।
गाबामा चौथो दिनको खेल सकिँदा भ्रमणकारी टोलीले ८ विकेटको क्षतीमा ३ सय ८२ रन बनाएर खेलिरहेको छ। भ्रमणकारी टोली जितका लागी अझै १ सय ८ रनले पछि छ। शतक बनाएका असद सफिक १ सय रनमा अविजित छन्। १ सय ४० बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे। त्यस्तै यासिर शाह ४ रनमा अविजित छन्।
यसअघि ३९ वर्षे खानले अजहर अली र कप्तान मिसबाह उल हक पवेलियन फर्किएपछि पाकिस्तानको इनिङ सम्हाल्दै अस्ट्रेलियाका बलरलाई निराश बनाएका थिए।
टेस्ट करियरको १ सय १२ औ टेस्ट खेलिरहेका खानले ६५ रन बनाए। १ सय ४७ बल खलेका खानले स्पिनर नाथन लियोनको बलमा गलत सट खेल्दै स्टिभ स्मिथलाई क्याच दिनुअघि ७ चौका प्रहार गरेका थिए।
२ विकेटको क्षतीमा ७० रनबाट चौथो दिनको खेल सुरु गरेको भ्रमणकारी टोलीले मध्य सत्र सम्ममा ५ विकेटको क्षतीमा २ सय ५ रन बनाउदाँ अस्ट्रेलिया जितका लागी ५ विकेट टाढा थियो।
भ्रमणकारी टोलीको टेस्ट जोगाउने आशा मिसबाह र खानमा टिकेको थियो। तर मिसबाहले ज्याक्सन बर्डको बलमा विकेटकिपर म्याथ्यु वेडलाई क्याच दिएका थिए। ३४ बल खेलेका उनले ५ रन मात्र बनाउन सके। उनले पहिलो इनिङमा पनि ४ रनमात्र जोडेका थिए।
हावा हुरी र वर्षाका कारण डेढ घन्टा अवरुद्ध भएको खेल पुनः सुचारु भए लगत्तै मिचेल स्टार्कको बलमा अजहर अलीले विकेटकिपर वेडलाई क्याच दिएका थिए। १ सय ७९ बल खेलेका अजहर अलीले ९ चौकासहित ७१ रनको योगदान दिए। उनले तेस्रो विकेटका लागि खानसँग ९१ रनको साझेदारी गरेका थिए। अस्ट्रेलियाका स्कार्ट र बर्डले समान ३/३ तथा स्पिनर लियोनले २ विकेट लिए।
प्रकाशित: ४ पुस २०७३ ०७:४२ सोमबार