४ वैशाख २०८१ मंगलबार
समाज

पाल्पाका भूकम्प प्रभावित विद्यालय निर्माणमा तीव्रता

पाल्पा– भूकम्प पश्चात् खुला आकाशमुनि रहेका विद्यार्थीहरुलाई कक्षाकोठा भित्र स्थानान्तरण गराउन विद्यालय भवन निर्माण कार्यलाई तीव्रता दिईएको छ।

पाँच वर्षको समयसीमा लिएर अगाडी बढेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले पूनर्निर्माण कार्यलाई तीव्रता दिएको हो। 

पाल्पामा भूकम्पबाट १ सय ३० विद्यालयका ६ सय ५० कक्षाकोठाहरु क्षति भएका थिए। आर्थिक वर्ष २०७३/०७४ देखी पाँच वर्षको समयसीमा लिएर अगाडी बढेको आयोजनाको कार्यालयले चार वर्षको अवधिमा ४३ विद्यालयका १ सय ८ कक्षाकोठा निर्माण कार्य सम्पन्न गरेको हो।

पुनर्निर्माण आयोजना कार्यालयका इकाई प्रमुख लक्ष्मण देवकोटाले आव २०७३/७४ मा १२ भवनका ३४ कक्षाकोठा र आव २०७४/७५ मा १० विद्यालयका २८ कक्षाकोठा निर्माण सम्पन्न गरेको बताए।

उनले गत आव २०७५/७५ को पहिलो चरणमा २१ विद्यालयका ४६ कक्षाकोठा निर्माण सम्पन्न भएको बताए। उनी भन्छन्, ‘२०७५/७६ मा दोस्रो चरणमा पनि थप ४८ विद्यालयमा पुनर्निर्माणका लागि स्वीकृती भएकोमा ६३ विद्यालय निर्माणधिन अवस्थामा छन्। ४५ शौचालय पनि निर्माणाधिन छन्।’

आयोजना प्रमुख देवकोटाले चालु आर्थिक वर्ष २०७६/७७ मा २ कोठे ३२ वटा, ३ कोठे ५ वटा र ४ कोठे ६१ वटा भवन निर्माण र १ सय ४५ शौचालय निर्माणका लागि सिफारिस गरिएकोमा बजेट प्राप्त नभएको बताए। 

दिव्यज्योती माध्यमिक विद्यालय, माथागढी गाउँपालिका–३, सराईका अध्यक्ष रेखिराम रानाले विद्यार्थी संख्या अत्याधिक भएका विद्यालयमा थप कक्षाकोठा सहितका भवन बनाउन आवश्यक रहेको बताए। उनी भन्छन्, ‘अहिले अन्य क्षेत्रबाट विद्यालयमा भवन निर्माणका लागि बजेट आउँदैन। प्राधिकरबाट बनेका भवन बलिया छन्। हाम्रो विद्यालयमा चार कोठे भवन निर्माण सम्पन्न गरेका छौं।

हामीले ५६ लाख रुपैयाँ भुक्तानी पायौं। यसको फाउन्डेशनमा बढी खर्च हुँदो रहेछ।’ नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले विद्यालयको तुलनामा निजी आवास निर्माणको काम सुस्त रहेको बताए। उनले ठेकेदारहरु मार्फत् नभई सोझै विद्यालयले काम लगाउँदा गुणस्तर सुनिश्चितता भएको र अनुगमन प्रभावकारी बन्ने देखिएको बताए। 

भवन निर्माणका लागि शिक्षातर्फको पुनर्निर्माण आयोजना कार्यालयले ४ कोठाको औषतमा ७० लाख ४० हजार, ३ कोठाको ३५ लाख ८० हजार, २ कोठाको २३ लाख ९० हजार र शौचालय निर्माणका लागि १५ लाख रुपैयाँसम्मको बजेट विनियोजन गर्दै आएको जनाएको छ।

जिल्लामा भूकम्पमा परि १ सय ३० बाहेकका अन्य विद्यालय पनि क्षति पुगेकोले तथ्याङ्क अद्यावधिक हुँदै गरेको इञ्जिनियर गुनबहादुर मल्लले बताए। पाल्पामा ४ सय ३७ विद्यालय सञ्चालनमा छन्।

प्रकाशित: १० पुस २०७६ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App