८ वैशाख २०८१ शनिबार
विचार

‘राजनैतिक डिप्रेसन’को ओखती

कपाल काट्न नजिकैको सैलुन गएको थिएँ, ५५ वर्षीय रामनारायण दाइले कपाल काट्दै भन्नुभयो, ‘बाबु, तपाईं नेताहरूलाई भेट्नुहुन्छ है ?’ मैले जवाफमा भनेँ, ‘भेट्छु, तपाईंको केही सन्देश छ भने भन्नुहोस् न, म भनिदिन्छु नि !’ उहाँले तुरुन्तै भन्नुभयो, ‘कहाँ बाबु ! नेताले तपाईं–हाम्रो कुरा सुन्छन् र ? भैगो, छाडिदिनुस् ।’ मैले फेरि उहाँलाई जोड दिएँ र भन्ने कुरा के हो भनी सोधेँ । उहाँले चलाइरहेको कैँची रोकेर बडो भावुक हुदैँ भन्नुभयो, ‘बाबु, तपाईंले ठूला नेतालाई भेट्नुभयो भने भनिदिनुस् कि अब बूढाहरूले राजिनामा दिएर युवालाई बाटो छोडिदिनु प¥यो ।’

कपाल काटेर हिँडे, तर मेरो मन दुई वटा प्रश्न त्यहीँ सैलुनमै अड्कियो । पहिलो प्रश्न, हामी यो कस्तो लोकतन्त्रको अभ्यास गर्दैछौँ जहाँ जनता, नेताले मेरो कुरा सुन्दैन अनि मैले बोल्नु बेकार छ भन्ने सोच्छन् ? जहाँ आम नागरिक आफूलाई सरकार अनि राज्यभन्दा बाहिर रहेको महसुस गर्दैछन् ? जहाँ नागरिक आफ्नो प्रतिनिधिदेखि आजित छन् अनि चूप लागेर बस्नु नै उचित ठान्दैछन् ? किन नागरिक ‘राजनैतिक डिप्रेसन’को सिकार बन्दै छन् ?

दोस्रो प्रश्न, किन यो पुस्ता जबर्जस्ती कुर्सीमा टासिँएको छ र नयाँ पुस्तालाई काम गर्नबाट अवसरविहीन बनाइरहेको छ ? किन त्यही पुस्तालाई पनि आफ्नो पुस्तामा विश्वास छैन ? किन चार जनाले पूरै संसद् अनि पूरै देश कब्जा गरेर लोकतन्त्रको हिमायती बनेर बसेका छन् ?

यसको उत्तर खोजिनै पर्छ । यही उत्तर नखोजिएका कारणले पनि राजनीति अस्थिर छ । जनजीवन अस्तव्यस्त छ अनि देश २८ वर्षदेखि त्यही गोलचक्रमा घुमेकोघुमै छ ।
लोकतन्त्रमा आम नागरिकले आफूलाई आफ्नो प्रतिनिधि अनि राज्यबाट टाढा राख्छ भने यसले दुई वटा कुराको संकेत गर्छ । पहिलो कुरा, नागरिक अनि समाज राजनैतिक डिप्रेसनमा छन् । दोस्रो कुरा, लोकतन्त्र नै असफल हुँदैछ । यी दुवै कुरा राष्ट्रको भविष्यका निम्ति निकै डरलाग्दो संकेत हो ।  

व्यक्ति अनि समाज अहिलेको नेताका क्रियाकलापबाट वाक्कदिक्क भैसकेका छन् । यो स्वार्थको राजनीतिबाट आजित भैसकेका छन् । त्यसैले राजनैतिक डिप्रेसनको सिकार हुँदैछन् । साथै, लोकतन्त्रमा लोकले आफूलाई कमजोर ठान्नु भनेको लोकतन्त्र कमजोर हुनु हो । लोकतन्त्रै असफल हुनु हो तर अब फेरि हामी अर्को कुनै तन्त्रको लागि समय व्यतीत गर्न सक्दैनौं । त्यसैले लोकतन्त्रलाई झन् मजबुत बनाउनुको विकल्प छैन । तसर्थ, अब राजनैतिक डिप्रेसनको ओखती खोजिनै पर्छ ।

