coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फेवातालमा ‘सिल्टेसन ड्याम’ निर्माण सुरु

पोखरा - पर्यटकीय केन्द्र फेवातालमा ‘सिल्टेसन ड्याम’ निर्माण सुरु भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारीमा फेवातालमा ‘सिल्टेसन ड्याम’ निर्माण सुरु भएको हो। ‘सिल्टेसन ड्याम’ निर्माणको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा करिब २९ करोड लगानीमा फेवातालका चारवटा खोलाको मुहानमा ‘सिल्टेसन ड्याम’ निर्माण गरिने जनाइएको छ। फेवातालको वेतयानी खोला, लौरुक, अँधेरीखोला र हर्पनखोला घाँटीछिनामा ‘सिल्टेसन ड्याम’ निर्माण गरिने उल्लेख छ।

चारवटै आयोजनाको अनुमानित रकम ३४ करोड ४९ लाख गरिए पनि टेन्डरमा निर्माण कम्पनीले घटेर गर्दा २८ करोड ९६ लाखमा निर्माण सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए। उनका अनुसार ‘सिल्टेसन ड्याम’ निर्माणमा लागेको खर्च प्रदेश सरकार र पोखरा महानगरपालिकाले आधा–आधा अर्थात दुवैले जनही १४ करोड ४८ लाख रुपैयाँ तिर्नेछन्।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा करिब २९ करोड लगानीमा फेवातालका चारवटा खोलाको मुहानमा ‘सिल्टेसन ड्याम’ निर्माण गरिने

वेतयानी र लौरुकखोलामा निर्माण गरिने ‘सिल्टेसन ड्याम’ ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ र चार मिटर उचाइको हुनेछ भने अँधेरीखोला र घाँटीछिनास्थित हर्पनखोलामा निर्माण गरिने ‘सिल्टेसन ड्याम’ एक सय मिटर लम्बाइ, एक सय मिटर लम्बाइ र चार मिटर उचाइको हुनेछ। प्रत्येक ‘सिल्टेसन ड्याम’मा बायो इन्जिनियरिङको काम, चेकड्याम निर्माण, ग्याबियनका कामसहित सिल्टपोखरी निर्माणको काम गरिनेछ। १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने भनिएको ‘सिल्टेसन ड्याम’को गत भदौ २९ गते सम्झौता भएको थियो।

फेवाताल जलाधार संरक्षण अभियानअन्तर्गत वेतयानी खोलामा ‘सिल्टेसन ड्याम’ निर्माण गरिनेछ। यो बुधबार शिलान्यास गरिएको ठाउँ हो। पोखरा २४ मा पर्ने यो खोला फेवातालको सबैभन्दा नजिक पर्दछ। फेवातालको सिरान क्षेत्र पामेबजारभन्दा तीन सय मिटर माथि निर्माण गरिने ‘सिल्टेसन ड्याम’को लागत अनुमान ६ करोड १९ लाख ३२ हजार ६ सय भए पनि पाँच करोड ४६ लाख ५८ हजार नौ सय ७५ रुपैयाँमा निर्माण सम्झौता भएको छ। यो ‘सिल्टेसन ड्याम’ निर्माणको जिम्मा श्री गीता/जयनेपाल इश्वर जेभी, स्याङ्जाले लिएको छ।

पोखरा २४ लौरुकखोलामा निर्माण गरिने ‘सिल्टेसन ड्याम’को लागत अनुमान ६ करोड ३० लाख १० हजार दुई सय रुपैयाँ भए पनि पाँच करोड ७४ लाख ८४ हजार नौ सय ९८ रुपैयाँमा निर्माण सम्झौता भएको छ। यसको निर्माण जिम्मा खड्का कृष्ण÷पिके जेभी दाङले लिएको छ।

पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा ‘सिल्टेसन ड्याम’ निर्माण गर्न नौ करोड ८२ लाख ३८ हजार सात सय २९ रुपैयाँ लाग्ने अनुमान गरिए पनि नौ करोड ६ लाख चार हजार पाँच सय ५८ रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको छ। यो निर्माण गर्ने जिम्मा खड्का कृष्ण÷पिके जेभी दाङले लिएको छ। अँधेरीखोलामा करिब ६० प्रतिशत कामसमेत सम्पन्न भइसकेको पोखरा महानगरपालिकाका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए।

फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्र पोखरा २३ घाँटीछिनास्थित हर्पनखोलामा ‘सिल्टेसन ड्याम’ निर्माण गर्न १० करोड ४१ लाख ९५ हजार चार सय एक रुपैयाँ लाग्ने अनुमान गरिए पनि सात करोड ८८ लाख ६२ हजार पाँच सय ४१ रुपैयाँमा निर्माण सम्झौता भएको छ। यो निर्माणको जिम्मा खड्का कृष्ण÷पिके जेभी दाङले लिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ‘सिल्टेसन ड्याम’ निर्माणपछि फेवातालमा विभिन्न खोलाबाट ढुंगा, गिट्टी, बालुवा नआउने बताए। उनले ‘सिल्टेसन ड्याम’ निर्माण गरिएका चारवटा खोलाबाट वार्षिक तीन लाख घनमिटर ढुंगा, गिट्टी, बालुवा झिक्न सकिने दाबी गरे। त्यसबाट महानगरपालिकालाई वार्षिक २३ करोड आम्दानीसमेत हुने उनले उल्लेख गरे। उनले ‘सिल्टेसन ड्याम’मा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा साप्ताहिक रुपमा निकाल्ने व्यवस्था हुने तर आवश्यकता परेको खण्डमा दैनिक निकाल्न सकिने बताए।

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले संरक्षणको अभावमा फेवाताल एकादेशको कथा बन्न सक्ने हो कि भन्ने आशंका भए पनि ‘सिल्टेसन ड्याम’ निर्माणसँगै अब फेवातालमा ढुंगा, गिट्टी, बालुवा फेवातालमा नपुग्ने बताइन्।

फेवातालको सीमा संघले छुट्याइदिए संरक्षणको ज्ञारेन्टी गर्छौं: मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघले फेवातालको सीमा छुट्याइदिए प्रदेश सरकारले संरक्षणको ज्ञारेन्टी गर्ने बताएका छन्। फेवातालमा आउने ढुंगा, गिट्टी, बालुवा रोक्नका लागि निर्माण गरिएको ‘सिल्टेसन ड्याम’को बुधबार शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै उनले संघले सिमा क्षेत्र नतोकिदिदा फेवातालको सिमाङ्कनमा समस्या भएको बताए। सर्बोच्चको फैसला अनुसार संघ सरकारले फेवातालको सीमा छुट्याइदेओस्,‘उनले भने, ‘हामी सिमांकन गर्छौं, त्यसको संरक्षण गर्ने जिम्मा लिन्छौं।’ उनले प्रधानमन्त्रीलाईसमेत यसबारे आफूले पटकपटक भेटेर कुरा राखेको स्मरण गर्दै भने, ‘अबको एक–दुई महिनाभित्र यसबारे संघ सरकारले निर्णय गर्छ, दुई–तीन महिना भित्रमा सर्वोच्चको फैसला अनुसार फेवाताल संरक्षणको सम्पूर्ण काम पूरा हुन्छ भन्ने हामीलाई विश्वास छ।’

मुख्यमन्त्री गुरुङले विकास गर्ने अवैज्ञानिक तरिकाका कारण विनास निम्तिएको टिप्पणी गरे। डोजर चलाएपछि विकास हुन्छ भन्ने सोंच छ हाम्रो,’ उनले भने, ‘हाम्रो विकास गर्ने अवैज्ञानिक तरिका, पछिका लागि नसोच्ने तरिका छ, जतासुकै डोजर हान्या छ, पृथ्वीलाई क्षतविक्षत पा-या छ, वर्षा भएपछि त त्यो बगाएर ल्याइहाल्छ तर, प्रकृतिले दुःख दिन होइन, हाम्र्रै आनीबानीले निम्त्याएको हो समस्या।’

मुख्यमन्त्री गुरुङले फेवातालसहित गण्डकी प्रदेशका ताल संरक्षणका लागि ताल विकास प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता औंल्याए। शक्तिशाली ताल विकास प्राधिकरण निर्माण गरेर काम गर्न सकेमात्रै तालको संरक्षण हुने उनको भनाइ थियो।

प्रकाशित: १० पुस २०७६ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App