८ वैशाख २०८१ शनिबार
समाज

भवन बनेपनि सञ्चालन भएन बर्थिङ सेन्टर

जिल्लाको दुर्गम गाउँ गुम्देलमा हालै निर्माण सम्पन्न गरी सञ्चालनमा आउन नसकेको बर्थिङ सेन्टर।

रामेछाप- जिल्लाको अत्यन्तै दुर्गम मानिने उमाकुण्ड गाउँपालिका १ गुम्देलमा दाताको सहयोगमा ३ महिने पहिले निर्माण सम्पन्न भएको बर्थिङ सेन्टरम अझै पनि प्रसुति सेवा भने सञ्चालन हुन सकेको छैन। प्रसुति सेवा सञ्चालनका लागि  आवश्कयक पर्ने स्वास्थ्यकर्मीको उपलब्धता  नहुँदा सेवा सञ्चालन हुन नसकेको हो। बाहिरबाट झट्ट हेर्दा आकर्षक देखिने बर्थिङ सेन्टरमा भित्र आवश्यक पर्ने उपकरणसमेत उपलब्ध हुन सकेको छैन।

बर्थिङ सेन्टर बनेपछि गाउँमा सहज सेवा पाइएला र प्रसुतिमा लाग्ने ठूलो खर्च बच्ने भयो भनेर खुसीमा थिए तर महिलाले त्यो खुसीको महशुस नै गर्न पाएनन् स्थानीय शिक्षिका सचि कार्की बस्नेतले बताइन्। गाउँमा बर्थिङ सेन्टर छ, सेवा छैन भन्दा पनि आफैमा लाज मर्नु विषय बनिसक्यो शिक्षिकाले भनिन्। महिलाहरुले अझै पनि प्रसुतिका लागि जोखिम मोल्नु पर्ने अवस्था छ। गाउमा बर्थिङ सेन्टर बनेको छ तर गाउँका प्राय गर्भवती महिला सुत्केरी हुन ठूलो धन खर्चर गरेर हेलिकप्टर चार्टर गरी बाहिर जानु पर्ने बाध्यता अझै हट्न नसकेको गुम्देलका वडाध्यक्ष नोर्बु शेर्पाले बताए।

गाउँमा एकपटक हेलिकप्टर चार्टर गर्दा १ लाख रुपैयाँदेखि १ लाख ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने स्थानीयको बाध्यता अझै घट्न सकेको छैन। गाउँमा जोखिम हुने र अप्ठ्यारो परेमा बढी खर्च लाग्ने डरले पछिल्लो समयमा त धेरैजसो महिलाहरु सुत्केरी हुनु पहिले नै गाउँ छाडेर सहरसमेत पस्ने गरेको स्थानीय ङापेम्बा शेर्पाले बताए।

सोलु नाम्चे निवासी बुद्धीमाया शेर्पाले आफ्ना अष्ट्रियन साथीहरुबाट संकलन गरेको ५८ लाख रकमको लागतमा बर्थिङ सेन्टर निर्माण गरिएको हो। निर्माणका लागि नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठले संयोजनकारी भूमिका निर्वाह गरेका थिए। जिल्लाको दुर्गम गाउँ गुम्देलमा निर्माण सम्पन्न बर्थिङ सेन्टर जतिसक्दो चाडो प्रभावकारी रुपमा संचालन गर्ने तयारीमा म गम्भीर बनेको छु, अबको केही समयमा नै सञ्चालनमा आउछ उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए। पालिकामा स्वास्थ्यकर्मीहरु त आउछन्, दुर्गम भनेर गुम्देल जानै मान्दैनन् र गएका पनि टिक्दैनन् सुनुवारले बताए। उनले भने अब कर्मचारीलाई तलबका साथसाथै थप प्रोत्सहनकोसमेत व्यवस्था गरेर दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने तयारीमा आफू रहेको जानकारी दिए।

गुम्देल स्वास्थ्य चौकीमा ५ जनाको दरबन्दी भएपनि २ जना अनमीको भरमा नै सेवा सञ्चालन हुँदै आएको छ। एकजना स्थायी दरबन्दीकी अनमी छन् भने एकजनालाई गाउँपालिकाले करारमा भर्ना गरेको छ। उक्त केन्द्रमा १ जना एचए, २ जना अहेब र २ जना अनमीको दरबन्दी रहेको भएता पनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या निम्तिएको छ। गाउँको स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधिहरु पाइन्छन् तर पनि सबै औषधि गाउँलेले भन्नासाथ पाउने अवस्था नभएको करारमा कार्यरत अनमी खिनाकुमारी कार्कीले बताइन्।

प्रदेश सरकारबाट गत वर्ष आएको ५ लाख रुपैयाँले गुम्देलको बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने उपकरण खरिद गरिएको र उपकरण सञ्चालन गर्ने दक्ष कर्मचारी नहुँदा पालिकामा नै उपकरणहरु थन्किएर बसेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी सुबेदीले बताए।  

बर्थिङ सेन्टर सञ्चालनका लागि सम्बन्धित स्वास्थ्य चौकी व्यवस्थापनले गाउँपालिकामा निर्णयसहित माग गरे पश्चात स्वास्थ्य कार्यालयले निर्मित संरचना र पूर्वाधारको निरीक्षण गरी अनुमति दिने प्रावधान रहेको छ। तर त्यसका लागि सम्बन्धित निकायले माग नगरेको गाउँपालिका कार्यालयको स्वास्थ्य शाखाले जनाएको छ।
 

 

प्रकाशित: १० पुस २०७६ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App