७ वैशाख २०८१ शुक्रबार
विचार

माओकाे मान्यता

आज डिसेम्बर २६ तारिख, विश्वका कम्युनिस्ट विचारधारा पछ्याउनेहरूका लागि महत्वपूर्ण दिन हो। सन् १८९३ आजकै दिन चिनियाँ नेता माओ चतुङको जन्म भएको थियो। आज उनको १२६औं जन्मजयन्ती भए पनि चीनमा औपचारिक रूपमा कुनै कार्यक्रम आयोजना हुँदैन। चीनमा कुनै पनि व्यक्तिको जन्मोत्सव तथा मृत्यु स्मृति कार्यक्रम गरेर मनाइँदैन। यस्तो कार्यले सांस्कृतिक विचलन आउने र व्यक्ति पूजाले पार्टी र समाजलाई गलत दिशामा लाने खतरा भएकाले यहाँ एक किसिमको प्रतिबन्ध नै छ। चिनियाँ कम्युनिस्ट पार्टीका कुनै नेताले आफ्नो जन्मोत्सव मनाएको थाहा भएमा अनुशासनको कारबाही हुने गर्छ।

माओको जन्मजयन्तीमा बेइजिङको थिआन आनमन स्क्वायर क्षेत्रदक्षिण उनको शव राखिएको ‘माओ भवन’ दुईपटक खुल्ने गर्छ। अन्य समय बिहान ७ देखि ११ बजेसम्म मात्र खुल्ने यो भनव माओको जन्मजयन्ती र मृत्यु स्मृतिका दिन (सेप्टेम्बर ९ तारिख)चाहिँ दोस्रोपटक पनि दिउँसो २ बजेदेखि ४ बजेसम्म खुल्ने गर्छ। हजारौं चिनियाँ पहेंलो फूल हातमा लिएर माओको शव अवलोकन गर्न लामबद्ध हुन्छन्।

नेपालका कम्युनिस्टले डिसेम्बर २६ लाई कुनै बेला वर्षकै सबैभन्दा महत्वपूर्ण दिन मान्थे। २०३५ सालमा नेकपा माले यही दिन स्थापना भएको थियो। त्यही माले २०४७ सालमा एमाले भयो र अहिले नेकपा भएर सत्तामा छ। माओलाई चीनबाहिर सबैभन्दा धेरै मान्ने देशमा नेपाल पर्न सक्छ। कुनै समय नेपालमा माओकै नामबाट खोलिएका पार्टीको संख्या ९ भन्दा बढी थियो। नेपाललाई माओवादीको मुलुकसमेत भन्ने गरिन्थ्यो। अहिले पनि नेपालमा केही पार्टी माओको नामबाट सञ्चालित छन्।

लामो समय चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष रहेका माओ चतुङको १९७६ सेप्टेम्बर ९ मा देहान्त भयो। त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीले अध्यक्ष पद हटायो र महासचिवलाई पार्टीको सर्वाधिक शक्तिशाली बनायो। अध्यक्ष पद सदाका लागि माओलाई नै अर्पण गरियो। अहिले पनि माओलाई सम्मानसाथ ‘चेयरम्यान माओ’ भनेर सम्बोधन गरिन्छ।

माओलाई चीनबाहिर सबैभन्दा धेरै मान्ने देशमा नेपाल पर्न सक्छ। कुनै समय नेपालमा माओकै नामबाट खोलिएका पार्टीको संख्या ९ भन्दा बढी थियो। नेपाललाई माओवादीको मुलुकसमेत भन्ने गरिन्थ्यो। अहिले पनि नेपालमा केही पार्टी माओको नामबाट सञ्चालित छन्।

माओकै नेतृत्वमा १९४९ अक्टोबर १ तारिखका दिन चीन जनगणतन्त्र भयो। अहिले चिनियाँ नागरिक चीनलाई ‘नयाँ चीन’ भन्छन्। दोस्रो विश्वयुद्धपछि विश्व साम्राज्यमा उदाएको अमेरिकालाई माओले कागजी बाघ भनेर सोझै चुनौती दिए। विश्वकै चौथो ठूलो मुलुक र विशाल जनसंख्या भएको चीन माओ सत्तामा आइपुग्दा अत्यन्त विकराल अवस्थामा गुज्रिरहेको थियो। गृहयुद्ध र जापानी आक्रमणबाट जरजर बनेको चीनको अर्थतन्त्र– भोकमरी, बेरोजगारी, आन्तरिक बसाइँसराइ, रोगव्याधि, प्राकृतिक प्रकोपजस्ता विविन्न कारण धमिराको पर्खालजस्तो बनेको थियो। माओले जनमुक्ति सेना र मिलिसियालाई उत्पादनमुखी काम र श्रमदानमा लगाए। कृषि उत्पादनलाई प्राथमिकतामा राखे। सबै जमिनलाई सरकारीकरण र चक्लाबन्दी गरेर कम्युनमार्फत सामूहिक खेती गरी सबैभन्दा पहिले जनताका आवश्यकता पूरा गर्न सरकारका सबै शक्ति परिचालन गरे।

