१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपासँग एकता गर्न प्राविधिक कुरा बाँकीः यादव

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) संग एकीकरण गर्न प्राविधिक बिषय बाँकी रहेको बताएका छन्। राजपा सरकारमा जाने हल्ला कै बीच अध्यक्ष यादवको उक्त धारणा आएको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिन सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राजपासंगको एकताको संकेत गरेका हुन्। ‘एकताका लागि राजपाले राख्दै आएको मुख्य शर्त पुरा भएको छ’ अध्यक्ष यादवले भने‘ ‘अब राजपा कसरी अगाडि बढ्छ भन्नेमा एकताको खाका कोरिने छ।’

राजपाले समाजवादीसँग एकता गर्न सरकारबाट बाहिरिनु पर्ने मूख्य सर्त राख्दै आएको थियो। ‘राष्ट्रिय जनता पार्टीसँग एकीकरणका लागि धेरै हदसम्म कुरा भएको छ, केही प्राविधिक कुराहरु मात्र बाँकी रहेको छ’ उनले भने। यता सतारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच आगामी राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ। दुई पार्टीबीच अघिल्लो बुधबार २ बुँदे सहमति भएसँगै राजपा पनि सरकारमा जाने चर्चा चलेको थियो।

राजपा संयोजक राजेन्द्र महतोले दुई बुँदे सहमतिपछि नेकपासँगको संवादहीनता अन्त्य भएको बताउँदै आएका छन्। उनले सरकारमा जाने नजाने टुंगो नलागेको बताउँदै आएका छन्। पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तराई मधेशका जिल्लाहरुमा तीव्र दमन भएरहेका बेला संविधानको घोषणा गरिएको स्मरण गरे।

उनले तराई मधेशमा संविधान दिवसको दिन ‘ब्ल्याक आउट’ हुनुको कारण संविधानका कतिपय धाराहरु अस्वीकार्य रहेको बताए। ‘पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाइको दम्भ सकिएको छ। शासकीय स्वरुप, निर्वाचन प्रणाली, समावेशिताको सवालमा हाम्रो पार्टीको असहमति हो’, उनले भने। ‘सरकारमा सहभागि हुँदा संविधान संशोधन गर्ने गरि विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएको कमि कमजोरी हटाउने भन्ने स्पष्ट सहमति भएको थियो। हामीले पटक पटक भन्यौँ। पार्टीको प्रतिनिधिमण्डल नै बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौँ’, अध्यक्ष यादवले भने। पार्टीका तर्फबाट उपप्रधानमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले हिजो राजीनामा दिई सकेका छन्। प्रतिनिधिसभा १७ सांसद रहेको समाजवादी पार्टीले सरकार परित्याग गरेसंगै ओली सरकारको दुई तिहाई मत गुमेको छ।

 

प्रकाशित: ९ पुस २०७६ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App