८ वैशाख २०८१ शनिबार
खेल

रनरेटमा विराटनगर भाग्यमानी

पोखरा - विराटनगर टाइटन्स बुधबार काठमाडौ गोल्डेन्सलाई नेट रनरेटमा पछि पार्दै पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को प्लेअफमा प्रवेश गरेको छ। समूह चरणका पाँचवटै खेल जितेको चितवन राइनोज १० अंकका साथ समूहको शीर्ष स्थानमा बस्दै यसअघि नै फाइनल प्रवेश गरिसकेको थियो।

त्यस्तै ४ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा बसेको बुटबल ब्लास्टर पनि यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको थियो। ४ अंकका साथ काठमाडौं तेस्रो स्थानमा थियो भने २ अंकका साथ विराटनगर चौथो स्थानमा थियो। विराटनगरलाई प्लेअफ प्रवेश गर्न बुटवलविरुद्धको जित मात्र पर्याप्त थिएन। बुटबलले प्रस्तुत गरेको लक्ष्य १२.२ मा पूरा गर्नुपर्ने थियो। दबाबमा रहेको विराटनगर अन्ततः १ सय ३४ रनको लक्ष्य ८ विकेटको क्षतिमा मात्र ११.४ ओभरमा पूरा गरी रनरेटमा भाग्यमानी बन्दै प्लेअफ प्रवेश गर्ने अन्तिम टोली बन्यो।

विराटनगरको जितमा नोमान खानले सर्वाधिक ३५ रनको योगदान गर्दा पुनित मेहराले ३२ रनको योगदान गरे। नोमानले २२ बलमा ५ चौका प्रहार गर्दा मेहेराले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। पहिलो विकेटका लागि १.४ ओभरमा ओपनर लोकेश बम र मोहम्मद जाइद आलमले २६ रनको साझेदारी गर्दै विराटनगरलाई राम्रो सुरुआतको संकेत गरेका थिए। १३ रन जोडेका लोकेशलाई चितवनका हर्स टंकले बोल्ड गरेका थिए।

विराटनगरले थप ५ रन जोड्दा कप्तान प्रदीप ऐरी (५) लाई समेत गुमयो। ऐरीलाई नीतिश थापाले रवीन्द्र शाहीबाट क्याच गराएका थिए। तेस्रो विकेटका लागि आलम र मेहराले २७ रनको साझेदारी गर्दै विराटनगरको इनिङ उकास्ने प्रयास गरेका थिए। आलमले अविनाश बोहोराको बलमा सिद्धान्त लोहनीबाट क्याच हुनुअघि  १० बलमा चार चौका र एक छक्काको मद्दतमा २४ रन बनाए। चौथो विकेटका लागि मेहरा र नोमनले ३४ रनको साझेदारीका साथ विराटनगरको इनिङ थप उकासेका थिए। पुष्प थापाले नोमनसँग सातांै विकेटका लागि २८ रनको साझेदारीका साथ विराटनगरलाई  सहज जित दिलाउँदै अघिल्लो चरणको सम्भावना प्रबल बनाएका थिए। १२औं ओभरको चौथो बलमा पुष्पले लेगबाईमा चौका प्रहार गरेपछि  विराटनगरले पोखराको मैदानमा प्लेअफको खुसी मनाएको थियो।

बुटबलका नीतिश थापाले २ तथा अविनाश बोहोरा, हर्ष टंक र कमल खत्रीले समान १ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निमन्त्रणा पाएको बुटवलले हर्ष टंकले बनाएको अर्धशतकमा ८ विकेट गुमाउँदै विराटनगरलाई १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

बुटबलले ओपनर अफ्ताबुद्दिन अहमदलाई रन खाता नखोल्दै पहिलो विकेटको रूपमा गुमायो। बुटबलका शंकर राना र हर्षले दोस्रो विकेटका लागि ३२ रनको साझेदारीका साथ इनिङ उकास्ने प्रयास गरेका थिए। २ रन मात्र जोडेका शंकरलाई दोस्रो विकेटका रूपमा गुमाएको बुटबलले थप १५ रन जोड्दा भीम सार्कीलाई पनि गुमायो। भीमले ५ रनमा आउट भएपछि हर्षले शिवम् सिंहसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे। टंकले ६७ रन बनाए। उनले ४४ बलमा ६ चौका र ५ छक्का हिर्काउँदै फास्टेस्ट ५० को पुरस्कार थापे। शिवम्ले पनि ३७ रन बनाए। २६ बलमा ३ चौका र १ छक्का उनको इनिङ्समा रह्यो। रवीन्द्र शाही ०, समसाद शेख ७ रनमा आउट भए।

विराटनगरका मोहम्मद जैद आलमले ४ विकेट लिए। उनी म्यान अफ दी म्याचको हकदार बने। २७ लाख पुरस्कार राशिको उपाधिका लागि चितवन फाइनलमा पुगिसकेको छ। उपाधिका लागि बुटवलले विराटनगरसँगै बिहीबार प्लेअफ खेल्नेछ। बुटवलले आफ्ना नियमित कप्तान सोमपाल कामीलाई आराम दिएको थियो। १२औं ओभरको चौथो बलमा पुष्पले लेगबाईमा चौका प्रहार गरेपछि  विराटनगरले पोखराको मैदानमा प्लेअफको खुसी मनाएको थियो।

प्रकाशित: १० पुस २०७६ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App