७ वैशाख २०८१ शुक्रबार
समाज

तीव्र गतिमा बस हाँक्ने दुई पक्राउ

सिन्धुपाल्चोक – अस्वस्थ प्रतिस्पर्धा गर्दै तीव्र गतिमा गाडी हाँक्नेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारबाही थालेको छ। यसै क्रममा सोमबार अरनिको राजमार्गको काठमाडौं–चौतारा रुटमा तीव्र गतिमा बस हाँक्ने दुई चालक पक्राउ परेका छन्।

काठमाडौंबाट चौतारा आउँदै गरेका बा२ख ४०८६ र बा२ख १६३६ नम्बरका बस चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले बताए। अस्वस्थ प्रतिस्पर्धा गरी लापारबाही ढंगले तीव्र गतिमा बस चलाएर आतंकित बनाएको भनी यात्रुबाट प्राप्त सूचनाका आधारमा उनीहरू पक्राउ परेका थिए। दुई बसबीच उछिनाउछिन चलेपछि दोलालघाट–चौतारा खण्डको बन्देउबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को फौजदारी कसुरअन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद लिई चालकमाथि अनुसन्धान भइरहेको खनालले बताए। तीव्र गतिमा बस हाँकेको आरोपमा पहिलोपटक पक्राउ गरेकाले प्रहरीले चालकको नाम गोप्य राखेको छ।

पछिल्लो समय लापरबाही र असावधानीकै कारण जिल्लामा लगातार सवारी दुर्घटना हुन थालेपछि न्यूनीकरणका कार्यक्रम थालेको प्रहरीले चालकमाथि निगरानी बढाएको हो। यसै वर्षको असोज, कात्तिक र मंसिरमा मात्र लगातार तीनवटा बस दुर्घटनामा पर्दा ४५ यात्रुको ज्यान गएको थियो भने एक सय ७६ भन्दा बढी घाइते भए। ती दुर्घटना चालकको लापरबाही र असावधानीले भएको निष्कर्ष प्रहरीले निकालेको छ।

दुर्घटनाबाट पाठ सिक्दै न्यूनीकरणका लागि जिल्लाभर प्रहरीले सचेतीकरण कार्यक्रम चलाइरहेको खनालले जानकारी दिए। चालकलाई लक्षित गर्दै प्रहरीले यसै साता मात्र बन्देउमा आँखा शिविर चलाएको थियो। सो शिविरमा सिन्धुपाल्चोक र दोलखाबाट राजधानी जाने र त्यहाँबाट आउने विभिन्न सवारीसाधनका एक सय १६ चालकका आँखा परीक्षण गरिएको थियो। परीक्षणबाट सात चालकको आँखामा समस्या भेटिएको खनालको भनाइ छ। ‘चालकको आँखामा समस्या रहँदा पनि दुर्घटना निम्तिन्छ भन्ने सन्देश दिन शिविर गरिएको हो,’ उनले नागरिकसँग भने। जिल्लाका विभिन्न सडकमा सुरक्षाकर्मी खटाएर सवारी शिक्षासँगै यात्रुबसको अवस्था र चालकको आनीबानीमाथि निगरानी बढाइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ पुस २०७६ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App