१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मोटर बिमा प्रिमियम तीन अर्ब ७६ करोड संकलन

काठमाडौं - चालु आर्थिक वर्ष ०७६/७७ को चार महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीले आठ अर्ब ९१ करोड रुपैयाँ बिमा शूल्क (प्रिमियम) संकलन गरेका छन्। मुलुकका २० वटा निर्जीवन बिमा कम्पनीले मोटर, अग्नि, सामुद्रिक, इन्जिनियरिङ, कृषि तथा बाली, हवाई र विविध बिमा गरी उक्त बिमा शुल्क आर्जन गरेको बिमा समितिले जनाएको छ।
समितका अनुसार सो अवधिमा सबैभन्दा बढी मोटर बिमा प्रिमियम संकलन गरेका छन्। चालु आवको कात्तिक मसान्तसम्म मोटर बिमा शूल्क तीन अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेका छन्।

सरकारले सवारी साधन बिमा अनिवार्य गरेसँगै मुलुकमा मोटर बिमाको दायरा फराकिलो हुँदै गएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। ‘सवारीसाधानको आयात बढेसँगै मुलुकमा सबैभन्दा बढी मोटर बिमा हुने गरेको छ,’ उनले भने, ‘मोटरसाइकल, कार, जिप, बसलगायत सवारीसाधन सडक दुर्घटनामा परी, चोरी वा अन्य कारणले सवारी साधन वा तेस्रो पक्षलाई क्षतिपूर्ति दिन मोटर बिमा गरिन्छ।’ मुलुकमा सवारी साधन आयात बढ्दै गएकाले मोटर बिमा शूल्क बढेको उनले बताए।

मुलुकका २० वटा निर्जीवन बिमा कम्पनीले मोटर, अग्नि, सामुद्रिक, इन्जिनियरिङ, कृषि तथा बाली, हवाई र विविध बिमा गरी उक्त बिमा शुल्क आर्जन गरेका हुन्।

त्यसैगरी, मोटर बिमापछि अग्नि बिमाबाट एक अर्ब ८५ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको छ। समितिका अनुसार विविध बिमाबाट एक अर्ब ६ करोड, सामुद्रिक बिमाबाट ७९ करोड, इन्जिनियरिङ बिमाबाट ६७ करोड र कृषि तथा बाली बिमाबाट ३९ करोड १६ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ।

समितिका अनुसार सो अवधिमा निर्जीवन बिमा कम्पनीले सबैभन्दा कम हवाई बिमाबाट ३६ करोड ४० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। सो अवधिमा यी निर्जीवन बिमा कम्पनीको १५ अर्ब ९८ लाख रुपैयाँ चुक्ता पुँजी पुगेको छ। यी कम्पनीले चालु आवको चार महिनाको अवधिमा ४० अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका छन्। त्यसैगरी, तिन अर्ब १४ लाख रुपैयाँ नगद बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन्।

त्यसैगरी, सो अवधिमा २८ हजार ६ सय ९९ दाबी भुक्तानी भएका छन्। यी कम्पनीले सो अवधिमा तीन अर्ब ६१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको बिमा समितिले जनाएको छ। यी कम्पनीले चालु आवको कात्तिक मसान्तसम्म करिब चार अर्ब २० करोड रुपैयाँ पुनर्बिमा शुल्क भुक्तानी गरेका छन् भने पुनर्बिमा कमिसनबापत एक अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको समितिले जनाएको छ।

हाल निर्जीवन बिमातर्फ एक सय ४४ प्रकारका बिमालेख प्रचलनमा छन्। समितिका अनुसार चालु आवको चार महिनाको अवधिमा करिब आठ लाख ४२ हजार पाँच सय बिमालेख बिक्री भएका छन्।

प्रकाशित: १० पुस २०७६ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App