लोकतन्त्रको अभ्यास गर्दै गर्दा, ५ वर्षमा एकचोटी भोट हाल्न मात्रै आम नागरिकको प्रयोग गरिनुले पनि आज आम नागरिक अनि नेता बीचको यो दुरी चुलिएको हो । हामीले तन्त्र ल्यायौँ तर त्यसभित्रको मन्त्र बुझ्न सकेनौँ । त्यसैले अब लोकतन्त्रलाई नै अपग्रेड गर्दै नेतासँगै नागरिकको भूमिका पनि सुनिश्चित गर्ने संस्कारको विकास गरिनु पर्छ । अब हाम्रो समाज अनि हामी डिप्रेसनबाट बाहिर निस्किएर हालको समस्या हल गर्दै यो राजनैतिक शून्यता अनि भद्रगोल चिर्न सक्ने नेतृत्वलाई अघि सार्न सक्नुपर्छ । जसका लागि सक्षम व्यक्ति राजनीतिमा आउनुपर्छ अनि आम नागरिकबीच फेरि एकपल्ट आशाको राजनीतिको सञ्चय गरिनु पर्छ ।

हाम्रो जनसंख्याअनुरुप हाम्रो देशमा ४५ वर्षमुनि ८१ प्रतिशत नेपाली छन् । ५ मा ४ नेपाली ४५ वर्ष मुनिका छन् । आधा नेपाली २२ वर्ष मुनिका छन् तर नेतृत्व तहमा भने यो वर्गको उपस्थिति निकै नै न्यून छ । हामी समानुपातिक समावेशी राज्य व्यवस्थामा छौँ तर यसमा हामीले राज्यको प्रमुख अंग युवालाई नै समावेश गर्न सकेका छैनौँ । अहिले शिक्षा, स्वास्थ्य, बेरोजगारी, भ्रष्टाचार आदिको जुन समस्या देखिएको छ, यो समस्यासँग धेरैजसो ठोक्किने युवापुस्ता नै हुन् । यो समस्याको शिकार धेरैजसो त्यही युवा पुस्ता नै छन् तर हामी समाधान माथिल्लो पुस्ताबाट खोजिरहेका छौँ । हामी एउटा ताला लगाएर अर्कै चाबीले खोल्ने प्रयास गर्दैछौँ । मेरो मतलब, समस्या बुझेको पुस्ता नै समाधानको घेराभन्दा टाढा छ । त्यसैले अब समस्या समाधानका निम्ति नयाँ तरिकाबाट सोच्नुपर्छ । नयाँ हातहरु अघि बढ्नुपर्छ । युवासँग जोस हुन्छ, हिम्मत हुन्छ अनि तीव्र इच्छाशक्ति हुन्छ । आजको राजनीतिमा सबैभन्दा खट्किएको पनि यही पक्ष हो– जोस, साहस अनि इच्छाशक्ति तर हामीले युवालाई विकासका निम्ति अघि सार्न सकिरहेका छैनौँ। नेतृत्व दिन सकिरहेका छैनौँ ।

एउटा ठूलो बूढो रुखको छायाले साना–साना रुखलाई असर गरेझैँ हालको राजनीतिमा पनि त्यही प्रवृत्ति देखिएको छ । छाया मात्रै हैन, हाम्रो राजनीतिमा त कुनै युवाले राम्रो काम गरेर चर्चा पायो भने निरुत्साहित गर्ने, मनोबल गिराउने काम हुन्छ । अघि बढ्नबाट रोकिन्छ । राजनीतिमा प्रवेश गरेर आफ्नो क्षमता देखाउन ३०÷४० वर्ष लाग्ने संरचना अनि प्रवृत्तिले एउटा जोस अनि ऊर्जा भएको व्यक्ति काम गर्ने ठाउँसम्म पुगिसक्दा उसमा भएको जोस नै रहँदैन र ऊ पनि पुरानै सिको गर्दै नतिजामुखीभन्दा पनि शक्तिमुखी बन्न पुग्छ । त्यसैले अब नेतृत्वमा नयाँ पुस्ताले नै कमान समाल्नु पर्छ ।

अब सक्षम विवेकशील युवा राजनीतिमा आउनुको विकल्प छैन । अब हामीले खोजेको समृद्धिको परिवर्तन यो पुस्ताबाट हुन नसक्ने देखिसकिएको छ । तसर्थ, नयाँ उद्देश्यका निम्ति नयाँ कोणबाट सोच्ने बेला भइसकेको छ । अब राष्ट्रलाई संक्रमणकालबाट निकाल्न यो पुस्ताले मात्रै सक्दैन । त्यसैले अब आउने निर्वाचनमा देशैभरिबाट आफ्नो टोल, वडा बनाउन युवा अघि सर्नुपर्छ । नेतृत्व लिन अघि बढ्नु पर्छ । तब मात्र यो संक्रमणकालको अन्त्य हुनेछ । यो आम नागरिकको निराशाको अन्त्य हुनेछ अनि मात्र आशाको राजनीतिको थालनी हुनेछ अनि मात्र देश समृद्धिको बाटोमा लम्कनेछ ।

