coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सकियो ‘हामी सिक्न सक्छौं’ परियोजना

परियोजनाका कागजात बुझ्दै जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढा। तस्बिर : दिनेश/नागरिक

रोल्पा – ‘यसपटक राज्य पछिपछि, एनजिओ अघिअघि देखियो। शिक्षा संघीय सरकारको दायित्व हो। स्थानीय सरकारले पनि शिक्षामा व्यापक चिन्तन र सुधार गर्नु आवश्यक छ,’ सेभ द चिल्ड्रेनले तीन वर्षदेखि सञ्चालन गरेको ‘हामी सिक्न सक्छौं परियोजना’ बहिर्गमन कार्यक्रममा बोल्दै माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले भनेका थिए, ‘परियोजना सकिए पनि यसले सञ्चालनमा ल्याएका धेरै गतिविधिलाई स्थानीय सरकारले निरन्तरता दिनेछ।’

१९ वटा वडाका एक सय २७ विद्यालय र एक सय २६ बालविकास केन्द्रमा ११ करोड ९४ लाख तीन हजार सात सय ८६ रुपैयाँ खर्च गरिएको उक्त परियोजना यही डिसेम्बरमा सकिँदै छ। तीन वर्षको अवधिमा परियाजनाले गरेका गतिविधिले शिक्षामा सुधार देखिएको भन्दै स्थानीय तहका प्रमुखहरूले थप परियोजनाको आवश्यकता औंल्याए। ‘कार्यक्रमले निरन्तरता पाओस् भन्ने अपेक्षा छ,’ रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने, ‘परियोजनालाई निरन्तरता दिन सके सहज हुने थियो।’ परियोजना गतिविधि नजिकबाट नियालेका पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले भने, ‘विगतको १० वर्षे द्वन्द्वका कारण रोल्पामा बजेट र अन्य यस्ता प्रकृतिका कार्यक्रम आएनन्। त्यसैले अब रोल्पामा सरकारी तथा गैरसरकारी क्षेत्रले लगानी बढाउनुपर्छ।’ १० वर्ष रोकिएको शैक्षिक जागरण पूर्ति गर्नेबेला भएकाले सुधारको सुरुआत गर्ने परियोजना अलि वर्ष चल्नुपर्छ।

परियोजनाहरू सुरु र अन्त्य नभएको बताउँदै रोल्पा नगरपालिकाका अध्यक्ष पूर्ण केसीले भने, ‘सेभ द चिल्ड्रेनले रोल्पामा जेजति सुधार गरेको छ, त्यसलाई हामीले निरन्तरता दिने प्रयास गर्नुपर्छ। परियोजनाका राम्रा र सिक्न योग्य कुराहरु नियमित हुनेछन्।’ बहिर्गमन कार्यक्रममा बोल्ने स्थानीय तह प्रमुखहरूले उक्त परियोजनाले सिकाएका राम्रा अभ्यासहरूलाई निरन्तरता दिने बताएका थिए। गुणस्तरीय समावेशी आधारभूत शिक्षा र सिकाइ उपलब्धिमा वृद्धि गर्ने लक्ष्य र बालबालिकाको पढाइ सीपमा सुधार गर्ने तथा बालविकास केन्द्रको अनुभव सफलतापूर्वक पूरा गर्ने रणनीतिक उद्देश्य रहेको परियोजना सफल रहेको जनप्रतिनिधिहरूको भनाइ छ। परियोजनाबाट २३ हजार तीन सय ६९ बालबालिका र तीन हजार ६ सय ९६ वयस्क लाभान्वित भएका छन्।

प्रकाशित: १० पुस २०७६ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App