७ वैशाख २०८१ शुक्रबार
अर्थ

अमेरिकन फौजी किराले ३५० हेक्टर जमिनको धान नष्ट

उदयपुर– यसवर्ष उदयपुरको धान उत्पादन घटेको छ। अमेरिकन फौजी किराको प्रकोपका कारण धान उत्पादन घटेको हो। 

कृषि ज्ञान केन्द्र गाईघाटका अनुसार धान पसाएसंगै किराले आक्रमण गरेको थियो। उदयपुरमा चालु आर्थिक वर्षमा १२ हजार ७ सय ११ हेक्टर क्षेत्रफल जमिनमा धान खेती लगाइएको थियो।

जसमध्ये ३ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा फौजी किराको प्रकोप फैलिएको थियो। साढे ३ सय हेक्टरको धान फौजी किराले नष्ट गरेपछि ०७६/७७ मा ४७ हजार ९ सय २० मेट्रिक टन मात्र धान उत्पादन भएको केन्द्रले जनाएको छ। यो उत्पादन सरदर प्रतिहेक्टर ३ दशमलव ७७ मेट्रिक टन हाराहारी हो। 

यो वर्ष गतवर्षभन्दा ४ हजार ७ सय ८१ मेट्रिक टन धान कम उत्पादन हुनुमा मुख्य कारण फौजी किराको प्रकोपलाई नै मानिएको ज्ञान केन्द्रको दाबी छ।

यसको आधारमा फौजी किराले यो वर्ष जिल्लामा २९ लाख २९ हजार रुपैयाँ बराबरको धान क्षति पुगेको ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीले बताए।

उनका अनुसार विगत वर्षहरुमा सामान्य रोग किरा लागे पनि प्रकोपको रुपमा कहिल्यै लागेको थिएन। तर, यो वर्ष अत्याधिक किरा लाग्नेगरी प्रकोप फैलिएर किसानलाई व्यापक क्षति पुग्यो। 

उनका अनुसार फौजी किराले सबभन्दा बढी क्षति चौदण्डीगढी नगरपालिकामा गरेको छ। त्रियुगा र बेलका नगरपालिकामा पनि क्षति गरेको विवरण ज्ञान केन्द्रसँग छ।

चौदण्डीगढी नगरपालिकामा ३४ हेक्टर क्षेत्रफलमा लगाइएको धान र मकै बाली फौजी किराले नष्ट गरेको विवरण रेग्मीले सुनाए। त्यस्तै त्रियुगा नगरपालिकामा २ सय ९ हेक्टरमा लगाइएको धान बाली नष्ट गरेको फौजी किराले बेलका नगरपालिकामा १ सय हेक्टर क्षेत्रफल जमिनमा रोपिएको धान बालीमा क्षति गरेको छ। फौजीले उदयपुरगढी गाउँपालिकामा पनि ७ हेक्टर क्षेत्रफल जग्गाको धान बाली नष्ट गरेको केन्द्रको भनाई छ। 

प्रकाशित: ९ पुस २०७६ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App