फेरि यो काम त्यति सजिलो भने छैन किनकि हामीले भनिरहेको युवामा पनि केही हदसम्म त्यही रोग सर्न सुरु गरिसकेको छ । हाल हाम्रो समाजमा तीन प्रकारका युवा छन् । पहिलो, नेताको इसारामा चल्ने । गाउँको चौतारीमा वर्षभरि क्यारिम बोर्ड खेल्ने अनि नेतालाई भनेर हुन्छ वा बजेटमा बार्गेनिङ गरेर दिन काट्ने । दोस्रो थरिका, केही हुँदैन भनेर विदेश हानिदैछन् । नेपाल फर्कन पनि चाहँदैनन् ।

तेस्रो, रुनु न हास्नुको अवस्थामा परेका छन् । यस्ता युवा, बाहिर अनि नेपालमै पनि आ–आफ्नो तर्फबाट देशको लागि योगदान गर्दैछन् । राजनीतिमा हाम फाल्न सकिरहेका छैनन् तर सरकारी अनि गैर सरकारी संस्थाबाट, आफ्नो तर्फबाट देशका लागि जुध्दै छन् ।
हालका निम्ति परिवर्तनको सम्वाहक यिनै तेस्रो प्रकारका युवा हुन् । जो केही गर्न चाहन्छन् तर कसरी गर्ने भनेर आफैँ अल्मलिएका छन् । त्यसैले अब यो अल्मलिएको युवालाई विश्वासमा लिएर दिशा दिन सक्ने नेतृत्व अनि संगठन नै यो देशको समृद्धिका लागि निकास हो । अब युवालाई अघि लगाएर नेतृत्व गर्ने नेतृत्व अनि संगठन हैन, युवालाई नै अघि बढाउने नेतृत्व अनि संगठन चाहिएको छ ।

चाणक्यले धेरै पहिले भनेका छन्, ‘जबसम्म तिमी दौडने साहस जुटाउदैनौं तबसम्म जित्न सकिँदैन ।’ अब नयाँ पुस्ताले राजनीतिमा सुशासन अनि देशलाई समृद्ध बनाउने अठोट लिएर राजनीतिमा आउने साहस गर्नुको विकल्प छैन । अहिलेको नेताहरुले पनि युवा पुस्तालाई जिम्मेवारी दिन हिच्किचाउनु हुँदैन । अब नयाँ परिवर्तनका लागि नयाँ पुस्ता नै अगाडि आउनुपर्छ । सामान्यतया खेल क्षमता घटेका र उमेर पुगेको खेलाडीलाई सन्यास दिने चलन छ । यस्ता खेलाडीलाई खेलाइरहने हो भने खेल हारिन्छ । राजनीतिको खेलमा त देश नै दाउमा छ । अब हामी देश हार्ने खेलमा यस्ता खेलाडीलाई खेलाइरहन सक्दैनौं । तसर्थ, अब नयाँ खेलाडीले मौका पाउनुपर्छ । अब, नयाँ खेलाडीले नेतृत्व लिनुपर्छ ।

अन्तिममा, युवालाई देशको भविष्य भनेर वर्तमानमा मोहरा बनाइराख्ने हो भने हाम्रो राजनीतिले निकास पाउँदैन अनि लोकतन्त्रमा नै प्रश्न खडा हुन्छ । हामीले लोकतन्त्रलाई झन् मजबुत बनाउने हो भने कपाल काट्ने दाइले मेरो सही कुराको सुनवाई हुन्छ है भन्ने महसुस गर्न सक्नुपर्छ । तसर्थ हालको नेतृत्वले सक्षम युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । युवा देशका भविष्य होइनन्, वर्तमान हुन् ।  ‘युवा अघि सर्छ अनि मात्र देश अघि बढ्छ ।’
विवेकशील नेपाली दलका केन्द्रीय व्यवस्थापिका उपप्रमुख

प्रकाशित: ४ पुस २०७३ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App