६ वैशाख २०८१ बिहीबार
समाज

शैक्षिक सुधार वर्ष बनाउन नगरपालिकामा अभियान

हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको नेतृत्व विकास तथा क्षमता विकास कार्यशालामा सहभागी प्रअ। तस्बिर: नागरिक

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ लाई शैक्षिक सुधार वर्ष बनाउने लक्ष्य पूरा गर्न क्रियासिलता बढाएको छ।

गत बैसाखमा ‘शैक्षिक सुधारमा हाम्रो प्रतिवद्धता’ सम्बन्धि एक दिने अन्तरक्रियात्मक सेमिनार आयोजना गरेर चालु आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षकारुपमा रुपान्तरण गर्ने प्रतिवद्धता जुटाएको तथा सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उपायका बारेमा असारमा सुझाव संकलन गर्न हप्ता दिनसम्म घुम्ती शिबिर सञ्चालन गरेको नगरपालिकाले पुनः प्रअको नेतृत्व विकास तथा क्षमता विकास कार्यशाला सञ्चालन गरेको छ।

शैक्षिक सुधार वर्ष बनाउने लक्ष्यका साथ गरिएको प्रतिवद्धता पुरा गर्नका लागि ११ नगरपालिकामा रहेका ८७ विद्यालयमा कार्यरत प्रअलाई भेला गरेर नेतृत्व विकास तथा क्षमता विकास कार्यशाला सञ्चालन गरिएको मेयर इवन राईले बताए। विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बालमैत्री कक्षा सञ्चालन, कक्षा व्यवस्थापन, प्रविधिमैत्री शिक्षण सिकाईलगायतका दक्षता विकास गर्दै कार्यान्वयनका लागि प्रअलाई नेतृत्व विकास तथा क्षमता विकास कार्यशालामा सहभागी गराइएको हो।

उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालयमा ‘भित्र्याउने, सिकाउने, टिकाउने’ र कम्तीमा ५ प्रतिशतले सिकाई उपलब्धि वृद्धि गर्ने महत्वकांक्षी प्रतिवद्धता पूरा गर्न आवश्यक क्रियाकलापलाई तिब्रता दिइएको मेयर राईले बताए। ‘शिक्षालाई सुधार गरे मात्र अन्य क्षेत्र सुधार गर्न सकिन्छ’ भन्ने मान्यताका साथ नगरपालिकाले चालु आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षकारुपमा रुपान्तरण गर्ने अभियान थालेको हो।

शैक्षिक सिकाइलाई सुधार गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाका जनप्रतिनिधि, बिव्यास अध्यक्ष, प्रअ, शिक्षक महासंघ, शिक्षकका पेशागत संगठनका प्रमुख तथा प्रतिनिधिले २३ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

यस्ता छन् शैक्षिक सुधार वर्षका योजना
हलेसी तुवाचुङ नगरपालिकाको नगर शिक्षा समितिले तयार पारेको प्रतिवद्धता पत्रमा हरेक विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र रहेका विद्यालय उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालयमा भर्ना गर्न ल्याउने, विद्यार्थीलाई अनिवार्य उत्तिर्ण वा ४० अंक ल्याउन सक्ने बनाउने, हरेक शिक्षक अध्ययनशिल, प्रविधिमैत्री, बालमैत्री बन्ने र विद्यार्थीको भविष्यप्रति चिन्तित बनेर ‘आफ्नै छोराछोरीजस्तो गरेर’ शिक्षण गर्ने, शैक्षिक सामग्रीबीना शिक्षण नगर्ने, पाठ्याक्रमको अध्ययन गरी शैक्षणिक योजना र पाठ योजना बनाउने र सोही बमोजिम समयमा कोर्स पूरा गर्ने र विद्यार्थीलाई प्रशस्त लिखित अभ्यास गराउने उल्लेख छ।

यस्तै, नगरपालिकाका ८७ विद्यालयमा क्रमशः अंग्रेजी माध्यम लागू गर्ने, विषयत शिक्षकले शैक्षिक वर्षको सुरुमा सिकाई उपलब्धि कार्ययोजना निर्माण गर्ने र प्रअ समक्ष स्वीकृत गराएर ५ प्रतिशतले सिकाई उपलब्धि वृद्धि गर्ने, हरेक शुक्रबार कक्षागत, तहगत र विद्यागतरुपमा अतिरिक्त क्रियाकलाप गर्ने, शिक्षक दरबन्दीबीनाको कक्षा सञ्चालन नगर्ने, दरबन्दी संख्या र कक्षा कोठा बराबर मिलान गर्ने, गैर–जिम्मेवार, अनियमित र अनुशासनहिन शिक्षकको तलव भत्ता रोक्का गरी नियमाअनुशार कारवाही गर्ने, अशल शिक्षकलाई पुरस्कारको व्यवस्था गर्ने प्रतिवद्धता गरिएको छ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा सार्वजनिक सुनुवाई गर्ने, सामाजिक परिचालन गर्ने र सुशासन कायम गर्ने, विव्यास र शिक्षक अभिभावक संघले नियमित विद्यालय अनुगमन गरेर नगरपालिकामा प्रतिबेदन पेश गर्ने, शिक्षक स्टाफको बैठक मासिकरुपमा बस्ने र प्रत्येक विद्यार्थीको सिकाइ उपलव्धीको समिक्षा गर्ने र कमजोर विद्यार्थीको समस्या पहिचान गर्दै सुधार गर्ने, हरेक विषयगत शिक्षकले हरेक यूनिट शिक्षण गरिसकेपछि अनिवार्य लिखित परिक्षा सञ्चालन गरी विद्यार्थीलाई पृष्ठपोषण दिने र अभिभावकलाई सो उत्तरपुस्तिकका पठाइदिने, सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा विद्यालयको सकरात्मक अनुगमन गर्ने, विद्यालयको आवश्यक काम बाहेक विद्यालय परिषरमा मोबाईल प्रयोगमा निषेध गर्ने, तोकिएको सिकाइ उपलब्धि भन्दा कम सिकाई उपलव्धी भएमा शिक्षक सेवा सुविधा कटौती गर्ने लगायतका बुँदा उल्लेख गरिएको मेयर राईले बताए।


 

प्रकाशित: ८ पुस २०७६ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App