७ वैशाख २०८१ शुक्रबार
अर्थ

आजदेखि छैटौं बागलुङ महोत्सव

बागलुङ - बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि छैटौं बागलुङ महोत्सव सुरु हुँदै छ। प्रत्येक दुई–दुई वर्षमा सञ्चालन हुँदै आएको बागलुङ महोत्सव यस वर्ष पुस ११ देखि २० गतेसम्म सञ्चालन हुने भएको हो। बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार–व्यवसाय प्रवद्र्धन गर्न महोत्सव गरिँदै आएको छ।

महोत्सवको अवसरमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमसँगै सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेछ। पुरुष भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, भजन प्रतियोगिता, खुला लोकनृत्य प्रतियोगितालगायतका प्रतियोगिताको आयोजना गरिएको छ। यस वर्ष नयाँ कार्यक्रमको रूपमा प्याराग्लाइडिङ र ताराखेल (आर्चरी) प्रतियोगिताको आयोजना गरिएको छ।

यो वर्षको महोत्सव बहुउद्देश्यीय रहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए। ‘यो वर्ष हामीले महोत्सवबाट धेरै कार्यक्रम गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘जति धेरै आम्दानी गर्न सक्यो त्यति हाम्रा सामाजिक काम अगाडि बढ्ने भएकाले त्यही अनुसारको तयारीमा लागेका छौं।’ महोत्सवमा करिब एक करोड ५१ लाख रुपैयाँ आम्दानी र एक करोड २१ लाख खर्च हुने अनुमान गरिएको छ। महोत्सवबाट आम्दानी भएको रकमले बागलुङको पर्यटन, व्यवसायलगायत अन्य विकासका काममा सहयोग गर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए।

‘हामीले यो महोत्सवबाट गरिब विपन्न विद्यार्थीका लागि धौलागिरि क्याम्पसमा पाँच लाखबराबरको अक्षयकोष स्थापना गर्छौं,’ राजभण्डारीले भने, ‘हरेक वर्ष आर्थिक क्षेत्रमा कमल चलाउने दुई जना पत्रकार पुरस्कृत गर्नेगरी दुई लाख २२ हजारको अक्षयकोष पनि निर्माण गर्नेछौं।’ मेलामा दुई सयभन्दा बढी स्टल बुकिङ भइसकेको छ। बागलुङमा उत्पादित सुन्तला तथा अन्य स्थानीय उत्पादनको प्रवद्र्धन र बिक्रीवितरणका लागि २० वटा स्टल निर्धारण गरिएको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले बताए।

महोत्सवबाट हुने आम्दानीले बागलुङ बजारमा सिसी टिभी मर्मत तथा जडानलगायत काम गर्ने पनि उनको भनाइ छ। महासचिव कँडेलले अंग्रेजी नयाँ वर्ष मनाउन अन्य ठाउँमा जाने बागलुङ, म्याग्दी र पर्वतका नागरिकलाई बागलुङमै तान्न सकिने उल्लेख गरे।

‘अघिल्लो महोत्सवमा पनि नयाँ वर्ष मनाउन पोखरा जाने धौलागिरिका ५० प्रतिशत युवायुवतीलाई हामीले यहीँ रोक्न सफल भएका थियौं,’ उनले भने, ‘यसपटक भिजिट नेपालको सुरुवात पनि हामीले त्यही मञ्चबाट नयाँ वर्षको स्वागतसँगै गर्नेछौं।’

यसपटक महोत्सवमा बिक्री हुने टिकटबाट एक टिकटबराबर रुपैयाँका दरले मानव सेवा आश्रम बागलुङलाई सहयोग गर्ने उद्योग वाणिज्य संघका कोषाध्यक्ष श्रीजय श्रेष्ठले बताए। ‘हामी यसपटक महोत्सवलाई बहुआयामिक बनाउन खोजिरहेका छौं,’ कोषाध्यक्ष श्रेष्ठले भने।’ महोत्सवमा प्रवेशका लागि ८० रुपैयाँको टिकट निर्धारण गरिएको छ।

प्रकाशित: ११ पुस २०७६ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App