coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बुटवल उपमहानगरद्वारा जग्गा नाप जाँच सुरु

नापजाँच शुभारम्भ कार्यक्रममा सहभागीहरु ।

रुपन्देही– बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न जग्गाको नापजाँच सुरु गरेको छ। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष हुन लाग्दा पनि अव्यवस्थित बसोबासीले लालपूर्जा पाउने छाटकाट नदेखिएपछि बुटवल उपमहानगरले भने जग्गाको नाप जाँच गरि तथ्यांक संकलन सुरु गरेको हो।

संघीय सरकारले भूमि सम्बन्धि ऐनको आठौं संशोधन गरेपछि प्रदेश सरकारले भूउपयोगिता सम्बन्धि कानुन निर्माणको तयारीमा जुटेको छ। प्रदेश ५ सरकारले भूमि सम्बन्धि कानुन तयार पार्दासम्म बुटवल उपमहानगरभरिका अव्यवस्थित बसोबासी र सार्वजनिक जग्गाको नाप जाँच गर्न सुुरुवात गरिएको उपमहानगरपालिकाले जनाएको छ। मंगलबार बुटवलमा सबैभन्दा बढि अव्यवस्थित बसोबासी रहेको वडा नम्बर ११ बाट जग्गा नापजाँचको सुुरुवात गरिएको छ।

नगरप्रमुख एवं नेकपा रुपन्देहीका जिल्ला अध्यक्ष शिवराज सुवेदीले प्रदेश सरकारले कानुन निर्माण गरेपछि तुरुन्तै गठन हुने आयोगले लालपूर्जा दिने भएकाले आफूहरु तथ्यांक संकलन गरेर तयारी अवस्थामा बस्न नापजाँच सुुरु गरिएको बताए। जग्गाको नापजाँच प्राविधिक काम भएकाले जनशक्ति अभावले गर्दा पनि ढिलाई भएको भन्दै अब बुटवलका अव्यवस्थित बसोबासीहरुको समस्या सम्बोधन हुने नगरप्रमुख सुवेदीले बताए।

‘खोलामा बस्नेलाई वाहाल विटौरी दिदैनौ तर बस्न रोक लगाउदैनौ’ नगरप्रमुख सुवेदीले भने –‘हामी शासक होईनौं सेवक हौं, तपाईहरुको मुहारमा चमक ल्याएरै छाड्छौं।’ उनले तिनाउ खोला किनारमा घर बनाएर नबस्न आग्रह गर्दै अहिले बसोबास गरेकाहरुलाई विस्थापित गरेर विकास निर्माणसमेत नहुने आश्वासन दिएका छन्।

उपमहानगरपालिकाले सूचना मार्फत क्रियशन एजुकेशनल एण्ड कन्स्ट्रक्सन प्रालि तिलोत्तमा रुपन्देहीलाई नापजाँचका लागि अनुमती दिएको छ। पहिलो चरणमा वडा नम्बर ११ का ८० विगाहा जमिनको नापजाँचका लागि ११ लाख ९२ हजारमा सम्झौता गरिएको बुटवल उपमहानगरका प्रवत्ता रामप्रसाद रेग्मीले जानकारी दिए। कन्सलटेन्ट मार्फत नम्बरी जग्गाको सीमालाई आधार मानेर नापजाँच तथा अभिलेखिकरण गर्ने कार्य गरिएको हो।

बुटवल उपमहानगरभित्र सबैभन्दा बुटवल वडा नम्बर ११ मा अव्यवस्थित बसोबासी रहेकाले सुरुवात यहींबाट गरिएको वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले बताए। उनले अब सुकुम्बासीका नाममा अर्को पटकदेखि कसैले पनि राजनिति गर्न नपर्नेसमेत बताए। २०७६ चैत मसान्तसम्म सक्ने गरि ८० बिगाहा जमिनको नापजाँच र अभिलेखिकरण गरिने क्रियशन एजुकेशनल एण्ड कन्ट्रक्सन प्रालि तिलोत्तका शंकर बस्यालले जानकारी दिए।

उनले आफूहरुले आवश्यकता अनुसार जनशक्ति परिचालन गरेर नापजाँच सुरु गर्ने बताए। बुटवल उपमहानगरले यसअघि संलकन गरेको लगत अनुसार यहाँ करिब १८ हजार घरधुरी अव्यवस्थित बसोबासी छन्।

 

प्रकाशित: ८ पुस २०७६ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App