७ वैशाख २०८१ शुक्रबार
अर्थ

१३ अर्ब बिगो दाबी गर्दै मुद्दा

काठमाडौं – राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले ११ करोड ८१ लाख १६ हजार सात सय ८५ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व चुहावट, झुट्टा तथा नक्कली विजक प्रयोग, विदेशी विनिमय अपचलनको आरोपमा मंगलबार नौजनाविरुद्ध मुद्दा दायर गरेको हो। विभागले बिगोसहित दोब्बर जरिवाना र तीन वर्ष कैद सजाय माग गरेको छ।

यो सँगै चालु आर्थिक वर्षको पुस ८ गतेसम्म १३ अर्ब आठ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। राजस्व छलीमा आक्रामक अनुसन्धान अघि बढाएकोे विभागले यो वर्ष पाँच सय ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ। यो अहिलेसम्मकै धेरै संख्या र मोटो रकम बिगो दाबी हो।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार राजस्व चुहावट, चोरी पैठारी, विदेशी मुद्रा तथा हुन्डी कसुरमा अनुसन्धान गरेर पाँच महिनाको अवधिमा करिब १३ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। ‘आर्थिक अपराधका जोखिमयुक्त क्षेत्रमा सूक्ष्म निगरानी गरेका छौं,’ मैनालीले भने, ‘आर्थिक अपराधमा संलग्नलाई करिब १३ अर्ब रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर ग-यौं।’ कानुनी दायरामा ल्याएपछि राजस्व संकलनमा सुधार आएको मैनालीले बताए।

अर्थ मन्त्रालय मातहत रहेको विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएपछि आक्रामक रुपमा काम अघि बढाएको छ।  विभागका अनुसार मंगलबार रुपन्देही जिल्ला बुटवल नगरपालिका वडा नं १२ बस्ने श्रीराम टोबाको उद्योग प्रालिलाई राजस्व चुहावट अभियोगमा १० करोड ७३ लाख बिगो दाबी गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उद्योगसहित सात जना सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ।

यो सँगै चालु आर्थिक वर्षको पुस ८ गतेसम्म १३ अर्ब आठ करोड रुपैयाँ बिगो दाबीको मुद्दा दायर भएको छ।

उद्योगका सञ्चालक टानबहादुर पाण्डे, कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल, श्रवणकुमार बेरिवाल, बलराम अधिकारी, रामप्रसाद ढकाल र उमादेशी शर्माविरुद्ध मुद्दा दायर गरेको हो। अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताको सहयोगमा स्टिकर, कर बिजकबिना बिक्री वितरण गरको विभागले जनाएको छ।

त्यसैगरी, झुट्टा तथा नक्कली बिजक प्रयोग गरी राजस्व छल्ने रामेछाप घर भई काठमाडौं बस्ने लालीगुराँस इन्टरप्राइजेजका प्रोप्राइटर कमलप्रसाद तिवारीविरुद्ध ५९ लाख ३४ हजार आठ सय २८ बिगो कायम गरी दोब्बर जरिवाना र तीन वर्ष कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विदेशी विनिमय अपचलन गर्ने भारतीय नागरिकविरुद्ध पनि मुद्दा दायर गरेको छ।

विभागले मंसिरमसान्तसम्म झुट्टा तथा नक्कली भ्याट बिल छानबिन गरी एक सय ३० फर्मविरुद्ध ६ अर्ब ७५ करोड रुपैयाँ बिगो, विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबार कसुरमा तीन सय २९ जनालाई प्रतिवादी बनाई चार अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, राजस्व चुहावटका २८ मुद्दामा तीन अर्ब ४३ करोड ४७ लाख बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ।

विभागले साना व्यापारीमात्र नभएर बहुराष्ट्रिय कम्पनी र त्यसका सञ्चालकविरुद्ध पनि मुद्दा दायर गरेको छ। विभागले केही दिनअघि राजस्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी बरुण बेभरेजविरुद्ध करिब दुई अर्ब रुपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। बरुणले हल्का पेय पदार्थ पेप्सी उत्पादन गर्दै आएको छ।

६ वर्षको अवधिमा कम्पनीले भ्याटतर्फ २५ करोड ३४ लाख ६ हजार नौ सय ४० रुपैयाँ र आयकरतर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख ९५ हजार चार सय राजस्व छली गरेको थियो नक्कली कर बिजकको कारोबार गर्ने व्यक्तिसँग मिलेमतो गरी वास्तविक मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर विजक प्रयोग गरेर  राजस्व चुहावट गरेको थियो। कर दायित्व नतिर्ने प्रपञ्च गरी निजी फाइदा लिई राजस्व चुहावट गर्ने गरेको विभागको अनुसन्धानमा भेटिएको छ। राजस्व चुहावट, चोरी पैठारी, विदेशी मुद्रा तथा हुन्डी कसुरमा मुद्दा दायर गर्दै आएको छ। अधिकांश मुद्दा राजस्व छली, भन्सारमा चुहावटका छन्।

प्रकाशित: ९ पुस २०७६ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App