coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीब्र गतिमा बस हाँक्ने दुई चालक पक्राउ

सिन्धुपाल्चोक- अस्वस्थ प्रतिस्पर्धा गर्दै तीव्र गतिमा यात्रु बस चलाउने दुई चालकलाई प्रकाउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ। अरनिको राजमार्गको काठमाडौं–चौतारा रुटमा तीव्र गतिमा बस चलाउने चालकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।

काठमाडौंबाट चौतारा आउँदै गरेका बा २ ख ४०८६ र बा २ ख १६३६ नम्बरका यात्रुबस चालकलाई पक्राउ गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरीका इन्स्पेक्टर गणेश खनालले बताए। अस्वस्थ प्रतिस्पर्धा गरी लापारवाहीपूर्वक तीव्र गतिमा बस चलाएर आतंकित बनाएको यात्रुको जानकारीका आधारमा उनीहरु पक्राउ परेका थिए। दुई बसबीच उछिनाउछिन (ओभरटेक) को प्रतिस्पर्धा चलेपछि दोलालघाट–चौतारा खण्डको बन्देउबाट प्रहरीले चालकलाई नियन्त्रणमा लिएको थियो।

      मुलुकी अपराध (संहिता) ऐन २०७४ को फौजदारी कसूर अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद लिइ चालकमाथि अनुसन्धान भइरहेको इन्स्पेक्टर खनालले बताए। तीव्र गतिमा बस हाँकेको आरोपमा पहिलो पटक पक्राउ गरेकाले प्रहरीले चालकको नाम भने गोप्य राखेको छ।

      पछिल्लो समय लापरवाही र असावधानीकै कारण कारण जिल्लामा लगातार सवारी दुर्घटना हुन थालेपछि न्यूनिकरणका कार्यक्रम थालेको प्रहरीले चालकमाथि निगरानी बढाएको हो। गएको असोज, कार्तिक र मंसिरमा लगातार तीनवटा यात्रुबस दुर्घटनामा हुँदा ४५ यात्रुले ज्यान गुमाएका थिए भने एक सय ७६ भन्दाबढी घाइते, अंगभंग भए। ती दुर्घटना चालकको लापारवाही र असावधानीले भएको निष्कर्ष प्रहरीले निकालेको छ।

      दुर्घटनाबाट पाठ सिक्दै न्यूनिकरणका लागि जिल्लैभर प्रहरीले सचेतिकरण कार्यक्रम चलाइरहेको इन्स्पेक्टर खनालले जानकारी दिए। सवारी चालकलाई लक्षित गर्दै प्रहरीले यसै सातामात्र राजमार्गको बन्देउमा आँखा शिविर चलाएको थियो। सिन्धुपाल्चोक र दोलखाबाट राजधानी जाने र त्यताबाट यता आउने विभिन्न सवारी साधनका एक सय १६ चाललको प्रहरीले सडकमै आँखा परीक्षण गराएको थियो। परीक्षणबाट सात चालकको आँखामा समस्या रहेको भेटिएको खनालले बताए।

      ‘चाललको आँखामा समस्या रहँदा पनि दुर्घटना निम्तिन्छ भन्ने सन्देश दिन शिविर गरिएको हो,’ उनले नागरिकसँग भने। जिल्लाका विभिन्न सडकमा सुरक्षाकर्मी खटाएर सवारी शिक्षासँगै यात्रुबसको अवस्था र चालकको आनीबानीमाथि निगरानी बढाइरहेको प्रहरीले जनाएको छ।

     

प्रकाशित: ७ पुस २०७६ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App