७ वैशाख २०८१ शुक्रबार
खेल

विभागीय टोलीको जित

दुहबी- नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले सुनसरीको दुहबीमा जारी सातौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा आइतबार जित हासिल गरेका छन्। प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा समूह 'क' मा पुलिसले सुदूर पश्चिमाञ्चलमाथि ३–० को सफल नतिजा निकाल्यो। पूरा समय खेलमा नियन्त्रण राखेको पुलिसका लागि पाँचौं मिनेटमै नीरु थापाले अग्रता दिलाएकी थिइन। यशोदा लामाले ३१ औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाल प्रहरीको विभागीय टोलीलाई पहिलो हाफमा २–० ले अघि बढाइन। दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै रुपा मगरले तेस्रो गोल गर्दै पुलिसको जित पक्का गरिन।

पुलिसका लागि पहिलो गोल गरेकी निरु थापा खेलको उत्कृष्ट खेलाडी घोषित भइन। समूह 'क' मा अघिल्लो दिन अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुआत गरिसकेको थियो। आइतबारको नतिजापछि पुलिस र एपिएफ समान तीन अंकका साथ सेमिफाइनलको बलियो हकदारका रुपमा प्रस्तुत भएका छन्।

आइतबारै समूह 'ख' अन्तर्गत भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मध्य पश्चिमाञ्चललाई ३–० कै नतिजामा निराश पार्‍यो। पुजा रानाले तेस्रो मिनेटमा अग्रता दिलाएको आर्मीका लागि भुजंगा राईले २४ औं मिनेटमा दोस्रो गोल गरिन। पहिलो हाफमा दुई गोलको अग्रता लिएको आर्मीका लागि ६८ औं मिनेटमा वैकल्पिक खेलाडी क्रान्ती आलेले अर्को गोल गर्दै जित पक्का पारिन। मध्यान्तरपछि सुस्मिता तामाङलाई स्थानान्तरण गर्दै क्रान्ती मैदान प्रवेश गरेकी थिइन। आर्मीकी मनिषा राउत उत्कृष्ट खेलाडी घोषित भइन।

प्रतियोगितामा सोमबार समूह 'क' मा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबसँग खेल्नेछ भने समूह 'ख' मा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ४ पुस २०७३ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App