६ वैशाख २०८१ बिहीबार
कला

कलामा सांस्कृतिक लोमान्थाङ

पोखरा - अधिकांश नेपाली युवाहरुको रहर, एकपटक हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने। ल्यान्डस्केप र मरुभूमिजस्तै अनुभूति गराउने सो क्षेत्रको लोमान्थाङ (माथिल्लो भेग) को दृश्यले माटोको सहरको पहिचान दिन्छ। सांंस्कृतिक र प्राकृतिक सम्पदाले भरिएको यो क्षेत्र अवलोकन गर्न विदेशी पर्यटक अतिरिक्त शुल्क तिरेर पुग्ने गर्छन्।

सयौं वर्ष पुराना सम्पदा रहेको लोमान्थाङमा प्राकृतिक र सांस्कृतिक सम्पदाको पहिचान बनाएका गुफा, दरबार, गुम्बा, राजसंस्थाले यसको परिचय अझै फराकिलो पारेको छ। विसं. २०७२ को भूकम्पले ती सम्पदालाई कमजोर बनाएको थियो। लोमान्थाङको प्रकृति र संस्कृति रुपमा कमजोर हुँदै गएको चिन्ता चित्रकार छिरिङ फोन्जो गुरुङले गरेका छन्। त्यसैले लोमान्थाङलाई कलामा उतारेर उनले बुधबारदेखि लेकसाइडस्थित बाराही होटलको फराकिलो हलमा प्रदर्शनमा राखेका छन्। उनले लोमान्थाङको कला, संस्कृति, सम्पदा, गुम्बा राजसंस्थाको शैलीलाई चित्रकलामार्फत प्रस्तुत गरेका छन्।

‘लोमान्थाङ हाम्रो सम्पत्ति हो। त्यहाँका सम्पदा कमजोर हुँदै गएका छन्। मैले त्यही सम्पदा, कला, भूगोल, संस्कृतिलाई चित्रमार्फत उतारेको छु। जतिबेला लोमान्थाङ आधुनिक सहर बन्दै जाँदा मेरो यो कला भव्य सम्पत्ति बन्नेछ,’ उनले भने, ‘कसैले लोमान्थाङका संरचना पुर्ननिर्माण गर्न चाहन्छ भने मैले दिएको वास्तविक आकारबाट प्रोत्साहित हुन पाउँछन्।’
मुस्ताङको लोमान्थाङ–१ छोसेरका चित्रकार गुरुङ थाङ्का बनाउनेदेखि कला उतार्नेसम्ममा सक्रिय छन्। ‘रोजगारको सिलसिलामा चार वर्ष कोरिया बसें। स्वदेशमा बसेर मलाई कलाले बचाएको छ,’ उनले भने। यसअघि उनले दुईपटकसम्म लोमान्थाङको सो कलाहरु प्रदर्शन गरेका थिए। यो उनको तेस्रो एकल कला प्रदर्शनी हो।

‘कलाको माध्यमबाट लोमान्थाङको पर्यटन प्रवद्र्धन गर्ने कला प्रदर्शनी गरेको हुँ,’ उनले भने, ‘यसले लोमान्थाङको महत्व झल्काएको छ।’ कलाको माध्यमबाट नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गरिरहेका उनले मुस्ताङका युवा वर्गमा कलाको माध्यमबाट स्वदेशमा रोजगार सिर्जना गर्न प्रेरित गरेका छन्।

प्रदर्शनीमा उनको ४३ वटा चित्र राखिएको छ। लोमान्थाङका सांस्कृतिक राजा, गुम्बा, त्यहाँको संस्कृति, गुफा, परम्परागत भाँडा र रहनसहन लगायतलाई उनले कलामा उतारेका छन्। ‘सिंगो लोमान्थाङ बुझन यो चित्रकला काफी छ,’ उनले भने, ‘लोमान्थाङ नपुगेका दर्शकलाई यी कलाले लोमान्थाङ घुमाएको अनुभूति दिलाउँछ।’

सो कला प्रदर्शनीको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ‘लोमान्थाङ कला, संस्कृति र सम्पदामा धनी छ। राजतन्त्र नभएपनि लोमान्थाङका राजा र राजसंस्थाको आफ्नै महत्व छ। सांस्कृतिक रुपमा रहेको लोमान्थाङको राजसंस्था पनि त्यहाँको गहना हो।’ लोमान्थाङको कला, संस्कृति, सम्पदा जोगाउनका लागि सरोकारवाला लाग्नुपर्ने उनले बताए।

प्रकाशित: १० पुस २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App