८ वैशाख २०८१ शनिबार
समाज

प्रतिष्ठानकाे भवन सम्पन्न

काठमाडौं – ‘हामीले अहिले एउटा घर मात्रै बनाएका छौं, भित्र केही छैन पर्खाल मात्रै खडा गरेका छौं, हाम्रा अग्रजहरू हामीसमक्ष नभए पनि उहाँहरूको आत्मालाई यो घरमा स्थापना गर्नुछ,’ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले भने। काठमाडौंको बसुन्धारास्थित टोखा नगरपालिकामा निर्मित प्रतिष्ठानको भवन जिम्मा लिँदै उनले भवनभित्र आवश्यक पर्ने अन्य संरचनाका लागि सबैसँग सहयोग लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

गत वैशाख २१ गते शिलान्यास गरी एक करोड २० लाख ३४ हजार ६ सय ९१ रुपैयाँको लगानीमा निर्माण गरिएको भवन आठ महिनामा पूरा भएको समितिले जनाएको छ। ७१ लाख ६ हजार रुपैयाँमा तीन आना जमिन खरिद गरी भवन निर्माण गरिएको अध्यक्ष बिजीले जानकारी दिएको छ। प्रतिष्ठानका अनुसार भवन निर्माणका लागि देशविदेशबाट एक करोड ४८ लाख ४४ हजार तीन सय ९२ रुपैयाँ सहयोग प्राप्त भएको थियो। जसमा १७ लाख ७४ हजार पाँच सय ४३ रुपैयाँ चन्दादाताले घोषणा गरे पनि संकलन हुन अझै बाँकी रहेको र १० लाख ७४ हजार पाँच सय ४३ रुपैयाँ प्रतिष्ठानको नाममा बचत रहेको बताइएको छ।

पत्रकार सम्मेलन गर्दै भवन निर्माण समिति संयोजक बद्री पंगेनीले खर्च नभएको नगद र संकलन हुन बाँकी नगद तथा जिन्सीको सम्पूर्ण जिम्मेवारी नवनिर्वाचित कार्यसमितिका अध्यक्ष बिजी र कोषाध्यक्ष राजु ढकाललाई हस्तान्तरण गरेका छन्। समितिका अनुसार श्रीपञ्चमीको दिनबाट भवनमा संगीत कक्षा सुरु हुनेछ। साथै प्रतिष्ठानले आगामी चैत ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा दोहोरी गीत कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ।

संयोजक पंगेनीले तत्कालीन समयमा भवन निर्माण गर्ने काम चुनौतीपूर्ण भएको बताउँदै विभिन्न व्यक्ति तथा संस्थाको सहयोगबाट मात्रै आफूहरू गर्न सफल भएको बताए। ‘लोक दोहोरी र प्रतिष्ठानलाई माया गर्नेहरूबाट प्राप्त भएको चन्दाले नै भवन निर्माण गरेका हौं,’ उनले भने, ‘सरकारको तर्फबाट आएको सहयोगलाई हेर्दा टोखा नगरपालिकाले १० लाख र सामाजिक विकास समिति कोषबाट पाँच लाख गरी १५ लाख रुपैयाँ मात्रै हो।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जग्गा खरिदका लागि ४० लाख रुपैयाँ प्राप्त भएको थियो। निर्माण समितिका सदस्यसचिव चन्द्र शर्माले टोखा नगरपालिकाबाट उपलब्ध गराउने भनिएको १० लाख रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको बताए। समितिका अनुसार देउसीभैलोबाट जम्मा भएको रकमसमेत भवन निर्माणमा खर्च गरिएको थियो। भवन निर्माणका लागि सहयोगस्वरूप प्राप्त रकम र जिन्सी दुवै हेर्दा दुई सय ९७ जनाबाट सहयोग प्राप्त भएको बताइएको छ। त्यसमध्ये दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाले १० लाख र जापान शाखाले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको थियो। १० लाख रुपैयाँ सहयोग गर्ने कोरिया शाखालाई सम्मानस्वरूप भवनको तल्लो तलाको एउटा कोठाको नाम ‘कोरिया कक्ष’ राखिने भएको छ।

प्रकाशित: ८ पुस २०७६ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App