८ वैशाख २०८१ शनिबार
अन्य

आमालाई भेटिरहन मन लाग्छ

थोरै फिल्म खेलेर पनि चर्चामा आएका अभिनेता सलिनमान बनियाँको पछिल्लो फिल्म ‘यात्रा’ दर्शकबाट उपेक्षामा परे पनि हामीले भने उनलाई उपेक्षा गर्न सकेनौँ । उनले हामीसँग प्रिय लाग्ने कुरा यसरी बताएः

लेखक
मलाई प्रायः सबै लेखक मन पर्छ । यसो भन्नुको कारण के हो भने सबै लेखकको लेखाइ आ–आफ्नो किसिमको हुन्छ । नेपालीमा पनि उत्तिकै राम्रा लेखकहरु हुनुहुन्छ । तर अलिक बढी ह्यारी पोटर सिरिजको उपन्यास पढेकाले ब्रिटिस लेखिका जेके रोलिङ मन पर्छ ।

पुस्तक
ह्यारी पोटरका शृंखला मलाई मनपर्ने पुस्तक हुन् । यी पुस्तक धेरै अगाडि पढेको हुँ । हेर्दा रमाइला घटना र उडन्ते कथा भए पनि त्यसमा निकै गहन र दार्शनिक कुरा छन् । आफूले आफूलाई कसरी सफल बनाउने भन्ने खास कुरा यी पुस्तकबाट पाठ सिक्न सकिन्छ ।

चस्मा
मलाई यही र यस्तै चस्मा मनपर्छ भन्ने छैन । धुलोबाट बच्नका लागि आँखालाई शितल बनाउने जुनसुकै ब्रान्डका चस्मा भए पनि मलाई मनपर्छ । रेवनको चस्मा पनि लगाइरहेको हुन्छु । विशेषगरी आँखा ढाक्ने किसिमको चस्मा मनपर्छ ।

भेटिरहन मन लाग्ने व्यक्ति
मलाई मेरी आमालाई भेटिरहन मन लाग्छ । आमाबाहेक अरु खासै कोही यस्ता व्यक्ति छैनन्, जसलाई भेटूँ लागोस् ।

अभिनेता
मलाई अभिनेता श्रीकृष्ण श्रेष्ठ मनपर्ने अभिनेता हुनुहुन्थ्यो तर उहाँ यस धर्तीमा रहनुभएन । उहाँको अभिनय एकदमै राम्रो लाग्थ्यो । नेपाली अभिनेतामा श्रीकृष्ण र बलिउडका सलमान खान मलाई मनपर्ने अभिनेता हुनुहुन्छ ।

अभिनेत्री
सानैमा आफूले झरना थापाको फिल्म हेरेर होला या उहाँसँग काम गर्न पाएर हो कि झरना थापा एकदमै मनपर्ने अभिनेत्री हो । फिल्ममा उहाँको हाउभाउ एकदमै राम्रो लाग्छ । डान्स पनि उस्तै राम्रो देखिन्छ । अर्को कुरा, झरना थापा दिदीको जुन लेभलको अभिनय छ, त्यो तहमा म कहिले पुगौँला जस्तो लाग्छ ।

समकालीन हिरो
मलाई सलोन बस्नेतको अभिनय मन पर्छ । हुन त उहाँ साइड हिरोमा नै चम्किरहनुभएको छ । तर मेरो पुस्तामा उहाँको जस्तो एक्टिङ कमैको होला ।

गायक
सबै गायकहरु ठिकैलाग्छ  । प्रमोद खरेल पनि अहिलेका जल्दो बल्दो गायकमा जमिरहनुभएको छ ।

गायिका
गायिकामा विशेष भन्ने छैन । सबै एकसे एक हुनुहुन्छ । मेलिना राई, अञ्जु पन्त, प्रविशा अधिकारीको स्वर एक से एक राम्रो छ ।

फिल्म
फिल्ममा मलाई हलिउडको ‘द डार्क नाइट’ एकदमै मन परेको फिल्म हो । नेपालीमा त धेरै नै मनपर्ने फिल्महरु छन् । ‘ए मेरो हजुर २’को कथावस्तु, अभिनय सबैले छोएको थियो ।

