१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषधले चिन्ता र अपराध बढ्दै

धनगढी – सुदूरपश्चिमको धनगढी र वरपरका क्षेत्रमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढिरहेको छ। लागुऔषधको कारोबार गर्ने गिरोहले सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागुपदार्थ ल्याएर स्थानीय किशोरकिशोरी र युवायुवतीलाई बिक्री गर्ने गरेका छन्। कतिपय दुव्र्यसनी स्वयं सीमापारिका बजारमा गएर लागुपदार्थ प्रयोग गर्ने र बोकेर समेत आउने गरेका छन्।

लागुपदार्थको कारोबारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरूको संलग्नता रहेको पाइन्छ। लागुपदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने किशोरकिशोरीदेखि कलेज पढ्ने युवालाई लतमा पारेर बिक्री गर्ने गरेका छन्। ‘कैलालीमा लागुपदार्थको प्रयोग बढ्दो रहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख दक्षबहादुर बस्नेतले भने, ‘लागुपदार्थको कारोबार गर्नेहरू ठुलो संख्यामा पक्राउ परिरहेका छन्।’

विशेषगरी भारतका सीमावर्ती सहरबाट ब्राउन–सुगरलगायत बोकेर ल्याउँदै गर्दा लागुपदार्थका कारोबारी तथा दुव्र्यसनीहरू पक्राउ पर्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा अहिले लागुपदार्थको कारोबार र प्रयोग गरेको आरोपमा पक्राउ परेका ३८ जना रहेका छन्। पक्राउ परेकालाई तीन महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ। सामान्य लागुपदार्थ प्रयोग गर्नेलाई पक्राउ गरेर पुनःस्थापना केन्द्रमा राख्न भनेर अभिभावकलाई बुझाउने गरेको प्रहरी प्रमुख बस्नेतको भनाइ छ। हिरासतमा रहेका ३८ जना मुघा चलाउनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएका हुन्। ‘हिरासतमा रहेका ३८ जना लागुपदार्थको कारोबारी र विशेष हुन्,’ उनले भने, ‘सामान्य प्रयोगकर्तालाई हामीले सम्झाई–बुझाई अभिभावकको जिम्मा दिने गरेका छौं।’

कैलाली र कञ्चनपुरमा खुला सिमानाका कारण सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागुपदार्थ ल्याउन सजिलो छ। लागुपदार्थको खुला प्रयोगले विद्यालय पढ्नेदेखि कलेजका विद्यार्थी र युवाहरू दुव्र्यसनीमा फसेर बर्बाद हुने गरेका छन्। विद्यार्थीहरू विद्यालय पोशाकमै लागुपदार्थ प्रयोग गर्दैगरेको अवस्थामा भेटिने गरेको स्थानीय बताउँछन्। प्रहरीले लागुपदार्थ प्रयोग गर्ने र बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने गिराहका मुुख्य व्यक्तिलाई हालसम्म पक्राउ पर्न सकेका छैनन्। लागुऔषधको कारोबारसम्बन्धी जानकार एक युवाले भने, ‘कारोबार गर्ने गिरोहका मुख्य व्यक्तिलाई पक्राउ नगरेसम्म भयावह रूपमा बढिरहेको लागुऔषधको प्रयोग कम हुने देखिँदैन।’

भुसको आगोजस्तै डरलाग्दो गरी लागुऔषधको समस्या सबै किशोरकिशोरी र युवाहरूमा फैलिरहेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्। ‘लागुऔषधको बढ्दो प्रयोगले युवापुस्ता बर्बाद हुँदै गएको छ। यो नियन्त्रण गर्न नसक्नु समाज र हाम्रा सन्तानका लागि ठुलो चिन्ताको विषय बनेको छ,’ स्थानीय शिक्षक गणेश नेपालीले भने। लागुपदार्थ प्रयोग गर्ने र कारोबार गर्ने युवकमात्र नभई युवतीसमेत रहेका छन्।

