८ वैशाख २०८१ शनिबार
अर्थ

विदेशी पाहुनालाई ‘क्रिसमस’को कोसेली

पोखराको सांग्रिला रिसोर्टको प्रवेशद्वारमा सजाइएको क्रिसमस ट्री। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – पर्यटकीय क्षेत्र पोखरा यतिबेला मुख्य सिजनको अन्तिम समयमा छ। सेप्टेम्बर–नोभेम्बरको मूल सिजन सकिएर पाहुना आगमन दैनिक पातलिँदो छ। अब अर्काे सिजन (फेब्रुअरी–अप्रिल) सुरु नभएसम्म लेकसाइड केही सुस्ताउँछ। घुमघामका लागि आएका अधिक पाहुना यतिखेर फर्किसकेका छन् भने आउने योजनामा रहेका पाहुनाले पनि भ्रमण योजना केही पछाडिका लागि बनाउने गर्छन्।

आइसकेका विदेशी पाहुना फर्किनु र आउने तयारीमा रहकोले पनि ढिला गरी घुमघामको योजना बनाउनुमा कारण हो–स्वदेशमै क्रिसमस र नयाँ वर्ष मनाउन चाहनु। क्रिसमस र नयाँ वर्ष मनाउन स्वदेश फर्किने तिनै पाहुनालाई लक्षित गरी यहाँका ठूला होटलले क्रिसमसको भव्य तयारी गरेका छन्। मंगलबार ‘क्रिसमस इभ’मा जुटेको पर्यटकीय क्षेत्र लेकसाइडका होटलमा भिन्दै चमक छ। यो चमक नयाँ वर्षसम्म रहने व्यवसायीले बताएका छन्।

‘विदेशी पाहुनालाई स्वदेशमै रोक्नका लागि यहाँका होटलमा क्रिसमसको तयारी गरिन्छ,’ सांग्रिला रिसोर्टका आवासीय प्रबन्धक गुप्त गिरी भन्छन्, ‘यो बेला विदेशी पाहुना आगमन घट्छ। त्यही भएर यहाँ भएका थोरै पाहुनालाई पनि मनोरञ्जन दिलाउन हामीले बर्सेनि क्रिसमस इभलाई भव्य बनाइदिन्छौं।’ पाहुनालाई स्वदेशमै क्रिसमस मनाएको अनुभव दिलाउन पोखराका होटलमा पनि सजावट र कार्यक्रम गर्ने गरेको उनले बताए।

नेपालमै पनि भव्य रुपमा क्रिसमस मनाउन पाइन्छ भन्ने सन्देश फैलाउन पनि होटलले कार्यक्रम गर्ने उनले बताए। ‘पाहुनालाई आफ्नै घरमा बसेर परिवार र साथीभाईसँग क्रिसमस मनाएको अनुभव दिलाउन चाहन्छौं,’ गिरीले भने, ‘परिवारबाट बाहिर रहेको अनुभव यहाँ बसेका पाहुनाले गर्नु नपरोस् भन्ने चाहना हो।’ गिरीका अनुसार रिसोर्टले चर्चबाट कलाकार ल्याएर क्यारोल सिंगिङ (क्रिश्चियनको भजन)को पनि कार्यक्रम राखेको छ।

क्रिसमस र नयाँ वर्ष मनाउन स्वदेश फर्किने तिनै पाहुनालाई लक्षित गरी यहाँका ठूला होटलले क्रिसमसको भव्य तयारी गरेका छन्। मंगलबार ‘क्रिसमस इभ’मा जुटेको पर्यटकीय क्षेत्र लेकसाइडका होटलमा भिन्दै चमक छ।

पोखरा आइसकेका विदेशीलाई क्रिसमस मनाउनका लागि स्वदेश फर्कन नपरोस् भनेर उनीहरुलाई अकर्षित गर्नेगरी भव्य तयारी गरेको आवासीय प्रबन्धक गिरीले बताए। ‘बर्सेनि हामीले क्रिसमसमा विदेशीका लागि केही न केही कार्यक्रम गर्छाैं,’ गिरीले भने। सांग्रिलाले पाहुनालाई क्रिसमसमय बनाइदिन होटल प्रवेशद्वारमा झिलिमिलिसहित क्रिसमस ट्री बनाएर सजाएको छ।

यस्तै होटल बाराहीमा पनि यही स्वरुपमा सजावट भएको छ। बाराहीका महाप्रबन्धक राजकुमार केसीका अनुसार यतिबेला विदेशी पाहुना पातलिने समय हो। आएका पाहुना पनि चाड मनाउन स्वदेश फर्किने भएकाले उनीहरुलाई मनोरञ्जन दिलाउन होटलमा कार्यक्रम गरिने केसीले बताए। ‘हिन्दुले दसैं मनाए जसरी क्रिश्चियनका लागि यो समय महŒवपूर्ण रहन्छ,’ केसीले भने, ‘क्रिसमस इभ र क्रिसमस डे उनीहरुको विशेष चाड भएकाले हामीले पाहुनालाई उनीहरुकै चाडको अनुभव दिलाइदिन हरेक वर्ष कार्यक्रम गर्छाैं।’

