coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

यही संरचनामा सङ्घीयता लागूहुन सक्दैन: नेता गौतम

काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अहिलेको सङ्घीय संरचनाअनुसार सङ्घीयता लागू हुन नसक्ने बताएका छन्।

युवा सङ्घ नेपाल प्राकृतिक स्रोतसाधन व्यवस्थापन विभागले यहाँ आज ‘सङ्घीयता, समृद्धि र प्राकृतिक स्रोत साधनको उपभोग’ विषयक विचार गोष्ठीमा उनले अहिलेको संरचनाले देशलाई द्वन्द्वतिर लैजाने भएकाले लागू नहुने बताए।

“छुटैृ राष्ट्र/राज्यको परिकल्पना गरेर हामीले सङ्घीयता बनाउँदैछौँ”– उनले भने, “त्यस्तो किसिमको सङ्घीयता लागू हुँदै हुन्न।” उनले हाम्रो जस्तो देशको संरचनामा सङ्घीयता र सारमा विकेन्द्रीकरण गरिदिएको भए राम्रो हुने उल्लेख गरे।

उनले आफूहरुले सङ्घीयतालाई बेठीक नभने पनि अहिलेको सङ्घीयताको संरचनाले देशलाई भड्कालोतर्फ लगेर सङ्कटपूर्ण अवस्था खडा गर्ने बताए।

“सङ्घीयताले देशको द्वन्द्वलाई समाधानतर्फ लैजान्छ, तर हाम्रो देशमा सङ्घीयताले द्वन्द्व सिर्जना गरेको छ”– उनले थपे, “सङ्घीयताको विषले द्वन्द्व जन्माएको छ । भविष्यमा के हुँदैछ थाहा छैन।”

पूर्वगृहमन्त्री समेत रहेका उपाध्यक्ष गौतमले द्वन्द्व रोक्नका लागि कोसिस भएपनि नरोकिने दाबी गरे।उनले देशलाई द्वन्द्वको दिशामा लैजाने विचारधाराविरुद्ध लड्ने उल्लेख गर्दै अहिले संसद् र सडकबाट एमाले लडिरहेको जानकारी गराए।

अहिले मधेसको समस्या नक्कली समस्या भएको भन्दै उनले बाहिरको निर्देशनअनुसार नक्कली समस्या जन्माएर समाजलाई द्वन्द्वतर्फ लैजान थालेको बताए। उनले तराईमा मैथली, भोजपुरी र अवधि भाषालाई समाप्त पार्नका लागि भाषाबारे संशोधन गर्न थालिएको उल्लेख गरे।

उपाध्यक्ष गौतमले तराईलाई एउटा राष्ट्र बनाउन र नेपालबाट टुक्र्याउनका लागि सीमाङ्कन हेरफेरको प्रस्ताव ल्याइएको टिप्पणी पनि गरे। उनले देशलाई आर्थिक, सामाजिक व्यवस्थापन गर्दै समृद्धि गर्न नसके देश बिखण्डनतिर जाने उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले देश र जनताका पक्षमा ल्याएका राम्रा र देशभक्तिपूर्ण कामलाई अहिलेको सरकारले उल्ट्याउने काम गरेको बताए।

“अहिलेको सरकारले नेपाललाई विदेशीको पाउमा पुर्‍याउने काम गरेको छ”– उनले भने, “तर एमालेले नेपाली काँग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चा र राप्रपाभित्रका मान्छे खोजेर देशलाई बचाउनेछ ।” उनले भोलि संसद्मा एमालेसँग अहिलेको सरकारले भिडन्त गर्ने योजना बनाएको आरोप समेत लगाए। रासस

 

 

प्रकाशित: ३ पुस २०७३ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App