६ वैशाख २०८१ बिहीबार
समाज

चार वर्षमा जग बन्यो, पुल बनेन

निर्माण अलपत्र रहेको पुल।

रामेछाप- जिल्लाको दुर्गम मानिने उमाकुण्ड गाउँपालिका १ गुम्देलको गुम्देल खोलामा लाच्छोर र क्यामालाई वडा केन्द्रसम्म जोड्ने गरी निर्माण थालिएको मोटरेवल पुल ४ वर्ष बित्न लाग्दा पनि अझै बन्न सकेको छैन। पुल निर्माणका लागि ४ वर्षमा जग बनेता पनि जगकै कामसमेत अधुरो रहेको छ।

४ वर्ष अघि डोलिडारले स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी)अन्तर्गत ठेक्का प्रक्रियाबाट निर्माण कार्य थालनी गरिएको उक्त पुल ४ वर्ष वित्न लाग्दा पनि पुरा हुन सकेको छैन। गाउँमा पुल बन्ने खबरले खुसी मिलेको थियो तर वर्षौ बित्दा पनि पुल नबन्दा स्थानीयको खुसी मरेको स्थानीय ङापेम्बा शेर्पाले बताए। पुल बन्ने खुसीमा रहेका स्थानीयहरु यतिबेला पुलको जीर्ण काम देखेर निराश बनेको उनले बताए।

निर्माणाधिन चरणमा जिल्ला विकास समितिमार्फत संचालन हुने गरी डोलिडार अन्तर्गत स्थानीय सडक पुल कार्यक्रमले ठेक्का प्रक्रियाबाट निर्माण कार्य थालेको भएता पनि पछि संघियता कार्यान्वयनले काम प्रभावित बनेको बताइएको छ। संघयिता पश्चात पुल कसले हेर्ने र बजेट कताबाट आउने भन्ने अन्योलताकै कारण काम प्रभावित बनेको हो।

उक्त पुल निर्माणको ठेक्का खम्पाचे थापा जेभी निर्माण सेवाले पाएको थियो। २०७४ कार्तिक ३० गते काम सम्पन्न गरि सक्ने गरी सक्ने २०७३ साल भदौमा निर्माण सम्झौता भएको पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ। ठेक्का परेसँगै प्राप्त बजेट अख्तियारीका आधारमा निर्माणको काम सुरु गरिएको भएता पनि पछि अन्यौलता भएपछि काम अगाडि बढाउन नसकिएको खम्पाचे थापा जेभीका संचालक बलराम श्रेष्ठले बताए।

निर्माण रोकिएको उक्त पुलको कार्य सम्पन्न गराउने जिम्मेवारी यतिबेला जिल्ला पूर्वाधार कार्यलय रामेछापमा सरेर आएको छ। आगामी जेठ २० गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग पुनः सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमराज तिमल्सिनाले जानकारी दिए।

काम ढिला गराएबापत निर्माण कम्पनीलाई हर्जना स्वरुप १५ लाख रुपैयाँ जरिवाना गराएर सम्झौता गरिएको उनले जानकारी दिए। उक्त पुल निर्माण कार्यका लागि यस अघि नै करिब १ करोड ६० लाख रुपैयाँको बजेट निकासा भइसकेको पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ। पुल निर्माणको लागि प्राविधिक सहयोगको साविकको जिम्मेवारी रहेको स्थानीय सडक पुल कार्यक्रम (एलआरबीपी)  र पूर्वाधार विकास कार्यालयले समेत गर्ने बताइएको छ।  

उक्त पुल २ करोड ५१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी यसअघि नै सम्झौता गरिएको थियो। उक्त पुल निर्माण भएपछि दुर्गम गाउँ गुम्देलको पनि दुर्गम बस्ती क्यामा र लाच्छोरका स्थानीयलाई ठूलो लाभ पुग्ने गुम्देलका स्थानीय भिमसेन बस्नेतले बताए। लाच्छोर र क्यामालाई वडा कार्यालय र पालिकाको केन्द्रसँग जोड्ने मध्यमार्गी बाटोको रुपमा उक्त खण्डमा सडक बिस्तार हुन लागेको छ।
 

 

प्रकाशित: ८ पुस २०७६ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App