केसीका अनुसार क्रिसमसका लागि होटल सजाइएको छ। त्यसलाई रोमाञ्चकता दिन क्रिसमस धुन बजाएर गुञ्जायमान पारिएको छ। ‘सान्ताक्लज’को भेषमा सजिएर बालबालिकालाई मिठाई बाड्ने गरिन्छ। क्रिसमस मनाउन स्वदेश फर्कनेलाई रोक्ने पहिलो उद्देश्य रहेको केसीको भनाइ छ। ‘हरेक वर्ष गरिँदै आएको यो कार्यक्रम विदेशी पर्यटकका लागि प्रभावकारी बन्दै गएको छ,’ केसीले भने, ‘यसले पर्यटक बहिर्गमन रोकेको छ। पोखरा आइसकेका विदेशीको बसाइँ लम्बाउन पनि यसले सघाएको छ।’

क्रिसमस मनाउनकै लागि स्वदेश फर्कनु पर्दैन भन्ने सन्देश फैलाउनु जरुरी रहेको उनको भनाइ छ। केसीले भने, ‘त्यसबाहेक विभिन्न संस्थामा कार्यरत विदेशी कर्मचारीलाई पोखरा बोलाउनु पनि अर्काे उद्देश्य हो।’ क्रिश्चियन धर्मावलम्बीका लागि क्रिसमस ‘हिन्दुको दसैं’जस्तै रहेकाले पनि पर्यटकले यसलाई विशेष रुपमा लिन्छन्। ‘अफ–सिजन भएकाले यो बेला पोखरामा विदेशी पर्यटक कम हुन्छन्, उनीहरुको ध्यान तान्न यस्ता गतिविधि आवश्यक छ,’ उनले भने।

क्रिसमसमा खासगरी टर्कीको मासुको परिकार बढी खोजी हुन्छ। हिन्दु धर्मावलम्बीले दसैंमा खसीबोका काटेजस्तै क्रिश्चियनले क्रिसमसमा टर्की चराको मासुको परिकार खाने गर्छन्। त्यसबाहेक केक र प्लम पुडिङ (खीर) पनि अर्काे मुख्य परिकार हो। क्रिसमस आउन झन्डै एक महिना बाँकी छँदै यहाँका होटलमा क्रिसमस केक बनाउने तयारी सुरु हुन्छ। क्रिसमस इभका लागि केक मिक्सिङ गर्ने होटलमा चलन छ। क्रिसमसमा आउने पाहुनालाई चखाउने गरी केक तयार पारिन्छ। क्रिसमस इभमा त्यो  केक चाख्न पाउँदा पाहुना खुसी हुने गरेका छन्।

पाँचतारे होटल पोखरा ग्रान्डको प्रवेशद्वारमै पाहुनाको स्वागतार्थ क्रिसमस ट्री सजाइएको छ। झिलिमिलि बत्तीसहितको सजावटले होटल प्रवेश गरेका पाहुना खुसी हुने गरेका छन्। होटलमा आएका पाहुनाका लागि ‘क्रिसमस इभ’ मनोरम बनाउने गरेको होटलका महाप्रबन्धक रोशन खवासले बताए। ‘होटलमा बसेका पाहुनाका लागि ‘इभ’ विशेष बनाउने गरिएको छ। क्रिसमस अब सबैतिरको चाड बनिसकेको छ,’ उनले भने, ‘अरु धर्मावलम्बीले पनि यो साँझलाई विशेष महत्व दिन्छन्।’

केही वर्षअघिसम्म नेपाल आएका विदेशी पर्यटक क्रिसमस मनाउनकै लागि स्वदेश फर्कने गर्थे। क्रिसमसका कुनै पनि गतिविधि नहुँदा विदेशी यहाँ रमाउन पाउँदैनथे। त्यसैले यहाँ सुनसान हुन्थ्यो। जब नेपालमा पनि क्रिसमस मनाउन थालियो, त्यसपछि कतिपय पर्यटक पोखरामै रोकिन थाले। क्रिसमसमका कार्यक्रम गर्न थालिएसँगै स्वदेश फर्किने पर्यटकको संख्या घट्न थालेको पर्यटन व्यवसायीको भनाइ छ। पोखरा आइसकेका पर्यटकलाई यहीँ रोकिराख्न बेलाबेला र सिजनल कार्यक्रम गर्नु जरुरी रहेको व्यवसायी बताउँछन्।

पोखरा पर्यटन परिषद् (पिटटिसी)का अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘नेपालमै कार्यरत विदेशीलाई पनि यहीँ रोक्न सकिन्छ। विदेशी पर्यटक लक्षित कार्यक्रम भएकाले यतिबेला पोखरा आएका विदेशी निकै रमाएको भेटिन्छन्।’ यसले विदेशीलाई आफ्नो संस्कारको झल्को दिलाउन सकिने उनले बताए। ‘विदेशी पाहुनाको चाड यहाँ मनाउँदा पाहुना खुसी हुन्छन्। यसले सकारात्मक सन्देश प्रवाह भएको छ,’ उनले भने।

प्रकाशित: ९ पुस २०७६ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App