निर्देशक
मलाई सबै निर्देशक उस्तै राम्रो लाग्छ । आ–आफ्नो कन्सेप्टले फिल्म निर्माण गर्नुहुन्छ । नेपाली फिल्म भन्दा पनि हलिउड फिल्म नै बढी हेर्ने गर्छु । हलिउडको क्रिस्टोफर नोलन मनपर्ने डिरेक्टर हुन् । बलिउडको सञ्जय लीला भन्साली मनपर्ने निर्देशक हुन् । उहाँले बनाएका फिल्मको कथाअनुसार पात्र चयन गरेको जस्तो लाग्छ ।

कलर
मलाई एल्लो, स्काई ब्लु नै मनपर्ने कलर हुन् । मैले लुगा छानेँ भने यही कलरको छान्ने गर्छु । आ–आफ्नो च्वाइस हो । ड्रेस र कलरमा अलिक सोखिन छु ।

सवारी साधन
मलाई सवारी साधनमा गाडी नै मनपर्छ किनभने आफैँले गाडी ड्राइभ गरिरहेको हुन्छु । सजिलो पनि लाग्छ । मोटरसाइकलमा सावर गर्दा सुरक्षित भइन्छ जस्तो पनि लाग्दैन । अर्को कुरा, गाडीमा धुलोबाट जोगिन पनि सकिन्छ ।

फूल
मलाई विशेषगरी गुलाफ फूल नै मनपर्छ । यसबाहेक अन्य सयपत्री, मखमली पनि ठीकै लाग्छ । मलाई सबै फूलको नाम त थाहा छैन ।

देश
जहाँ गए पनि मलाई त नेपाल नै राम्रो लाग्यो । जुनसुकै देशमा बसे पनि, गए पनि आफ्नै देश मनपर्छ । आफू जन्मेको जस्तो देश अन्त कहाँ हुन्छ र, होइन ? त्यस कारण जहाँ गए पनि नेपाल नै प्यारो लाग्छ ।

शहर
मलाई काठमाडौँ नै मनपर्छ । हाँसि–खेलेको ठाउँजस्तो अरु कहाँको लाग्छ र, हैन ? मेरो बेस्ट काठमाडौँ नै हो ।

मोबाइल
मेरो लागि आइफोन नै हो । मैले शुरुवातदेखि नै आइफोन बोक्ने गरेको छु । यसबाहेक त अरु चलाउन पनि अप्ठेरो लाग्छ, आइफोन नै प्रिय लाग्छ ।  

ड्रेस
मलाई लामो–लामो खालका लुगा मन पर्छ । सानैदेखिको बानी भएर होला जुनसुकै कार्यक्रममा पनि लामै लुगा लगाएर हिँडिरहेको हुन्छ । जहाँ जाँदा पनि फिट हुने र घरमा बस्दा लगाउँदा सहज लाग्ने लुगा लगाउँछु । यही भन्ने हुँदैन, ठाउअनुसार फरक–फरक नै लगाइरहेको हुन्छु । विशेषगरी क्याजुअल डे«स पनि ठीकै लाग्छ ।

सपिङ गर्ने ठाउँ
मेरो स्पेसल सपिङ गर्ने ठाउँ छैन । जहाँ राम्रो देख्छु, त्यहीँ किन्छु । नयाँ डिजाइनका कपडाहरु जहाँ पाइन्छ, खोजीखोजी किनिरहेको हुन्छु । मेरो लागि दरबारमार्ग, यताउता भन्ने छैन ।

चाडपर्व
सबैलाई मनपर्ने र मान्दै आएको दसैँ नै हो । साथीहरुसँग भेला हुने, नेवारी खाजा खाने, रमाइलो गर्ने गरिन्छ । अर्को कुरा, दसैँमा घरपरिवार आफ्ना आफन्त टीका लगाउन घरमा आउँदा, मामाघर जाँदा रमाइलो लाग्छ । मलाई तिहार पनि मनपर्छ । तिहारमा घर नै झिलिमिली हुन्छ । सबैको घर सफासुग्घर हुन्छ । देउसीभैलो खेल्न आएका हुन्छन् । टोलमा पिङ हालिएको हुन्छ । पिङ खेल्न मजा लाग्छ । अरु देशको भन्दा हाम्रो चाडपर्वहरु नै रमाइलो हुन्छ ।

 

प्रकाशित: १० पुस २०७६ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App