रौतहट- राजपुर बम काण्डको सफल अनुसन्धान गरी नाम कमाएका रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीको बिदाई गरिएको छ। प्रहरी प्रधान कार्यालयले गत हप्ता एसपी खत्रीलाई सरुवा गर्दै रौतहटको नयाँ प्रहरी प्रमुखमा एसपी रविराज खड्कालाई पदस्थापन गरेपछि एक समारोहबीच एसपी खत्रीलाई बिदाई गरिएको हो।
एसपी खत्रीको बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुख, समाजसेवी, राजनीतिकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा एसपी खत्रीले रौतहट प्रहरी प्रमुखको रुपमा जिल्लामा गरेका विभिन्न कार्यहरुको खुलेर प्रशंसा गरिएको थियो।
एसपी खत्रीको कार्यकालमा नेपाली काँग्रेसबाट निर्वाचित साँसद राजपुर बम काण्डका आरोपी महम्मद आफताब आलमलाई पक्राउ गर्नु, भन्सार चोरी निकासीलाई निरुत्साहित गर्नु, भन्सार राजस्वमा वृद्धि हुनु, अदालतले दोषी ठहर्याएका दर्जनौलाई पक्राउ गर्नु तथा जिल्लामा निरन्तर शान्ति सुव्यवस्था कायम राख्नुलाई मुख्य उपलब्धिको रुपमा लिइएको छ।
बिदाई कार्यक्रममा एसपी खत्रीले आफू रौतहट प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा प्रहरी कर्मचारी, रौतहटका नागरिक तथा सर्वसाधारणले सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेका छन्। सबैको सहयोगले आफ्नो कार्यकाल राम्रोसँग बितेको र रौतहटको सबै पक्षले प्रहरीलाई सकारात्मक सहयोग गर्ने विश्वास पनि व्यक्त गरेका एसपी खत्री काठमाडौँ सरुवा भएका छन्।
सांसद आलमको मुद्दा हेरिरहेका रौतहट जिल्ला अदालतका न्यायाधीश, जिल्ला सरकारी वकिलको कार्यालयका वकिल लगायतको सरुवा भएपछि एसपी खत्रीको पनि सरुवा हुने अनुमान सर्वसाधारणले गरेका थिए।
प्रकाशित: ९ पुस २०७६ १३:३२ बुधबार