coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ढोर लामा गाउँमा होमस्टे

ढोर लामा गाउँ आउने पाहुनालाई स्वागत गर्न बनाइएको अतिथी गृह। तस्बिर: विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)- उत्तरमा सेतै टल्किएका हिमालको लर्कन। चारैतिर तरेली परेका पहाडको मनमोहक दृश्य देखिन्छ फिरफिरे ढोर लामा गाउँबाट। यो गाउँले कला, संस्कृती र प्रकृतीको वरदान पाएको छ।

तनहुँ र स्याङजालाई जोड्ने मिलेनियम ट्रेक अन्तर्गत पर्ने भएकाले गाउँ हुदैँ स्वदेशी विदेशी पर्यटक आउजाउ गरिरहन्छन्। पर्यटनको माध्यमबाट अर्थोपार्जन गरी गाउँको मुहार फेर्ने लक्ष्यका साथ यहाँ होमस्टे सञ्चालनमा ल्याईएको छ। गुरुङ समुदायको बाहुल रहेको गाउँका पहिलो चरणमा १६ घरमा होमस्टे सञ्चालन गरिएको हो। महिलाहरुले होमस्टे सञ्चालन गरेका हुन्।

४५ जना पाहुनालाई बास दिन सक्ने होमस्टे व्यवस्थापन समिति अध्यक्ष उमा गुरुङले जानकारी दिईन्। उनका अनुसार होमस्टे सञ्चालन गरिएका प्रत्येक घरमा पाहुना राख्न दुईवटा कोठा बनाईएको छ। ‘शौचालय र धारा आँगनमै छ’, उनी भन्छिन्, ‘घर वरपर सफा राख्ने गर्दछौँ। आनीबानीमा परिवर्तन भएको छ।’

‘गाउँमा पहिलेदेखि नै पाहुना आइरहन्थे’, उनले भनिन्, ‘बास बस्न छिमेकी घरेडी गाउँ जान्थ्ये। पाहुनालाई सुविधा पनि हुने। हामीले आम्दानी पनि गर्न सकिने, त्यसैले होमस्टे सञ्चालनमा ल्याएका हौँ।’

उनले पाहुनालाई अर्गानिक खान्की खुवाउने गरेको जनाईन्। ‘स्थानीय उत्पादन कोदोको सेल रोटी, भुटेको मकै, भटमास पाहुनालाई चखाउँछौँ’, गुरुङको भनाइ छ। होमस्टे चलाएपछि कृषी उत्पादनमा जोड दिएको उनले बताईन्।

होमस्टे सञ्चालनमा आएपछि हराउँदै गएको यहाँको मौलिक सोरठि, घाटु, झोर्रा, सालैजो, ठाडोभाका, कौराहा लगायतको मौलिक गीत र नृत्यको संरक्षण थालेको गुरुङ बताउँछिन्। ‘बुढापाकासंग सिक्न थालेका छौँ’, उनले भनिन्।

सामुन्द्रिक सतहदेखि एक हजार २ सय ५० मिटर उचाईमा रहेको ढोर लामा गाउँबाट धौलागिरी, माछापुछ्रे लगायतका हिमश्रृंखला देखिन्छ। झन् सूर्योदय र सूर्यास्तको दृश्यले मन लोभ्याउँछ।
यो होमस्टेसम्म पुग्ने पर्यटकले मुक्तिनाथको झल्को दिने शुक्लाण्डकी मुक्तिनाथ च्यवनधाम, पवित्र सेती नदी किनारमा पानीको वहावले कुँदेको रक गार्डेन, प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर, ऐतिहासिक ढोरमुलकोट दरबार घुम्ने अवसर प्राप्त गर्छन्।  

नजिकै घरेडी गाउँ पर्दछ। यो गाउँको पुछारमा मिलेनियम गुफा छ। ढोर लामा गाउँबाट एक घण्टाको पैदलयात्रामा पुगिने गुफाभित्रको झरनाले  पर्यटकको मन जित्छ। झरनाको पानी कहिल्यै घटबढ हुदैँन। सधै एकनासले बगिरहन्छ।

ऐतिहासिक ढोर दरबार र गुफाका कारण यहाँ पर्यटनको सम्भावना छ। पर्यटक भित्र्याउन ‘जाउ है फिरफिरे’ अभियान सूरु गर्न लागिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । ‘पर्यटनको सम्भावना अति नै छ। हामी प्रचारप्रसारमा लागेका छौँ’, उनले भने।  होमस्टे दुलेगौँडा बजारदेखि १३ किलोमिटरको दूरीमा छ। फिरफिरे पुग्ने सबै सडकको स्तरोन्नती भईरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘सहज सडक भएमा पर्यटक आउन रुचाउँछन्। त्यसैले सडकको स्तरोन्नतीलाई प्राथमिकतामा राखेका छौँ।’ होमस्टेले गाउँको बसाइसराईलाई रोक्ने अध्यक्ष गुरुङको विश्वास छ।

अतिथी गृहमा हलो, जुवा, ठेकी, मदानी, नाङलो, स्याखु, डोको, नाम्लो, डालो लगायत राखिएको छ। १३ लाख ५० हजार रुपैयाँमा अतिथि गृह निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ, शुक्लागण्डकी नगरपालिकाले १ लाख रुपैयाँ अनुदान दिएको थियो। गाउँले दुई लाख ५० हजार बराबरको जनश्रमदान गरेको उनले जनाइन्।

 

 

प्रकाशित: १० पुस २०७६ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App