coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ५ मा लम्बिँदै आन्दोलन

पश्चिमेली व्युरो

नेपालगन्ज- प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई ४ प्रदेशमा गाभ्नेगरी ल्याइएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलन तीन सातादेखि जारी छ। यसबाट प्रदेश नम्बर ५ का जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। आन्दोलनका कारण अन्य क्षेत्र पनि प्रभावित भएको छ।

आन्दोलनका क्रममा आह्वान गरिएको बन्द–हड्तालका कारण सर्वसाधारणले सास्ती भोगेका छन्। सरकारले माग सुनुवाइ नगरेको भन्दै संघर्षका थप कार्यक्रम घोषणा गर्ने तयारी छ।

एमाले रुपन्देही अध्यक्ष शिव सुवेदीका अनुसार सर्वदलीय बैठकले १० गतेसम्म आन्दोलनका कार्यक्रम तय गरेको छ। त्यतिबेलासम्म माग  सुनुवाइ नभए सशक्त आन्दोलनको कार्यक्रम ल्याइने उनले बताए।

एमालेलगायत विपक्षी दलले शुक्रबारदेखि तीन दिसम्म प्रदेश बन्द आयोजना गरे। यसबाट सास्ती झन् बढ्यो। बालबालिका र अल्लारे युवा बन्द गराउन प्रयोग हुँदा दुव्यर्वहार र मानवअधिकार हनन्का घटना भए। बाँकेमा बन्दकर्ता मोटरसाइकलमा चढेर बन्द गराउँदै हिँडे, सर्वसाधारले भने रिक्सासमेत चढ्न नपाई सास्ती खेप्न बाध्य भए। हातमा लाठी र झन्डा बोकेर मोटरसाइकलमा हुइँकिने आन्दोलनकारीका कारण सहरमा त्रासको वातावरण बनेको छ।

बुटवलमा शनिबार राति राजमार्ग चौराहामा लु१च २१३१ नम्बरको एम्बुलेन्स तोडफोड भयो। एम्बुलेन्स तोडफोड भएको विरोधमा आइतबार दिउँसो १२ बजेदेखि १ बजेसम्म एम्बुलेन्स चालकले सडकमा एम्बुलेन्स प्रदर्शन गरेर विरोध जनाए। उनीहरूले एम्बुलेन्स र चालकको सुरक्षाको माग गर्दै प्रदर्शन  गरेका हुन्। एम्बुलेन्स चालक  संघ लुम्बिनीअध्यक्ष यदु भण्डारीले एम्बुलेन्स र चालकमाथि विगतदेखि नै पटकपटक आक्रमण भएको भन्दै सांकेतिक रुपमा विरोध गरेको बताए। उनले घटना दोहोरिए सेवा दिन नसकिने पनि जनाए।

गुल्मीमा पनि आइतबार जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी कार्यालयमा आन्दोलनकारीले तालाबन्दी  गरे। नेपाल टेलिकम,  विद्युत र जनस्वास्थ्य कार्यालयबाहेक सदरमुकामका सबै सरकारी कार्यालयमा तालाबन्दी गरेको कांग्रेस गुल्मी सभापति भुवन श्रेष्ठले बताए। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा गरेको तालाबन्दी प्रहरीले खोल्ने क्रममा झडप हुँदा सांसद कमला विश्वकर्मासहित २४ जना घाइते भएका थिए।

रोजगारीको लागि भारत जान हिँडेका दैलेख, डाँडीमाडीका सुरेश थापा बसले बीच बाटोमै छोडेपछि ३० किलोमिटर पैदल हिँडेर नेपालगन्ज पुगे। 'बन्दमा डर हुने भन्दै बसले सुर्खेतबाट पाँच सय रुपैयाँ भाडा लियो, तैपनि बीच बाटोमै अलपत्र पारिदियो,' उनले भने, 'हामी बाटोमा पैदल हिँडिरहँदा आन्दोलनकारी मोटरसाइकलमा हुइँकिँदा भने साह्रै दुःख लाग्यो।'

बाँके, बर्दिया, दाङ, रुपन्देहीलगायत तराईका जिल्लामा एमालेलगायत दलले आह्वान गरेको बन्दका कारण नागरिकले सास्ती पाएका छन्।

अर्घाखाँचीमा आमहड्तालको तेस्रो दिन आइतबार आन्दोलनकारीले जिल्ला प्रशासनसहित सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्। अधिकांश कर्मचारी कार्यालय समयमै घर फर्किए भने केही कर्मचारी कार्यालयबाहिर बसे। कार्यालय बन्द भएपछि कामकाज ठप्प भयो। पसल, उद्योग–कलकारखाना, शिक्षणसंस्था ठप्प छन्। बन्दकर्ताले रातिसमेत सवारीसाधन चल्न दिएका छैनन्। बन्दकर्ताले पहिचान भएपछि मात्र एम्बुलेन्स र प्रेसका गाडी चल्न दिएका छन्।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग गर्न नहुने माग राखेर तीन सातादेखि आन्दोलन  जारी राख्दा पनि सरकारले माग सम्बोधन गर्नेतर्फ ध्यान नदिएको आन्दोलनकारीको गुनासो छ। नेपाली कांग्रेस अर्घाखाँची सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु मुस्कानले सरकारले संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म आन्दोलन नरोकिने बताए।

प्युठानमा पनि आन्दोलनका विभिन्न कार्यक्रम जारी छन्। जिल्ला प्रशासन कार्यालयमा धर्ना, चक्काजाम, जिल्ला बन्द, आमहड्ताल, थाल जुलुस, राँके जुलुसजस्ता कार्यक्रम हुँदै आएका छन्। उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपान अबको आन्दोलन सदरमुकामकेन्द्रित हुने बताउँछन्। जिल्लामा चार दिनदेखि जारी आमहड्ताल भने आइतबारदेखि खुलेको छ।

पाल्पामा संयुक्त आन्दोलन संघर्ष समितिले आह्वान गरेको साठीघन्टे आमहड्ताल आइतबार दिउँसो १ बजे सकिएको छ। बन्दका कारण पाल्पाको जनजीवन प्रभावित भयो। आन्दोलनकारीले सोमबार आन्दोलनको समीक्षा गर्ने र पुस १० गतेसम्मकाा लागि विरोध कार्यक्रम सार्बजनिक गर्ने जनाएका छन्।

(शेरबहादुर केसी– बुटवल, अर्जुन ओली– नेपालगन्ज, देबेन्द्र बस्नेत– दाङ, मुक्तिप्रसाद न्यौपाने– पाल्पा, अर्जुन भुसाल– अर्घाखाँची, एलबी थापा– प्युठान)

प्रकाशित: ४ पुस २०७३ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App