७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजेन्द्र महतोले भने: हामी पाँच जिल्लाको लागि महाभारत गर्छौं

काठमाडौं- सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरुले मरेपनि नछोड्ने र त्यसको लागि पछि महाभारत गर्नेगरि अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धिको रुपमा लिएर यसलाई पारित गर्नेगरि पहल गर्ने बताएका छन्।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष महतोले भने,‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, हामी कुनै हालतमापनि पछि हट्दैनौं, पाण्डवले पाँच गाउँको लागि महाभारत गरे, अहिले पाएका उपलब्धिलाई संस्थागत गर्दै पछि हामी ५ जिल्लाको लागि महाभारत गर्छौं, अन्तिम लडाई लड्छौं।’ 

महतोले ५ नम्बर प्रदेशको सिमांकन हेरफेरलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरिरहेकोप्रति टिप्पणी गर्दै भने,‘एमाले अध्यक्ष केपी ओलीजीले पहिला यही प्रस्तावमा हस्ताक्षर गर्दा राम्रो हुने अनि अहिले अरुले ल्याउँदा बेठिक कसरी हुन्छ?’

उनले अघि थपे,‘ओलीजीले आफूले हस्ताक्षर गर्दा राष्ट्रवादी हुने, अनि अहिले त्यही प्रस्ताव अघि सार्दा राष्ट्रघाती हुन्छ ?, यो द्धैद चरित्र हो।’ महतोले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहित सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई लिएर सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रकै केही नेताहरुले गरेको विरोधलाई नाटकको संज्ञा दिँदै भने,‘यो नौटँकी हो, यसबारेमा हामीले शेरबहादुर देउवा र प्रचण्डलाई रोक्नुहोस् भनेर भनिसकेका छौं, नभए कारवाही गर्नुहोस् भनेका छौं, जवाफमा देउवा र प्रचण्ड दुवैले यो पार्टीको आधिकारिक प्रस्ताव हो भन्नुभएको थियो, उहाँहरुले रोक्छौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

महतोले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा जानबाट अवरोध गरेर प्रमुख प्रतिपक्षी दल एमालेले गम्भिर गल्ती गरिरहेको आरोप लगाउँदै भने,‘संशोधन प्रस्तावलाई संसदमा छिर्नै नदिने कुरा संसदीय मुल्य र मान्यताको खिलाफमा हो, यो व्यवहार एमालेले सच्याउनुपर्छ, प्रस्तावबारे संसदमै छलफल गर्नुपर्छ, संसदीय प्रक्रियामा संसदमा विरोध गर्न पाईन्छ, संसदमै ल्याउन नदिने कुरा अप्रजातान्त्रिक हो।’ उनले संशोधन प्रस्तावलाई संसदमै आउन नदिने कुरा गलत भएको बताउँदै संसद कसैको जमिनदारी नभएको टिप्पणी गरे।

महतोले अंगीकृत नागरिकताको प्रावधान नै बन्द गरिनुपर्ने बताउँदै भने,‘अंगीकृतलाई कुनैपनि पदमा जाने माग हाम्रो होईन, राजेन्द्र महतोले अंगीकृत नागरिकतालाई राष्ट्रपति बनाउनुपर्छ भनेर माग गर्यो भनेर केही पत्रकारहरुले लेखिरहेका छन्, लेख्नेलाई खुब मजा आउँछ, अंगीकृत नागरिकलाई कुनैपनि पद ठूलो होस वा सानो पद नदिने, अंगीकृति नागरिकता नै बन्द गरिदिनुपर्छ, कुनैपनि पदमा जाने माग नै होईन।’

उनले यसअघिका संविधानहरुमा अंगीकृत नागरिकताको कुरा गर्ने काँग्रेस, एमाले नै भएको आरोप लगाए। महतोले आफूहरुले दिएको अधिकार किन खोसियो भनेर आवाज उठाउँदा आफूहरुलाई राष्ट्रघाती भनिएको बताउँदै भने,‘आजसम्म धोती लगाउनेले देशमा कुनैपनि राष्ट्रघात नगरेको बरु राष्ट्रघात त टोपी लगाउनेहरुले नै गरेका छन्, यो कुरा सबैले बुझ्नुपर्छ।’

प्रकाशित: ३ पुस २०७३ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App