पक्राउ परेकामध्ये अधिकतरसँग ब्राउन–सुगर फेला पर्ने गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। २०७४/०७५ मा एक सय आठजना पक्राउ परेकोमा ७१ जनामाथि मुद्दा परेको थियो। यसैगरी २०७५/०७६ मा एक सय २७ पक्राउ परेकोमा ८७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। यस आर्थिक वर्षमा अहिलेसम्म ६९ जना पक्राउ परेकोमा ४७ जनामाथि मुद्दा दर्ता भएको छ। सबैभन्दा बढी ब्राउन–सुगर, त्यसपछि नाइट्रोभेट, चरेस, कोरेक्स, स्पास्मीलगायत लागुपदार्थसहित पक्राउ परेको उनले बताए।

लागुऔषध प्रयोग गर्ने युवाहरूकै कारण हत्या, लुटपाट, चोरी, डकैतीजस्ता अपराधका घटना बढ्दै गएका छन्। यहाँ हुने लुटपाट, चोरी, डकैतीलगायत प्रायः घटनामा लागुपदार्थ प्रयोगकर्ता संलग्न रहने गरेको प्रहरीको भनाइ छ। आफ्नो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरू जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने गरेको प्रहरीले बताएको छ।
अभिभावकले पनि छोराछोरीलाई निगरानी नगर्ने र खुला छोडिदिनाले पनि लागुऔषधको दुव्र्यसन बढ्दै गएको जानकारहरू बताउँछन्।

‘एक पटक पक्राउ गरेर छुटेकाहरू पनि सुध्रिने नभई पुनः लागुऔषधको दुव्र्यसनमै लागेको पाइएको छ,’ प्रहरी नायव उपरीक्षक बस्नेतले भने, ‘अभिभावकको लापरबाहीले पनि लागुपदार्थ प्रयोग गर्नेको संख्या बढ्दो छ।’

यसैगरी, प्रत्येक अभिभावकले आफ्ना छोराछोरीप्रति निगरानी नराख्नाले उनीहरू लयैलयमा लागेर लागुऔषध दुव्र्यसनको दलदलमा फस्ने गरेका छन्। एकिन तथ्यांक नभए पनि लागुऔषधको दुव्र्यसनको धेरैको अकालमै ज्यान गइसकेको छ भने कयौंको जीवन बर्बाद भएको छ। इन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशी लागुपदार्थको दुव्र्यसनी भयावह रूपमा बढ्दै गएको बताउँछन्। ‘लागुऔषधको बढ्दो प्रयोग समाज र हामी सबैका लागि ठुलो चुनौती र चिन्ताको विषय बनिसकेको छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न गम्भीर भएर लाग्नु जरुरी छ।’

लागुऔषधले युवापुस्ता बर्बाद भइरहेको र कयौंको अकालमै ज्यान गइरहेको उनी बताउँछन्। ‘हत्या, लुटपाट र चोरीलगायत अपराधका घटना बढिरहेका छन्’ उनले भने, ‘लागुऔषधको यो भयावह रूप राज्यका लागि पनि चुनौती हो।’ विद्यालयमा र परिवारमा जनचेतनाका कार्यक्रम लागु गर्नुपर्ने र अभिभावकले पनि आफ्ना छोराछोरीको उठबसलाई ध्यान दिनुपर्ने उनको भनाइ छ। खुला सीमाबाट व्यापक रूपमा लागुपदार्थ भित्रिरहेकोले प्रहरीले सिमामा विशेष निगरानी राख्नुपर्ने उनको सुझाव छ।

