७ वैशाख २०८१ शुक्रबार
अन्य

अर्घाखाँचीमा बन्दकर्ताद्वारा सरकारी कार्यालयमा तालाबन्दी

प्रदेश विखण्डनको बिरोधमा सन्धिखर्कमा भएको बिरोध प्रदर्शनमा सहभागी आन्दोलनकारी। तस्बिरः अर्जुन भुसाल

अर्घाखाँची–पाँच नम्बर प्रदेशलाई विखण्डन गर्न लागिएको बिरोध गरिएको  आमहड्तालको तेस्रो दिन आइतबार आन्दोलनकारीले विभिन्न  सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्।  जिल्ला प्रशासन कार्यालय बन्द  छ । सरकारी कार्यालयका कामकाज ठप्प पारेपछि अधिकांश  कर्मचारी  घर फर्किएका छन्। आमहडताले जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ। बन्दका कारण पसल उद्योगधन्दा कलकारखाना, शिक्षण संस्था पूर्ण रुपमा ठप्प रहेका छन्।  बन्दकर्ताले रातको समयमा समेत सवारी साधन चल्न दिएका छैनन्।

एम्बुलेन्समा बिरामी बाहेकका अन्य मानिस बोक्ने गरेको  र गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर सवारी चलाएका भन्दै बन्दकर्ताले पहिचान भएपछि मात्र एम्वुलेन्स र प्रेसका गाडी चल्न दिएका छन्। तरकारी  पसल ठप्प पनि छन्।  बन्दकर्ताले जिल्लाबाट सवारी छुट्ने मुख्य नाकाहरुमा रुखहरु ढालेर बाटो अबरुद्ध पारेका छन्।

पाँच नम्बर प्रदेशबाट पडाडका जिल्लालाई टुक्राएर चार नम्बरमा लैजाने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि पाँच नम्बर प्रदेशमा आन्दोलन चर्किएको छ। अखण्ड पाँच नम्बर प्रदेशको माग गर्दै २० औं दिनदेखि  आन्दोलन  जारी राख्दा पनि सरकारले  माग सम्वोधन गर्नेतर्फ  ध्यान नदिएको आन्दोलनकारीले गुनासो  गरेका छन्। जिल्लामा दैनिक बिरोधका कार्यक्रम भइरहेका छन्। प्रदेश टुक्राइएको बिरोधमा दैनिक धर्ना तथा प्रदर्शनहरु भइरहेका छन्।

आइतबार पनि सन्धिखर्कमा बिरोध प्रदर्शन भएको छ । सयौंको संख्यामा भेला भएका आन्दोलनकारीले सन्धिखर्क र चुत्रावशी बजार परिक्रमा  गरी जिल्ला प्रशासन कार्यालयको गेटमा गएर धर्ना दिइरहेका छन्। जिल्ला प्रशासन कार्यालयको गेटमा भएको कोण सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु मुस्कानले सरकारले संविधान संशोधन विधेयक फिर्ता नगरे सम्म आन्दोलन नरोकिने बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले आन्दोलनका कार्यक्रमलाई प्रदेश व्यापी रुपमा एकरुपता दिइने बताए । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्का (उज्जवल)ले सरकारले संविधान संशोधन विधेयक फिर्ता गरेर नयाँ ढंगले सहमति खोज्नु पर्ने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष झविलाल थापाले सरकारले आन्दोलन जारी राखेको यतिका दिन सम्म पनि माग सुनुवाइ नगरेर मुठभेट निम्त्याउन खोजेको आरोप लगाए ।

प्रकाशित: ३ पुस २०७३ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App