५ वैशाख २०८१ बुधबार
खेल

पुरस्कार प्रस्ट्याउन आग्रह

काठमाडौं – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा टिमतर्फ रजत र कांस्य पदक जित्ने खेलाडीको पुरस्कार प्रस्ट नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

‘वर्तमान सरकार र खास गरी सम्माननीय प्रधानमन्त्रीज्यूले खेलाडीको हौसला अभिवृद्धिका लागि आकर्षक पुरस्कारको घोषणा गर्नुभएको छ। त्यसलाई हामी खेलाडी संघ स्वागत गर्न चाहन्छौं। व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा भए पनि टिम खेलका रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रस्ट सम्बोधन नभएकोमा भने हाम्रो ध्यानाकर्षण भएको छ,’ एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक रूपमा साग आयोजना गर्नुका साथै खेलाडी र खेलकुदलाई अघि बढाउन महत्वपूर्ण काम गर्दै आएको सरकार तथा राष्ट्रिय खेलकुद परिषद्लाई हामी टिम खेलका रजत र कांस्य पदक जित्नेको पुरस्कार पनि तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्न चाहन्छौं।’

त्यस्तै एनआइआइपिएले नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतीक्षा गर्नुपरेका घटनाको स्मरण गराउँदै यसपालि वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझैं तत्काल घोषित रकम उपलब्ध गराउन समेत अनुरोध गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  मंसिर २५ मा सागका पदकविजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुबाटारमा  विशेष सम्बोधन गर्दै व्यत्तिगत स्पर्धामा स्वर्ण विजेतालाई नगद ९ लाख, रजत विजेतालाई ६ लाख र कांस्य पदक विजेतालाई नगद ३ लाख पुरस्कारको घोषणा गरेका थिए। त्यस्तै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने नगद ११ लाख प्रदान गर्ने जनाइएको थियो भने टिम स्पर्धामा स्वर्ण विजेतालाई जनही ५ लाख पुरस्कारको घोषणा गरेको थियो। टिम स्पर्धामा रजत र कांस्य पदक विजेता खेलाडीलाई भने पुरस्कारको घोषणा भएको थिएन।

काठमाडौं, पोखरा र जनकपुर गरी ३ सहरमा मंसिर १५ देखि २४ गतेसम्म चलेको सागमा नेपालले इतिहासमै सबभन्दा बढी ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदकसहित कुल २ सय ६ पदक जित्दै यो सागमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो।

प्रकाशित: ९ पुस २०७६ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App