८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पमा जिर्ण जिप्रका ८ करोडमा सुविधा सम्पन्न बन्दै

जिल्ला प्रहरी कार्यालयको ब्यारेक भवन भत्काइदैं। तस्बिर: नागरिक

गोरखा- जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन बन्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि बजेट बिनियोजन गरेसँगै अहिले निर्माणको काम सुरु भएको हो।

भूकम्पमा चर्किएको कार्यालय भवन, जस्ताले छाइएको कमजोर संरचनाको ब्यारेकमा प्रहरी थिए। पानी परेका बेला र जाडो मौसममा प्रहरीले सास्ती खेप्दै आएका थिए। ‘भवन बनेपछि अहिले जस्तो समस्या हुँदैन’ एसपी अधिकारीले भने।

निर्माण व्यवसायी रोयल कन्स्ट्रक्सनका संचालक प्रकाशबहादुर सेटीले तोकिएको समयभित्रै सिध्याउने गरी काम गर्ने बताए। ‘धेरै जिल्लामा प्रहरी कार्यालय निर्माण गरिसकेँ’ उनले भने ‘छिटो र समयभित्रै  सिध्याउने प्रयास गर्नेछु।’ करिब ९ करोड रुपैयाँ स्टमेट गरिएको भवन उनले आठ करोड एक लाख रुपैयाँमा निर्माण गर्ने गरी बोलपत्र दाखिला गरेका हुन्। गोरखा जिल्ला भर अहिले चार सय ४० नेपाल प्रहरी कार्यरत छन्।

‘भ्याटसहित आठ करोड एक लाख रुपैयाँमा रोयल कन्स्ट्रक्सनले भवन बनाउने जिम्मा पाएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) ओमप्रसाद अधिकारीले भने। कार्यालय भवन, हिरासत, ब्यारेक, कार्यालय प्रमुखको निवास र खाना खाने ठाउँ (मेस) सहितको संरचना निर्माण हुनेछ। ‘नयाँ बन्ने भवन सुविधा सम्पन्न बन्नेछ’ एसपी अधिकारीले भने ‘एक वर्षभित्र निर्माण पुरा हुने गरी गत पुस ४ गते सम्झौता भएको हो।’

सम्झौता पश्चात निर्माण कम्पनीले काम थालिसकेको छ। अहिले ब्यारेक भवन भत्काउने काम सुरु भईसकेको छ। नयाँ भवन निर्माण हुने भएपछि निर्माण पुरा नहुँदासम्म दैनिक कामकाज र बस्ने, खाने ठाउँको भने प्रहरीलाई समस्या हुने भएको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सय ५० जनालाई बस्न, खान समस्या हुने भएको हो।

जिल्ला समन्वय समितिको भवन वा अन्य कुनै घर खोजेर व्यवस्थापन गर्ने योजना रहेको एसपी अधिकारीले बताए। ‘एकै पटक सबै संरचना भत्काएर सँगै निर्माण गर्नुपर्ने भएकाले व्यवस्थापनमा असजिलो भएको छ’ एसपी अधिकारीले भने। महिला तथा बालबालिका सेवा केन्द्रको भवन, पुस्तकालयबाट सेवा दिने र नजिकका अन्य सरकारी कार्यालयसँग सहयोग लिएर व्यवस्थापन गर्ने उनले बताए।

 

 

प्रकाशित: ८ पुस २०७६ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App