८ वैशाख २०८१ शनिबार
समाज

अव्यवस्थित सडक ट्र्याकले झोलुंगेपुल जोखिममा

सडक खन्दा जोखिममा परेको झोलुंगे पुल । तस्बिर : नागरिक

गोरखा – गण्डकी गाउँपालिका–६ र बेनीघाट रोराङ गाउँपालिका–१० जोड्ने त्रिशूली नदीको झोलुंगे पुल अव्यवस्थित रूपमा खनिएको सडक ट्र्याकले जोखिममा परेको छ। पुलको गोरखातर्फ खनिएको कच्ची सडकले पुल अड्याइएको जिप र स्ल्याबमा समेत क्षति पुगेको हो।

‘पुल बनेको दुई वर्ष भयो, सडक खन्दा पुल झन्डै पहिरोसँगै बग्ने अवस्था थियो,’ थुम्काका स्थानीय वासु चेपाङले भने, ‘पहिले पुल बन्यो, त्यसपछि पुलको जिपमाथि सडक खनियो।’ पुल २०७४ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार कार्यक्रमअन्तर्गत सस्पेन्सन ब्रिजमार्फत निर्माण भएको हो। अधिकारी निर्माण सेवाले ६६ लाख रुपैयाँमा एक सय १३ मिटर लामो सो झोलुंगे पुल निर्माण गरेको थियो।

सिउरेनिटार, कौदीखोलादेखि फिस्लिङ जोड्ने पुल भएर खनिएको सडकमा सहज रूपमा सवारी चल्दैनन्। एक करोड ५० लाख खर्चेर खनिएको सडक अझै पूरा भएको छैन। पुलदेखि गाउँपालिका केन्द्र जोड्ने योजनासहित अर्को सडक खनिएको छ। गाउँपालिकाको १५ लाख रुपैयाँ लगानीमा सो सडक खनिएको हो। सो सडक भएर पैदल हिँड्न पनि गाह्रो भएको हिक्लुङ्की शर्मिला चेपाङले बताइन्। ‘सडक खनेपछि सजिलो हुन्छ, गाडी चल्छ भन्ने सोचेका थियौं,’ उनले भनिन्, ‘तर अहिले पैदल हिँड्दासमेत खुट्टा अडिँदैन।’

पैदल बाटो र पुल सडकका कारण जोखिममा परेको गुनासो स्थानीयको छ। भिरालो जमिन भएकाले सडक खन्न सहज छैन। एक्साभेटरले ट्र्याक खोल्दा पहिरोले पुलको गोरखातर्फ जिप पुरेको थियो। पुल खोतल्दा थप क्षति पुगेको स्थानीय बताउँछन्। सडक खन्दा झरेको ढुंगा र माटोका कारण दुई वर्षअघि बनेको पुल क्षतिग्रस्त छ।

तुइन विस्थापन गर्ने सरकारी योजनाअनुसार त्रिशूली नदीमाथि झोलुंगे पुल हालिएको थियो। पुल भएपछि गोरखातर्फ हिक्लुङ, थुम्कालगायत ठाउँका स्थानीयलाई राजमार्गसम्म आउन, तरकारी बिक्री गर्न र कामकाजमा समेत सहज भएको थियो। पुल पनि आवश्यक रहेको र सडकको ट्र्याक खन्ने विकल्प पनि नरहेकाले समस्या भएको गण्डकी गाउँपालिका–६ का अध्यक्ष जीवन गुरुङ बताउँछन्। ‘बजेट अभावमा सडक राम्रो बन्न नसकेको हो,’ उनले भने, ‘गाउँपालिकाको केन्द्र जोड्ने सडक र पुल दुवै उत्तिकै आवश्यक छ, हामी पुल जोगाएर सडक निर्माण गर्ने योजनामा छौं।’

प्रकाशित: ११ पुस २०७६ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App