७ वैशाख २०८१ शुक्रबार
अर्थ

चार वर्षमा ८३ प्रतिशत प्रगति

काठमाडौं  - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा पुनर्निर्माण क्षेत्रमा ८३ प्रतिशत प्रगति गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले चार वर्षमा पुनर्निर्माणको ६ क्षेत्रमा औसत ८३ प्रतिशत उपलब्धि हात पारेको बताएका छन्। ‘भूकम्पपछिको चार वर्षमा सन्तोषजनक उपलब्धि हात पारेका छौं,’ उनले भने, ‘आगामी आर्थिक वर्षभित्र पुनर्निर्माण र पुनस्र्थापनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’

सिइओ ज्ञवालीले २०७२ को भूकम्पले क्षतिग्रस्त भवन निर्माण तथा पुनस्र्थापना कार्यले गति लिएको दाबी गरे। ‘अहिले पुनर्निर्माण कार्यले गति लिएको छ,’ उनले भने, ‘अबको एक वर्षभित्र अधिंकाश पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका सात लाख ८० हजार एक सय ६५ मध्ये हालसम्म चार लाख ८२ हजारले घर बनाइसकेका छन्। यो अनुदान सम्झौता गरेका लाभग्राहीको ६२ प्रतिशत हो। २०७२ को महाभूकम्पले आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो।

उक्त भूकम्पले ३२ जिल्लामा असर पारेको थियो। भूकम्पको कारण सात खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ। भूकम्पले क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार तीन सय ८० (७१ प्रतिशत)को पुनर्निर्माण सकिएको प्राधिकरणले जनाएको छ। प्रमुख ज्ञवालीले भूकम्पबाट तहसनहस संरचनालाई सुरक्षित र आकर्षक रुपमा बनेका संरचनाले प्रतिस्पथापन गरिरहेको बताए।

‘कहालीलाग्दो क्षणबाट गुज्रिएका थियौं। अहिले उक्त घाउलाई पुनर्निर्माणमार्फत मलम लगाउने काम गरिरहेका छौं,’ ज्ञवालीले भने। प्राधिकरणका अनुसार एक हजार सात सय ८७ विद्यालय भवन निर्माणको काम भइरहेको छ। ३२ जिल्लाका भूकम्पले क्षतिग्रस्त आठ सय ९१ सम्पदामध्ये तीन सय ८७ को पुनर्निर्माणको सम्पन्न भइसकेको छ। एक सय २३ सम्पदा पुनर्निर्माणको क्रममा छन्। प्राधिकरणका अनुसार स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तुपा, पाटनको कृष्ण मन्दिर, हनुमानढोकाको गद्दी बैठक, साँखुको बज्रयोगिनी, प्रसूती गृह, वीर अस्पताल, नेपाली सेनाको जंगीअड्डा लगायतको पुनर्निर्माण सम्पन्न भइसकेको छ।

धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरबार, नुवाकोट दरबार, सिंहदरबार (उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग), दरबार हाइस्कुल जस्ता मुख्य संरचनाको पुनर्निर्माण भइरहेको छ। यस्तै, गुम्बा पुनर्निर्माण कार्य अघि बढाइएको प्राधिकरणले जनायो। भूकम्पले क्षतिग्रस्त ११ सय ९७ मध्ये ६ सय ६५ स्वास्थ्य संस्थाको भवन निर्माण सकिएको छ। पूर्ण र आंशिक रुपमा क्षतिग्रस्त चार सय १५ सरकारी भवनमध्ये तीन सय ५९ को पुनर्निर्माण सकिएको छ। ४९ वटा सरकारी भवनको निर्माण जारी छ। प्राधिकरणका अनुसार भूकम्पले भत्किएका एक सय ८३ सुरक्षा निकायको भवन निर्माण सकिएको छ। त्यसैगरी, ३२ वटा सरकारी कार्यालयको भवन निर्माण भइरहेको छ।

एकीकृत वस्ती निर्माणमा ढिलासुस्ती
एकीकृत बस्ती बसाल्ने कामको गति भने अपेक्षाकृत न्यून देखिएको छ। प्राधिकरणले ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भइसकेको जनाएको छ। तर हालसम्म तीनवटा मात्रै एकीकृत बस्ती बसाल्ने काम भएको छ। अहिले २२ वटा एकीकृत बस्ती बसाल्ने काम भइरहेको प्राधिकरणले जनायो। प्राधिकरणले भूकम्पपछि असुरिक्षत स्थानमा रहेका लाभग्राहीमध्ये चार हजार दुई सय चारलाई सुरक्षित बस्तीका लागि जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाइएको छ। आठ हजार सय सय ४४ भूमिहीन तथा सुकुम्बासीलाई जग्गा खरिद र व्यवस्थापन गरिएको छ।

प्राधिकरणले विपन्न वर्गको निजी आवास पुनर्निर्माणका लागि ५० हजार थप अनुदान सहित करिब एक हजार घुम्ती डकर्मी र सामाजिक परिचालक परिचालन गर्ने जनाएको छ। सहरी क्षेत्रका निजी आवास तथा पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि विश्व सम्पदा क्षेत्र र परम्परागत बस्तीको गुरुयोजना तयारीसहित विशेष योजना अघि सारेको छ।

तीन खर्ब खर्च, अझै त्यति आवश्यक
ायबाट दुई अर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ गरी तीन खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। पुनर्निर्माण सम्पन्न गर्न अझै त्यत्ति रकम आवश्यक पर्ने प्राधिकरण प्रमुखले बताए।

‘पुनर्निर्माण तथा पुनस्र्थापनाका क्षेत्रमा काम गर्दै गर्दा अहिले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्छ भन्ने मान्यता स्थापित भएको छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘विपद्को जोखिममा रहेको मुलुकको लागि यो निकै महत्वपूर्ण उपलब्धि हो।’

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका बाँकी काम सक्न करिब तीन खर्ब रुपैयाँ आवश्यक पर्ने बताए। ‘पुनर्निर्माणका अधुरा काम सम्पन्न गर्न तीन खर्बभन्दा धेरै रकम आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘त्यसको लागि दातृ निकायसँग समन्वय गरिरहेका छौं।’

प्रकाशित: ११ पुस २०७६ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App