वाल्मीकि भइसकेको चीनलाई माओले कंक्रिट बनाए।    माओ प्रखर अध्येता र दार्शनिक नेता थिए। उनी गहन लेखपढमा समय खर्च गर्थे। राष्ट्र, कम्युनिस्ट पार्टी, समाज, जनता, अन्तरद्वन्द्व आदि विषयमा उनले थुप्रै सैद्धान्तिक दस्तावेज लेखेका छन्। ती दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरिएको थियो। अहिले पनि माओका किताब बजारमा पाइन्छन्। कम्युनिस्ट पार्टीका सदस्यलाई लागू हुने अनुशासन र नियमलाई सूत्रबद्ध गरेर उनले लेखेका पुस्तकलाई ‘रातो किताब’ भनिन्छ। चीनमा सन् १९६६ देखि ७६ सम्म एक दसक सांस्कृतिक क्रान्ति चलेको थियो। भनिन्छ– सांस्कृतिक क्रान्तिको समयमा चीनमा हरेक काममा माओको रातो किताब हुनैपथ्र्यो। बिहे गर्न पनि रातो किताब अनिवार्य थियो। जागिर खाने कर्मचारी अथवा कारखानामा काम गर्ने मजदुरका साथमा रातो किताब हुनैपथ्र्यो। उनीहरूलाई त्यहाँ उल्लेख गरिएका सूत्र रटाइन्थ्यो।    

१२६औं माअाेकाे जन्मजयन्ती

अहिले पनि चिनियाँ पहिलो पुस्ताका कतिपय व्यक्ति गर्वसाथ माओले दिएका निर्देशन र भनाइ उद्धृत गर्छन्। माओले भनेका थिए रे– ‘खाना खाएर केहीबेर आराम गर्नुपर्छ।’ माओको निर्देशन चीनका कतिपय व्यस्त कार्यालयमा अहिले पनि लागू भएको देख्न सकिन्छ। दिउँसोको खानापछि प्रायः कार्यालयमा कर्मचारीहरू आफ्नो कुर्सी ढल्काएर निदाइरहेका हुन्छन्। ‘ग्रेटवाल चढेको व्यक्तिको जीवन मात्र सफल हुन्छ’ भन्ने माओको भनाइ सिरोपर गर्दै ग्रेटवालमा अहिले पनि चिनियाँ आन्तरिक पर्यटक भरिभराउ हुन्छन्।

माओको निधनसँगै चीनमा सांस्कृतिक क्रान्तिको पनि अवसान भयो। सांस्कृतिक क्रान्तिको समयमा लापरबाहीपूर्ण र पूर्वाग्रही कारबाहीमा होमिएकी माओकी कान्छी श्रीमती चियाङ छिङले गरेको शक्तिको चरम दुरुपयोगले माओको लोकप्रियतामा केही धब्बा लाग्यो। सांस्कृतिक क्रान्तिपछि पुनः उदाएका तङस्याओफिङले चीनलाई सुधार गरेर र खुलापनमा ल्याएर वर्तमान विश्वको दोस्रो आर्थिक शक्ति बनाउने काम थालनी गरे।

सन् १९४९ पछि र विशेषगरी सांस्कृतिक क्रान्तिताका चीनमा माओको प्रचार जुन गतिमा गरिन्थ्यो, अहिले त्यही गतिमा सी चिनफिङको प्रचार गरिँदै छ। सीका लेख, सम्बोधन, भनाइ, अन्तर्वार्ता आदि समेटेर प्रकाशित पुस्तक ‘गभर्मेन्स अफ चाइना’को दुई भाग प्रकाशन भइसकेका छन्। दुवै भाग चिनियाँ, अंग्रेजी, नेपाली, फ्रेन्च, स्पेनिस, जापानी, जर्मनलगायत बहुभाषामा अनुदित छन्। चीनमा सरकारी निमन्त्रणामा आउने विदेशी पत्रकार, कर्मचारी, राजनीतिक नेता, सामाजिक अभियन्ता, शिक्षक जोकोहीलाई सी चिनफिङका दुवै किताब उपहार दिइन्छ। जुन देशमा सी भ्रमण गर्छन्, सोही देशमा यो पुस्तक पनि व्यापक रूपमा निःशुल्क वितरण गरिन्छ। सीको भ्रमण सुरु भएसँगै सम्बन्धित देशका पत्रपत्रिकामा उनका लेख पनि प्रकाशन हुने गर्छन्। चिनियाँ कम्युनिस्ट पार्टीको विधान र चीनको संविधानमा प्रवेश गराइएको ‘सी विचारधारा’लाई चीनबाहिर पु¥याउन यो पुस्तकले आधार तयार गर्दै छ।

