काठमाडौं- अपराह्नमा सुन्धारा चोकदेखि न्युरोड गेटसम्मको सडक पूर्वपट्टिको दृश्य हेर्दा भव्य मेला वा उत्सवभन्दा कम देखिन्न। अपराह् ४-८ बजे बेलुकासम्म फुटपाथ र सडकको आधा भाग मान्छेको भिडभाडले खचाखच हुन्छ।
कसैको हातमा झोला, कसैकोमा पोकापन्तुरा र कोहीसँग बच्चासमेत रहेर भिडमा हराइरहेका यी सबै त्यहाँ थुप्रिनुको उद्देश्य भने एउटै छ, गाडी चढेर गन्तव्य पुग्नु। तर विड्म्बना, घण्टौं पर्खिंदा पनि गाडी पाइरहेका हुँदैनन्। ५/७ मिनेटको फरकमा आउने माइक्रोलाई ५०/६० जनाले पछ्याउँछन्, १५/२० जना खाँदिएर बस्दा भरिहाल्छ।
एकपछि अर्को थुप्रिएर बनेको हजारौंको भिडले सुन्धारामा बेलुकापख ठूलै मेलाजस्तो हुन्छ। ‘३ बजेबाटै यहाँ (सुन्धारा) गाडी चढ्नेको भिडभाड सुरु हुन्छ,’ सुन्धारास्थित ड्युटीमा भेटिएका ट्राफिक प्रहरी सुन्दर चर्मकारले भने, ‘५ बजेतिरको समयमा त झण्डै तीनचार हजारकै भिड थुप्रिन्छ। उक्त भिड ६ बजेबाट घट्दै गई ८ बजेसम्म फाट्टफुट्टमात्रै रहन्छ।’
बेलुकापख गन्तव्यमा फर्किन गाडी पर्खिनेको भिडले सडक नै ढाक्ने गरेको ट्राफिक प्रहरी बताउँछन्। ‘हामीले हटाउनै नसक्नेगरी सडकमै यात्रु आउँछन्,’ ट्राफिक प्रहरी चर्मकारले अनुभव सुनाए। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उक्त ठाउँमा दुईवटा घोडा व्यवस्था गरेको छ। सडकमा भिडभाड भएको ठाउँमा घोडा खेदेपछि डराएर यात्रुले सडक छोड्ने गरेका छन्।
सडकमा आउनु यात्रुको रहर होइन, बाध्यता हो। सुन्धारामा गाडी कुर्दाकुर्दा यात्रुसमेत दिकदार हुन्छन्। नेपाल वायुसेवा निगमअगाडि आधा घण्टादेखि टोखाको गाडी कुरिरहेको अवस्थामा भेटिएकी शर्मिला थपलियाले भनिन्, ‘बेलुका सिधै आएर गाडी चढ्न कहिल्यै पाइन्न। आधादेखि एक घण्टा गाडी चढ्नमै समय छुट्याउनु पर्छ।’
न्युरोडको एक सहकारीमा कार्यरत थपलियाले अनुभव सुनाइन्, ‘गाडी कुर्दा पनि सजिलै चढ्न कहाँ पाइन्छ र! बल हुनेले ठेलेर हामीजस्ता महिलालाई त चढ्नै दिन्नन्।’ सुन्धारा क्षेत्रमा गाडी चढ्दाका नरमाइला अनुभव पनि छन् थपलियासँग। भिडभाडको मौका छोपेर संवेदनशील अंगमा केटाहरूले हात लैजाने गरेको अनुभव छ उनको।
सुन्धारामा गाडी चढ्न सकस खेप्ने थपलिया एक्ली होइनन्। राजधानीको प्रमुख व्यापारिक केन्› न्युरोड, महाबौद्ध, सुन्धारा आसपासमा विभिन्न कामका लागि आउने उपत्यकावासीकै साझा समस्या हो यो। यात्रुको चाप हेरेर गाडी नथप्दा यात्रुले वर्षौंदेखि यो समस्या झेल्दै आएका छन्।
यात्रुले सिट होइन, उभिनै पनि पाउँदैनन्। ‘सिट पाउनु त भाग्यकै कुरा’, सुन्धारामै भेटिएकी चंखकुमारी राउतले भनिन्, ‘माइक्रोभित्र छिर्न पाउनु नै भाग्यको कुरा ठान्ने गरेको छु।’ राउतले आफूले वषौंदेखि यस्तै समस्या झैल्दै आएको अनुभव सुनाइन्।
सुन्धाराबाट छाउनी, स्वयम्भू, बालाजु, नयाँ बसपार्क, चाबहिल, बौद्ध, गोर्कण, पुरानो बानेश्वर, महाराजगन्ज, बूढानीलकण्ठ, धुम्बाराही, कपन, कोटेश्वर, ललितपुरको ग्वार्कोे, लगनखेल, सातदोबाटो, कालीमाटी, कलंकी क्षेत्रमा जाने सवारीसाधन पाउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनायो। महाशाखाका अनुसार १ देखि २९ नम्बरसम्मका रुटमा चल्ने माइक्रो तथा बस सुन्धाराबाट पाइन्छ। सबैतिर जाने यात्रु एकै ठाउँ थुप्रिने गर्दा पनि भिडभाड निकै हुने गरेको छ। अधिकांश रुटमा भने माइक्रो चल्छन्। महाराजगन्ज, नयाँ बसपार्कलगायतका ठाउँमा साझा बस पनि जान्छ।
जति नै सवारीसाधन भए पनि सुन्धारामा पुगेपछि एकछिनमा भरिन्छन्। यसले गर्दा बढी मर्कामा पर्नेमा वृद्धवृद्धा, केटाकेटी र महिला छन्। यतिमात्र होइन, अव्यवस्थापनले त्यहाँ पुग्ने सवारीसाधन कुर्दै गरेका यात्रुलाई पेल्दै समेत गुड्ने गरेका छन्। यात्रु नपाउँदा जाने ठाउँको नाम सोध्ने सवारी चालक र सहचालक यात्रु प्रशस्तै भएपछि कहाँ जाने भनेर यात्रुले सोध्दा समेत बोल्दैनन्। एकतिर गाडी नपाएर समस्या झेलिरहेका यात्रुलाई चालक तथा सहचालकले उक्त सवारी कहाँ जाने हो भनेर नभनिदिँदा यात्रु दोहोर मारमा छन्। यातायात व्यवसायीले साना गाडी गुडाउँदा र पिक आवरमा पर्याप्त गाडी नहुँदा यस्तो समस्या भएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सुन्धारा क्षेत्रको समस्या व्यवसायीले पनि बुझेको बताए। ‘त्यस क्षेत्रमा यात्रुलाई धेरै नै सास्ती छ,’ महासचिव सिटौलाले भने, ‘हामीले केही ठाउँमा ठूला बस चलाएर समस्यामा केही कमी आएको छ। त्यस क्षेत्रको समस्या कम गर्न पनि हामी लागिरहेका छौं।’ उनले मन्त्रालयसँगै त्यस क्षेत्रमा चलिरहेका साना सवारी कसरी व्यवस्थापन गरेर ठूला सवारी चलाउने भन्ने विषयमा छलफल चलिरहेको बताए। केही महिनापछि त्यस क्षेत्रमा गाडी कुर्नुपर्ने समस्या हल हुने सिटौलाले दाबी गरे। साना माइक्रोलाई अन्य ठाउँमा सारेर ठूला बस चलाउने सिटौलाको भनाइ छ।
प्रकाशित: ४ पुस २०७३ ०३:२३ सोमबार