इटहरी – जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्ध प्रहरीले २५ दिने अनुस बिहीबार सरकारी वकिल कार्यालयमार्फत सुनसरी जिल्ला अदालतमा अभियोग–पत्र दर्ता गराएको छ। अभियोग–पत्रमा गिरीलाई जबरजस्ती करणीमा संलग्न रहेको दाबीसहित कारबाही तथा पीडितलाई क्षतिपूर्ति माग गरिएको छ।
अभियोग–पत्रमा गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ को (ङ) बमोजिम कसुर पुष्टि भएकाले त्यही ऐनअनुसार जबरजस्ती करणीमा कारबाही गर्न माग गरिएको छ। यो ऐन २१९ को ३ (ङ) बमोजिम १८ वर्षमाथिकी महिलामाथि जबरजस्ती करणी भएको घटनामा सातदेखि १० वर्षसम्म कैद हुने उल्लेख छ। अभियोगपत्रमै मुलुकी अपराध संहिता २०७४ को दफा २२८ बमोजिम पीडितको शारीरिक र मानसिक क्षति भएकाले गिरीबाटै मनासिव क्षतिपूर्ति पनि दिलाउन माग गरिएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले बताए।
गिरीले जबरजस्ती करणी गरेर गल्ती गरेको स्वीकारेको टेलिफोन अडियो रेकर्ड नै मुख्य प्रमाण भएको निरौलाले बताए। पीडित महिलासँग गल्ती भएको स्वीकार गर्दै गिरीले रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको अडियो सार्वजनिक भएकोमा उनले सुरुमा सो अडियो आफ्नो नभएको दाबी गरेका थिए। तर प्रहरीको विधि–विज्ञान प्रयोगशालाको डिजिटल ल्याबमा अडियो परीक्षण गर्दा गिरीको आवाजसँग ७६ प्रतिशत मिलेको पाइएको छ।
अभियोग–पत्र दर्ता भएसँगै शुक्रबार अदालतले गिरीको बयान लिने र थुनछेकका लागि बहस हुनेछ। यसअघि अदालतले गिरीको मुद्दामा प्रहरी अनुसन्धानका लागि पाँच पटकसम्म म्याद थप गरेको थियो।
बराहक्षेत्रलाई धार्मिक तीर्थस्थलको रूपमा विकास गर्दै हरित क्रान्ति, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडिबुटी प्रशोधन र उत्पादन गर्ने नाममा चतरामा आश्रम बनाई बस्दै आएका गिरीले कात्तिक ४ गते काठमाडौं बस्दै आएकी एक अनुयायीलाई आश्रममा बोलाएर जबरजस्ती करणी गरेको अभियोग लागेको छ। २० पृष्ठको अभियोग–पत्रमा ‘गिरीले अनुयायी महिलालाई आफ्नो कोठामा बोलाएर धाक–धम्की देखाएर थप्पड हानी बोल्नसमेत नदिई उचालेर सोफामा राखी जबरजस्ती करणी गरेको,’ उल्लेख छ।
डर–त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबरजस्ती करणी गरिन्छ भने त्यसलाई बलात्कार मानिन्छ। बलात्कार गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ।
गिरीविरुद्ध सुनसरी प्रहरीमा उजुरी परेपछि पक्राउ पर्ने सुइँको पाउनसाथ गिरी विराट नर्सिङ होम विराटनगरको आइसियुमा भर्ना भएका थिए। पक्राउ गरेर अदालतमा पेस गरेदेखि पाँचपटक म्याद थप्दासमेत उनी अस्पतालकै आइसियुमा बसेका थिए। आफू बाल ब्रह्मचारी रहेको बताउँदै आए पनि गिरीले दैनिक रूपमा यौनबद्र्धक जडीबुटी, औषधि दूधसँग सेवन गर्दैै आएको आश्रम स्रोतले बतायो।
गिरीले महिलामाथि बलात्कार गरेपछि सुरुमा काठमाडौं प्रहरी परिसरमा उजुरी दिन जाँदा प्रहरीले लिन अस्वीकार गरेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान (सिआइभी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको थियो।
जबरजस्ती करणीसम्बन्धी घटनामा सिद्धबाबाको नाम जोडिएको यो पहिलो घटना भने होइन। उनले डेढ वर्षअघि इटहरी बालग्रामका दुई बालिकालाई पठनपाठनको व्यवस्था मिलाई दिने भनी अभिभावकको स्वीकृतिमा आश्रममा लगेका थिए। तर ती बालिका चतरा लगिएको केही महिनापाछि आश्रममा बस्न मानेनन्।
आश्रम सञ्चालक समितिका पदाधिकारीसँग बालिकाकी आमाले असुरक्षाका कारण बस्न छोरीहरूले नमानेको गुनासो गरिन्। त्यसपछि सञ्चालक समितिका पदाधिकारीसँग गिरीले भारतमा लगेर पठाए आफूले सहयोग गर्ने वचन दिए। गिरीकै योजनाअनुसार ती बालिकालाई पढाउन भारत लगियो। तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको सहयोगमा ती बालिकालाई पढाउन भन्दै रातारात भारत पठाइएको थियो। हाल ती बालिका कहाँ, कुन अवस्थामा छन्, सम्पर्कमा छैनन्।
प्रकाशित: ११ पुस २०७६ ०३:०१ शुक्रबार