coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शीतलहरले जनजीवन प्रभावित

फाइल फोटो

रौतहट– लगातारको शीतलहरले समग्र जनजीवन प्रभावित भएको छ।

अत्यधिक जाडोले गर्दा तराई मधेसको यात्रा, शिक्षा, व्यवसाय, खानपान तथा रहनसहनदेखि सामान्य दैनिकीको सम्पूर्ण प्रक्रिया प्रभावित भएको हो।

गत हप्तादेखि बढेको जाडोले जिल्लाका अधिकांश स्थानीय तहले शैक्षिक संस्था बन्दको घोषणा गरेका छन्। विद्यालय जाँदा र फर्किदा नै जाडोले कठांग्रिने भएपछि विद्यालय बन्द गरिएको हो।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रौतहटका वरिष्ठ उपाध्यक्ष गौतम श्रेष्ठले विद्यालयका साना बालबालिका जाडोबाट अत्यधिक प्रभावित हुने भएकाले अधिकांश स्थानीय तहले सामुदायिक विद्यालयमा जाडो बिदा दिइएको बताएका छन्। केही संस्थागत विद्यालयमा पनि जाडो र विभिन्न पर्वहरुले प्रभावित भएको उपाध्यक्ष गौतमले बताए।

संचालनमा रहेका जिल्लाका केही संस्थागत विद्यालयमा पनि विद्यार्थीको उपस्थिति कम भएको गौतमको भनाइ छ।

अत्यधिक जाडोले यातायात क्षेत्रमा पनि प्रभाव परेको छ। सार्वजनिक यातायातका साधनहरु चले पनि यात्रुको संख्या भने घटेको छ। यसै गरी निजी सवारीका साधनको संख्यामा पनि व्यापक कमी आएको छ। साइकल र मोटरसाइकलमा यात्रा गर्नेको संख्यामा कमी आएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य धर्मनाथप्रसाद जयसवालले अत्यधिक जाडोले व्यापार क्षेत्रमा गम्भीर असर परेको बताएका छन्। 

जाडोले जनजीवनलाई अत्यधिक प्रभावित बनाएपछि विभिन्न स्थानीय तहले सार्वजनिक स्थानमा दाउरा बाल्न थालेको छन्। मानिसको आवागमन बढी हुने चोक तथा गाउँको पनि धेरैलाई पायक पर्ने ठाउँमा दाउरा बाल्न थालिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटको पहलमा विभिन्न प्रहरी युनिटहरुले पनि जिल्लाको धेरै ठाउँमा दाउरा बालेको देखिएको छ। अत्यधिक जाडोले सर्वसाधारणलाई जोगाउन तात्कालिन उपायको रुपमा दाउरा बाल्न थालिएको जनप्रतिनिधिहरुले बताएका छन्।
अहिले त्यस क्षेत्रको न्यूनतम तापक्रम चार र पाँच डिग्री सहने गरेको छ।

प्रकाशित: १० पुस २०७६ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App