coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

फौजी किराले उदयपुरमा ३५० हेक्टर जमिनको धान नष्ट

उदयपुरगढीमा लागेको फौजी किरा नष्ट गर्दै कृषि प्राविधिक। तस्बिरः महेश्वर

उदयपुर- विगत वर्षहरुको तुलनामा यस वर्ष उदयपुरको धान उत्पादन घटेको छ। धान पसाए कै बेला अमेरिकन फौजी किराको प्रकोप बढेका कारण उत्पादन घटेको कृषि ज्ञान केन्द्र गाईघाटले जनाएको छ। पसाएदेखि पाक्ने बेलासम्म फैलिएको फौजी किराले धान उत्पादनमा कमि आएको ज्ञान केन्द्रले जनाएको छ।

उदयपुरमा चालु आर्थिक वर्ष १२ हजार ७ सय ११ हेक्टर क्षेत्रफल जमिनमा धान खेती लगाइएको थियो। जसमध्ये ३ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा फौजी किराको प्रकोप फैलिएको थियो। साढे ३ सय हेक्टरको धान फौजी किराले नष्ट गरेपछि ०७६/७७ मा ४७ हजार ९ सय २० मेट्रिक टन मात्र धान उत्पादन भएको केन्द्रले जनाएको छ। यो उत्पादन सरदर प्रतिहेक्टर ३ दशमलव ७७ मेट्रिक टन हाराहारी हो।

यो वर्ष गत वर्ष भन्दा ४ हजार ७ सय ८१ मेट्रिक टन धान कम उत्पादन हुनुमा मुख्य कारण फौजी किराको प्रकोपलाई नै मानिएको ज्ञान केन्द्रको दावी छ। यसको आधारमा फौजी किराले यो वर्ष जिल्लामा २९ लाख २९ हजार रुपैयाँ बराबरको धान क्षति पुगेको ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीले बताए। उनका अनुसार विगत वर्षहरुमा सामान्य रोगका किरा लागे पनि प्रकोपको रुपमा कहिल्यै लागेको थिएन। तर, यो वर्ष अत्याधिक किरा लाग्नेगरी प्रकोप फैलिएर किसानलाई व्यापक क्षति पुग्यो।

उनका अनुसार फौजी किराले सबभन्दा बढी क्षति चौदण्डीगढी नगरपालिकामा गरेको छ। त्रियुगा र बेलका नगरपालिकामा पनि क्षति गरेको विवरण ज्ञान केन्द्रसँग छ।  

केन्द्रको तथ्याङक अनुसार फौजी किराको प्रकोपले यो वर्ष ३ हजार १ सय ५३ घर परिवार किसान प्रभावित भएका छन्। आर्थिक वर्ष २०७५/०७६ मा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको थियो। जसबाट ५१ हजार ५ सय १३ मेट्रिक टन धान उत्पादन भएको केन्द्रको अभिलेखमा उल्लेख छ। गत वर्ष प्रतिहेक्टर ३ दशमलव ८६ मेट्रिक टन धान उत्पादन भएको थियो।

त्यस्तै आव २०७४/०७५ मा १२ हजार ६ सय ६५ हेक्टरमा लगाइएको धान ५१ हजार ३९ मेट्रिक टन उत्पादन भएको थियो। जुन उत्पादन प्रतिहेक्टर ४ दशमलव ०३ मेट्रिक टन हो। गत वर्ष समयमै पानी परेका कारण चालुवर्ष र ०७४/७५ भन्दा बढी जमिनमा धान रोपाई गरिएकोमा यसवर्ष लामो समय खडेरी परेपछि गत सालभन्दा थोरै क्षेत्रफलमा धान लगाउनु परेको किसानको भनाइ छ। ढिलो रोपाईसँगै फौजी किराको आकस्मिक प्रकोपले झन् उत्पादन घट्न पुगेको किसान महासंघ उदयपुरले जनाएको छ।

महासंघका अनुसार सुरुमा जंगलमा विभिन्न वनस्पतिमा देखा परेको फौजी किरा विस्तारै खाद्य बालीमा संक्रमण गर्दै प्रकोपको रुप लिदा किसानलाई मार्का परेको छ।  जिल्लाभरी एकैचोटी फैलिएको फौजी किराबाट अन्न बचाउन कृषकहरुमा आवश्यक ज्ञानको अभावले अन्न उत्पादन घट्न पुगेको हो। प्रकोप नियन्त्रण गर्न स्थानीय तहहरुले प्राविधिक र प्रविधिको प्रयोग गरे पनि समयमा हुन नसक्दा उत्पादनमा क्षति बेहोर्नु परेको कृषक महासंघका कार्यक्रम संयोजक देवी थापामगरले बताए।

कृषि ज्ञान केन्द्रले हरेक स्थानीयतहमा प्राविधिक खटाएको भए पनि किरा नियन्त्रण गर्न पर्याप्त औषधि र समय नपाउँदा फौजी किरा तत्काल नियन्त्रण गर्न नसकेकैले धान उत्पादन घट्न पुगेको ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार राति बत्ती बालेर बत्तीमुनि पानी भरिएको बाल्टिनमा पासो थापेर किरा मार्न सकिन्छ। २/४ दिन निरन्तर खेतमा पानी लगाईरहदा पनि किरा नियन्त्रण गर्न सकिने केन्द्रको सुझाव छ। पानी नभएको ठाउँमा भने विषादी प्रयोग गरेर किरा नियन्त्रण गर्नुपर्ने प्राविधिकको सुझाव छ।

जमिनदेखि १ मिटरभित्रै किराको प्यूपा हुने भएकाले पनि बाल्टीमा पानी राखेर किरा नियन्त्रण गर्न सकिने हुनाले आगामी वर्षदेखि बेलैमा यसबारे जानकारी गराउन केन्द्रले तालिम र सचेतना कार्यक्रम गर्ने जनाएको छ।


 

प्रकाशित: ९ पुस २०७६ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App