माओ, कम्युनिस्ट आन्दोलनका अगुवा र चीनमा जनवादी सत्ता कायम गर्न सफल भएकाले विश्वमा लोकप्रिय भए। अहिले सी चिनफिङ विश्वमा चिनियाँ भाषा र संस्कृतिजस्ता ‘सफ्टपावर’सँगै आफ्ना पुस्तक र लेखमार्फत लोकप्रिय हुँदै छन्। चीनभित्रै पनि माओको स्थान सीले लिँदै छन्। फलतः बजारमा माओका तस्बिरअंकित जेजति सामग्री सोभिनियरमा बेच्न राखिन्छ, त्यही हाराहारीमा सीका तस्बिरअंकित चिज पनि देख्न पाइन्छ। सीअगाडिका राष्ट्रपतिहरूको तस्बिरअंकित कुनै सामग्री बजारमा पाइँदैन। नयाँ चीनका राष्ट्रपिता र विश्व कम्युनिस्ट आन्दोलनका भयंकर नेता माओलाई चिनियाँ नयाँ पुस्ताले बिर्सिहालेको चाहिँ छैन। वर्तमान राष्ट्रपति सी चिनफिङको बढ्दो लोकप्रियता र चीनभित्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दो प्रचारबाजीका कारण माओ छायामा परेको चाहिँ सत्य हो। अहिले चीनमा माओ चिनिने मुख्यतः चारवटा माध्यम छन् ः पहिलो– १ युआनभन्दा माथिका चिनियाँ कागजी नोटमा माओका तस्बिर छन्, दोस्रो– चिनियाँ पाठ्यक्रममा केही अंशकै रूपमा भए पनि माओसम्बन्धी पाठ हुन्छन्, तेस्रो– माओका तस्बिरअंकित टोपी, टिसर्ट, प्लेट, लकेट, मूर्ति, किरिङलगायत सोभेनियर बजारमा प्रशस्त बेच्न राखिएका हुन्छन् र चौथो– माओले लेखेका किताब र माओबारे लेखिएका किताब बजारमा प्रशस्तै पाइन्छन् र चीनका थुप्रै ठाउँमा माओका सालिक बनाइएका छन्।

उल्लिखित माध्यमबाट चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य नभएका व्यक्तिले पनि माओबारे जानकारी पाउने गर्छन्। त्यसो त चीनका कुनै–कुनै प्रान्तमा अहिले पनि घरघरमा माओका तस्बिर राखिएको पाइन्छ। तिब्बतका प्रायः घरमा चिनियाँ कम्युनिस्ट पार्टीका पाँच नेताका तस्बिरअंकित पोस्टर टाँसिएका हुन्छन्। ती पाँच नेतामा– माओ, तङस्याओफिङ, च्याङ चमिन, हुचिन थावो र सी चिनफिङ छन्।     अहिले माओ  विचारधाराकै हाराहारीमा सी विचारधाराको प्रवद्र्धन भइरहेको छ। नेपाल, भारत, पेरुलगायत देशमा माओ विचारधाराकै नाममा खोलिएका पार्टीले रक्तपातपूर्ण आन्दोलनको अभ्यास गरिसकेका छन्। माओ विचारधाराको पृष्ठभूमि नै जनयुद्ध, सत्ताकब्जा, वर्गसफाया र सर्वहारा वर्गको अधिनायक शासन व्यवस्था थियो। माओ विचारधाराकै जगमा जन्मिएको सी विचारधाराले जनताको सेवा, विकास निर्माणको सन्तुलिन वितरण, राष्ट्र र पार्टी सर्वोपरी, साझा हित, मानव समुदायको विकास, शान्ति र स्थिरताजस्ता कुरालाई प्राथमिकता दिएको छ। माओद्वारा जनगणतन्त्र चीन स्थापनापछि जन्मिएका सी चिनफिङले चीनलाई विश्वकै शक्तिसम्पन्न र समृद्ध मुलुक बनाउने घोषण गरिसकेका छन्। माओका नामले चिनिने मुलुक बिस्तारै सीको मुलुक हुन थालेको छ।
आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यत छन्।

प्रकाशित: १० पुस २०७६ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App