coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शिवराम उपाधिनजिक

काठमाडौं – शिवराम श्रेष्ठले आठ स्ट्रोकको फराकिलो अग्रतासहित बुधबार सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको फाइनल चरणमा स्थान बनाएका छन्। शिवरामले पार–७२ को गोकर्ण गल्फ कोर्समा तेस्रो दिन चार अन्डर ६८ स्कोर गर्दा शीर्ष स्थानका लागि आठ स्ट्रोकको अग्रता बनाए।

अन्तिम दिन १८ होलको खेल बाँकी छँदा फराकिलो अग्रता बनाएका शिवराम उपाधिनजिक पुगेका छन्। कुल ५४ होलको समाप्तिमा शिवरामले १० अन्डर २ सय ६ स्कोर बनाएका छन्। सूर्य नेपाल गल्फ टुर्स २०१९–२० अन्तर्गत सेन्ट्रल ओपनमा कुल दुई अन्डर २ सय १४ स्कोर बनाएका रवि खड्काले शिवरामलाई पछ्याइरहेका छन्।

रविले तेस्रो दिन तीन अन्डर ६९ स्कोर गरेपछि शिवरामसँगको अग्रता छोट्याउन सकेनन्। त्यससँगै उपाधिका लागि शिवराम बलिया दाबेदार देखिएका छन्। रामे मगरले पनि एक ओभर ७३ स्कोर बनाएपछि कुल दुई ओभर २ सय १८ को स्कोर कार्डमै सीमित भए। भुवन नगरकोटी र शुक्रबहादुर राईले समान तीन ओभर २ सय १९ स्कोर बनाएका छन्।
दुवैले तेस्रो दिन तीन ओभर ७५ को प्रदर्शन गरेका थिए। दीपक थापामगर र सञ्जय लामाले कुल चार ओभर २ सय २० स्कोर बटुलेका छन्। यी दुईले पनि दिनको संयुक्त प्रदर्शन गर्दा तीन ओभर ७५ स्कोर गरेका थिए। धनबहादुर थापा र एमेच्योर सुवास तामाङले पाँच ओभर २२१ को स्कोर बटुलेका छन्।

बुधबार दुवैले एक ओभर ७३ को कार्डमा खेलेका थिए। कुमार कामी (७४), भुवनकुमार रोक्का (७५) र टंकबहादुर कार्की (७६) ले तेस्रो दिनको समाप्तिसँगै ६ ओभर २२२ को स्कोर कार्ड बनाएका छन्। एमेच्योरतर्पmको प्रतिस्पर्धामा सुवासले रितेश तामाङमाथि पाँच स्ट्रोकको अग्रता बनाएका छन्। तेस्रो दिन एक ओभर ७३ मा खेलेपछि रितेशको कुल १० ओभर २२६ को कार्ड बनेको छ।

त्यस्तै फाइनल चरणअघि शिवरामले दुवै नाइनमा दुई अन्डर ३४ स्कोर बनाएका थिए। त्यस क्रममा उनले फ्रन्ट नाइनको पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरेका थिए। त्यसअघि शिवरामले छैटौं होलमा भने बोगी खेपेका थिए। १२औं र १५औं होलमा बर्डी प्रहार गरेका शिवरामले ब्याक नाइनमा भने कुनै पनि बोगीको सामना गरेनन्।

यता बोगीबाट तेस्रो दिनको खेल सुरुआत गरेका रवि खड्काले तेस्रो होलमा इगल गर्दै पुनरागमनको प्रयास गरेका थिए। तर, आठौं होलमा पुनः बोगीको सामना गरेका रविले त्यसलगत्तैको होलमा बर्डी प्रहारसँगै फ्रन्ट नाइनमा एक अन्डर ३८ को कार्ड बनाए।  ११औं होलको सट खेर फालेका रविले त्यसपछि पुनरागमन गर्दै १२औं, १६औं र १७औं होलमा बर्डी प्रहार गरेका थिए। त्यससँगै उनले ब्याक नाइनमा दुई अन्डर ३४ को कार्ड बनाए।

फ्रन्ट नाइनमा दुई अन्डर ३४ को प्रदर्शन गरेका रामे मगर ब्याक नाइनमा भने तीन ओभर ३९ को स्कोरमा खेल्न बाध्य भएका थिए। बिहीबार फाइनल चरणमा १८ होलको खेल हुनेछ। कुल ४३ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेको प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख रुपैयाँ छ। विजेताले १ लाख २५ हजार, उपविजेताले ८० हजार र तेस्रोले ५८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। शीर्ष २१ गल्फरले नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: १० पुस २०७६ ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App