गत वर्ष कात्तिक अन्तिममा धनगढीमा प्रदेश प्रमुखको कार्यालयअगाडि कलश होटेल रहेको घरमा ब्राउन–सुगरको डोज नपुगेपछि आपसमा विवाद हुँदा दीपक थापाको ज्यान गएको थियो। टाउकोमा चोट लागेर रक्ताम्य अवस्थामा रहेका थापालाई मूल सडकमा रहेको उक्त घरबाट घिसार्दै सडकमा लगिरहेका बेला उत्तरबेहडीकै आशिष सेठी पक्राउ परेका थिए। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्। लागुपदार्थको कारोबार गर्ने कतिपय व्यक्तिले पहुँचका आधारमा छुट पाएको स्थानीय बताउँछन्। लागुपदार्थमा संलग्न युवाहरूका लागि सर्वसधारणलाई सडकमा हिँड्न पनि असुरक्षा भएको छ।

दुई साताअघि कञ्चनपुर महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्त बिहीबार बुबासँगै मोटरसाइकलमा महेन्द्रनगर आइरहेका थिए। उनले केही गल्ती नै गरेका थिएनन्। महेन्द्रनगरनजिकै भीमदत्त पन्त नगरपालिका–१८ गौवरैयामा ओभरटेक गरेको भन्दै चार–पाँचजनाको समूहले कुटपिट र छुरा प्रहार गरी हत्या गरेका थिए। वरिपरि बस्ती र मान्छेको चहलपहलको कुनै बेवास्ता नगरी कुटपिट गरिरहेका युवाको मन छोराको ज्यानको भिक मागिरहेका बुबाको हजार बिन्ती र दारुणिक अवस्थाले पनि पगालेन।

लागुऔषधको दुव्र्यसनीकै कारण दिनदहाडै पूर्वरिसइबी, विवाद वा अन्य कुनै खास कारणबिनै सामान्य निहुँमा चारजना मिलेर ती युवाको हत्या गरेको बुझिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर चन्दले बताए। ‘दुव्र्यसनीमा फसेका युवा नसामा लठ्ट भएर जे गर्न पनि तयार हुन्छन्, सामान्य कुरालाई लिएर हत्या गर्नसम्म तयार भए,’ प्रहरी नायव उपरीक्षक चन्दले भने। ती युवाको हत्या गर्ने चारजना लागुऔषध क्यारिङ गर्ने, प्रयोग गर्ने समूहका भएको उनको भनाइ छ।

यसैगरी, गत माघ पहिलो साता सुदूरपश्चिमको स्थायी राजधानी घोषणा गरिएको अत्तरियामा मान्छेको चहलपहलका बीच बाटोमा हिँडिरहेका चारजना युवालाई लागुऔषध प्रयोग गर्ने बिनोद ऐरलगायतको समूहले चक्कु प्रहार ग¥यो। चक्कु प्रहारबाट गोदावरी नगरपालिका–१ का १९ वर्षीय अरुण भट्टको मृत्यु भयो भने तीनजना घाइते भए। सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट घर फर्किरहेका बेला साँझ ६ बजेतिर सशस्त्र प्रहरीको बाहिनीनजिकै हिँडिरहेका बेला अन्धाधुन्ध उनीहरूमाथि चक्कु प्रहार गरेका थिए।

चहलपहलकै बीच सडकमा मान्छेको भिडबीच चक्कु हानेर हत्या गर्ने घटनाको कारण पनि लागुपदार्थको प्रयोग रहेको प्रहरीले बताएको छ।

ऐरलगायत युवाको समूह पनि लागुऔषध दुव्र्यसनी गर्ने रहेको र उनीहरू पक्राउ नपरेको भए अन्य खतरनाक घटनामा संलग्न हुन सक्ने बुझिएको तत्कालीन कैलाली जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए।

‘लागुपदार्थको बढ्दो प्रयोगले असुरक्षा र अपराध बढ्दै गएको पाइन्छ,’ प्रहरी नायव उपरीक्षक चन्द भन्छन्, ‘लागुपदार्थ प्रयोगकर्ता आफ्नो लागेको लत पूरा गर्न लागुऔषध किन्ने पैसाका लागि जस्तोसुकै अपराध गर्न पनि तयार हुन्छन्।’

प्रकाशित: ११ पुस २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App